२०७७ असार २०, शनिबार
Follow Us on:

सभ्य बलात्कारी !

राज अवस्थी
महेन्द्रनगर, कंचनपुर
हाल काठमाडाैं

म अनि म जस्ता धेरै पुरुष आज सम्म यस्ता सभ्य बलात्कारी भएका छन् । बलात्कारीलाई थाहा होला नहोला तर पेट्काका मांसपेशी दुखिरहन्छन तर पनि नारी मुस्काइरहेकि हुन्छिन,
पीडा झुठो हुँदैन ।
श्रीमानले माया गर्छ भन्दैमा, श्रीमानलाई नाई भन्न नहुने यो कस्तो चलन हो?

यो एउटा कथा हो जुन वास्तविक छ ।
कसैको हैन धेरैको जीवनसंग मेल खाने छ,
यो संयोग हैन, किनभने मैले जे लेखे धेरैले भोगिरहेका छन् ।
यो एउटा महिलाको कथा हो, वेदनाको कविता हो!
उनी एउटी सहनसिल पात्र हुन,
हृदयले सुस्त श्रवण छन्, पुरुषले नारिको भावना कहिल्यै सुन्दैनन ।
उनिहरुका आवाज भित्रभित्रै गुम्सिएका छन्,
श्रीमान बाहेक अरुलाई सुनाउन पनि सक्दैनन हैन र ?
आज म मेरो कथालाई एउटा बेनाम अभिब्यक्ति दिइरहेको छु, आज म भन्दैछु एउटा सभ्य बलात्कारीको कथा, जसले एउटा नारिलाई बलात्कार गरेको छ, निमोठेको छ अनि थिचेको छ ।
म को हुँ त्यसतर्फ नखोज्नु होला है ?
म तपाइकै श्रीमती जस्तै,
आमा जस्तै,
दाजुभाइ दिदीबहिनी जस्तै
अनि साथी जस्तै एकजना, कथावाचक पात्र हु,
या सुत्रधार जे भन्ने मन छ भन्नुहोस!

कथा शुरु हुन्छ मेरो विवाहको पहिलो रातबाट,
उ छिटै सुत्यो.. थाकेर होला,
म भने सुत्न सकिन किनभने सुहागरात केवल चलचित्र या कथामा मात्र रमाइलो थियो, उसको पुरुषत्व र आवेगले मेरो पेटका मांशपेसी दुखेको थियो ।
म सुत्न सकिन, उसको सन्तुष्ट घुराइमा म आफूलाई खोजिरहेकि थिए, तर शायद पाइन मैले आफूलाई उ भित्र।

उसले मलाई सोधेन, मेरो थकाइ बारे कुनै प्रश्नन गरेन । हरेक बिहान ओच्छ्यानमै उसलाई चिया चाहिएको थियो र हरेक साँझ ओच्छ्यानमै मेरो शरीरको डस्ना । उसले मलाई माया गर्छु भन्यो, मैले पत्याइरहे ।
मलाई मेरो माइतले पनि त त्यहि सिकाएको हो, पतिलाई माया गर्नु, सेवा गर्नु, मैले गरिरहें ।
उसलाई उसका घरकाले पत्नीको माया गर्न सिकाउन भ्याएन छन्, उ सभ्य बलात्कारी बनेर मलाई बलात्कार गरिरह्यो ।

शुक्रबारको साँझ थियो र मेरा पति साँच्चै रातीसम्म अबेर कार्य गरिरहेका थिए, उनी ति दिनमा वास्तवमैं व्यस्त थिए । मलाई नराम्रो लाग्छ किनभने उनले हप्तामा केवल एकदिन मात्र बिदा पाउँछन् तर खुशी लाग्छ किनभने उनी भन्छन् कि तिमिलाई माया गर्छु!

म केवल गृहणीमात्र हैन, म त महत्वपूर्ण भूमिका निर्वाह गर्ने गृहणी पनि हुँ । उनी कमाउने कार्य गर्दछन् र म ब्यबस्थापन गर्ने गर्दछु, पैसाले मात्र खाना पाक्दैन नि, म त्यो रसायन स्त्री हुँ जसलाई जीवनका रसायन र घरको भौतिक बिज्ञान पनि थाहा छ ।

अफिसबाट सोझै घर आएका उनी लुगासम्म फेर्न भ्याएका थिएनन्, उनी काम सकाएर कोठामा आए । सुस्तरि कपडा खोले, मैले उठेर उनलाई कपडा खोल्न सर्टका बटन खोलेर सहयोग गरे । मेरो कम्मरमा समाते र आफ्नो शरीरतर्फ ताने, मैले नाई भने । मेरो पेटमा पीडा थियो, माफ गरिदेउ, नछुने भएको केवल अस्तिको सोमबार मात्र हो । उसले मलाई छाड्यो यसरी मानौ आँप खाएर कोया फाले झै फाल्यो!
उनले भने, हस ठिकै छ म बाहिरै केही ब्यबस्था गर्छु… लुगा बाँडेजस्तो म श्रीमान बाँड्न कहाँ सक्छु र?
मैले सहिरहें उनको बाहिरी ब्यबस्थापनको कुराले मेरो पीडालाई मैले माफ गरे, उनी चढिरहे म रोइ रहे, आझाबाट आसुका ढिक्का झारिरहेँ! 

मलाई ओच्छ्यानमा फालेर उनी हामफाले, यस्तो लाग्यो कि माया गर्नु उनकालागि बिकल्प हैन बाध्यता हो । उ भन्छ, तिमिलाई मलाई माया गर्छु!
शायद यो मायाले नै होला मेरो शरीरको अवस्थाको उनलाई वास्ता छैन । मलाई मेरो श्रीमानको यो कुरा मन पर्दैन, बिवाह देखि ओच्छ्यानसम्म उनले सँधै मेरो भावनाको कदर गरेका छैनन् ।

अरु केही हैन्, मेरो मन हुन्छ या हुँदैन्, पीडा छ या छैन त कम्तिमा सोध, मेरो भावना बुझिदेउ ।

म अनि मजस्ता धेरै आजसम्म पनि यस्ता सभ्य बलात्कारको शिकार भएका छन् । बलात्कारीलाई थाहा होला नहोला तर हाम्रा पेटका मांशपेसीहरु दुख्दछ, कम्मरमुनीको त्यो दुखाई बिच हामी मुस्काइरहेका हुन्छौ तर पीडा झुठो हुँदैन । श्रीमानले माया गर्दछ भन्दैमा श्रीमानलाई नाई भन्न नहुने यो कस्तो चलन हो । मलाई मिलेर बस्नु छ, मेरा श्रीमान राक्षस पनि त हैनन् ।

उनि साँच्चै मलाई माया गर्छन, अब मैले नाई भन्न थालेकि छु । बाहिरी ब्यबस्थापनको धम्कीलाई जस्ताको तस्तै जवाफ पनि दिन्छु । दुइ अक्षर पढेकी छु, उनको जत्तिकै कमाई म नि गर्न सक्छु हैन र ? सम्बन्ध बिच्छेद मेरो ओखती हैन्, दुबैबिचमा हुने समझदारीको मेरो ओखती हो ।

नारी र पुरुष बिना यो समाज चल्दैन्, आजभोली मैले बोल्न थालेपछि श्रीमान बुझ्न थाल्नु भएको छ । दुवैलाई इच्छा लाग्दा गरिएको मायाले पुरुषत्व र नारीत्वलाई पूर्नब्याख्या गरेको छ । मेरा सभ्य बलात्कारी अब त्यस्ता छैनन, मेरो मौनताले उनलाई बलात्कारी बनाएको रहेछ ।

कहिलेकाँही उनि अधिकार जमाउन खोज्दा मैले चुप लगाउन जानेकी छु ।
किन कि? म पनि त उनै श्रीमानकी पत्नी हु!

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *