२०७६ कार्तिक २८, बिहिबार
Follow Us on:

ज्ञानेन्द्रको पहिलो कप्तानीमा नेपाल ५ विकेटले विजयी

काठमाडौं : मध्यम क्रममा पुनरागमन गर्दै मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाल ५ विकेटले विजयी भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा नेपालको सिनियर टोली एमसीसीसँगको एक दिवसीय खेलमा विजयी भएको हो ।

विश्वकै सबभन्दा पुरानो क्रिकेट क्लब एमसीसीले दिएको २०२ रनको मध्यम लक्ष्य नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाउँदै भेट्टाएको हो । आधिकारिक रूपमा ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी गरेको पहिलो खेलमा नेपालले जित हात पारेको हो । नेपाललाई जित दिलाउन विनोद भण्डारी र पवन सर्राफले मध्यम क्रममा नेपालको इनिङ सम्हाले ।

विनोदले अविजित रहँदै ५२ रनको विजयी योगदान दिए। उनले ६४ बलको सामना गर्दै २ छक्का र ३ चौका हिर्काए । त्यस्तै २५ बल खेलेका पवनले २ छक्का र ६ चौकाको मद्दतमा नटआउट ३८ रन जोडे ।

धरासायी भएको नेपालको सुरुवाती इनिङमा ओपनर इशान पौडेल ४ रन बनाएर पेभिलियन फर्किए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल १० रनमै क्याच आउट भए ।

त्यसपछि आएका शरद भेषवाकर र दिपेन्द्रसिंह ऐरी पनि सस्तैमा समेटिए । केही समयको विश्रामपछि टीममा परेका शरदले २४ रन बटुले भने उपकप्तान दिपेन्द्र र आरिफ शेखले २३/२३ रन जोडे ।

एमसीसीका यासिर अरफातले नेपालको ३ विकेट लिए भने एलेक्स थोम्प्सनले २ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले उत्कृष्ट सुरुवात गरे पनि पछि लगातार विकेट गुमायो ।

उसले ३९.५ ओभरमा अलआउट हुँदै २०१ रनको योगफल बनायो । उसका लागि ओपनर वील रोड्सले अर्धशतक बनाए । उनले ७१ बल खेल्दै ५ चौकाको मद्दतमा ५४ रन बनाए । त्यस्तै बिल्ली गोडलम्यानले ५२ रन जोडे भने चौँथो नम्बरमा आएका वील भान्डरस्पारले ३६ रन जोडे । त्यसपछिका अन्य ब्याट्स्म्यान भने चल्न सकेनन् ।

मध्यम स्कोरमा एमसीसीलाई रोक्न नेपालका स्पीनर ललितनारायण राजवंशी र पवन सर्राफले उत्कृष्ट बलिङ गरे । ८ ओभर बलिङ गरेका पवनले ३१ रन खर्चदै ४ विकेट लिए । त्यस्तै ललितले पनि ४ विकेट हात पारे । करण केसी र अविनाश बोहराको नाममा पनि १/१ विकेट रह्यो ।

नेपाल भ्रमणमा रहेको एमसीसीविरुद्ध नेपालले अब तिन दिवसीय र टी–२० खेल खेल्नेछ । यसअघि हिजो आइतबार भएको खेलमा नेपाली यू १९ क्रिकेट टीम ३८ रनले पराजित भएको थियो ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *