२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

नेपाली फुटबलको कालो दिन: खेल हेर्न आएका ९३ जनाले गुमाएका थिए ज्यान

काठमाडौं: यहि महिनाको पहिलो हप्ता काठमाडौंमा शहीद स्मारक ए डिभिजन लिग सम्पन्न भयो । अखिल नेपाल फुटबल संघले आयोजना गरेको लिगभर दर्शकको साथ उत्लेखित रुपमा हुन सकेन । एन्फाले दर्शकलाई आकर्षित गर्न नसकेको आरोपसँगै यो संस्करणको लिग सम्पन्न भयो ।

कुनै समय घरेलु प्रतियोगितामा दर्शकको उल्लेख्य सहभागिता हुन्थ्यो । अहिले १६ हजार दर्शक क्षमतामा घटाइएको रंगशाला २०४० को दशकमा २७ हजार दर्शक क्षमताको थियो ।

२०४४ सालको फागुन महिनामा त्रिभुवन च्यालेन्ज सिल्ड कप भइरहेको थियो । उक्त प्रतियोगिताको फाइनलमा नेपालको बलियो टोली जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोध आमनेसामने हुँदै थिए ।

फागुन २९ गतेका लागि तय भएको खेल दिउँसो साढे २ बजे शुरु भएको थियो । जसमा दर्शकले रंगशाला खचाखच भरिएको थियो । उक्त खेलमा दर्शक बनेका हालका अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग कमिटि निर्देशक संजिव मिश्र भन्छन्, ‘रंगशालामा दर्शकको सहभागिता उल्लेख्य थियो ।’

उक्त फाइनल खेलमा जसरी खेलमा मानिसहरु डुबिरहेका थिए, त्यसैगरि मैदानमा खेलाडीहरु उत्साहजनक रुपमा खेलिरहेका थिए ।

खेलको १७ औं मिनेटमा मुक्तीजोधाले जनकपुर चुरोट कारखानाविरुद्ध गोल गर्दै अग्रता बनाएको थियो । जसरी खेल अगाडि बढिरहेको थियो, त्यसैगरि दर्शक पनि ‘हुटिङ’ गरिरहेका थिए ।

मिश्रका अनुसार खेलको झण्डै ३५ मिनेट भएको थियो । मौसममा अप्रत्यासित रुपमा परिवर्तन आयो । राम्रो मौसमका बीच खेल शुरु भए पनि एका–एक असिना पानी बर्षिन थाल्यो । खेल हेर्न रंगशाला पुगेका दर्शकहरु असिना पानीबाट गोजिन भौतारिन थाले । खेलको उत्साहले भरिएको रंगशालामा एकैछिनमा कोलाहल मञ्चिएको मिश्र सम्झना गर्छन् ।

त्यतिबेला सबै गेट ग्रिलका थिए । सबैमा ताला लगाइएको थियो । असिना पानी जोरको पर्न थालेपछि दर्शकहरुबीच भाग दौड मच्चिन थाल्यो । त्यसैक्रममा मुख्य प्रवेशद्वार र दक्षिण पश्चिमतिरको (हाल स्क्रिन बोर्ड लगाइएको क्षेत्र)मा रहेको गेटबाट तल झर्ने भर्‍याङमा प्वाल परेका कारण भागदौडका बीच मानिसहरुका खुट्टा त्यसमा अल्झिएर दुर्घटना हुन पुगेको मिश्र बताउँछन् ।

हजारौंको संख्यामा फाइनल खेल हेर्न उपस्थित भएका दर्शकहरु वर्षाबाट जोगिन भाग दौड गर्न खोज्दा ९३ जनाले ज्यान गुमाउनु परेको मिश्र बताउँछन् ।

मिश्र आफ्ना मित्र सकिल मानन्धर र भुपेन्द्रमान जोशीसँगै खेल हेर्न गएका थिए । ‘हामी दर्शक दीर्घामा थियौं । असिना पानी जोरको पर्दा भाग दौड मच्चियो,’ उक्त दिनलाई सम्झँदै मिश्र भन्छन्, ‘हामी दर्शकले लिएको ब्यानर ओढेर बस्दा चोटबाट जोगियौं । पछि सबै कुरा सामान्य भएपछि बाहिर निस्कियौं ।’

रंगशालामा दुर्घटना भएपछि त्यतिबेला घाइते भएकालाई वीर अस्पतालमा राखिएको थियो । घाइते बोक्ने एम्बुलेन्सको अपुग भएपछि सार्वजनिक बस र ट्याक्सीमै पनि घाइतेको उद्धार गरेर अस्पताल पुर्‍याइएको मिश्र सम्झन्छन् ।

हजारौंको संख्यामा रंगशालामा उपस्थित भएका दर्शकका आफन्तहरु आफ्नो मान्छे दुर्घटनामा पर्‍यो कि भनेर अस्पताल पुग्नेहरुको पनि बाक्लै उपस्थिति रहेको उनी सम्झन्छन् ।

‘त्यतिबेला घाइते बोक्ने एम्बुलेन्स कम भएपछि ट्याक्सी र सार्वजनिक बस त्रिपुरेश्वरमा रोक्दै त्यसैमा घाइतेलाई अस्पताल पुर्‍याइएको थियो,’ उनले भने, ‘दुर्घटनापछि अस्पतालमा आफन्तको बारेमा बुझ्न आउनेहरुको पनि बाक्लै भिड थियो ।’

त्यतिबेला नेपालमा गोरखापत्र तथा दि राइजिङ नेपाल तथा नेपाल टेलिभिजन मुख्य सञ्चार माध्यमहरु थिए । त्यसमा पनि धेरैको पहुँच नपुग्दा मान्छेहरुले समयमै सूचना पाउन गाह्रो भएको उनको अनुभव छ ।

उक्त घटना लगत्तै तत्तकालीन शिक्षा मन्त्री केशर बहादुर विष्ट र एन्फाका अध्यक्ष कमल थापाले नैतिकताका आधारमा राजीनामा दिएका थिए । तत्कालीन अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा शरद चन्द शाह थिए ।

रंगशालामा अहिलेको जस्तो बाहिरबाट मैदान छिर्न सजिलो थिएन । त्यतिबेला मैदानलाई तारबारले घेरिएको थियो । जसले गर्दा संकटा आइलाग्दा पनि दर्शक मैदान छिर्न नपाउँदा ठूलो संख्यामा मानविय क्षती हुन पुग्यो ।

त्यसोत, अहिलेको रंगशाला पनि दर्शकका लागि सहज पहुँचमा भने छैन । झण्डै १० देखि १२ फिट उचाइमा मैदान र प्यारापिट रहेको छ । जसमा अहिले पनि त्यस्तो कुनै दुर्घटना हुन गए मानविय क्षति नहोला भन्न सकिने अवस्था नरहेको विज्ञहरु बताउँछन् ।

यद्यपी अहिले चारै तिरका गेटलाई व्यवस्थित भने गरिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *