बिजयराज बिष्ट
आज भन्दा करिब २४ र २५ बर्ष अगाडिको कुरा हो । एक दिन एक भलादमी व्यक्ति एक सरकारी स्कुलको प्रधानाध्यापकलाई लिएर मेरो घर गोरखामा आउनुभयो । उहाँहरु मेरो बुबा भैरबराज बिष्टलाई भेट्न आउनु भएको रहेछ ।
त्यतिबेला मलाई उहाँहरु नाम याद थिएन तर उहाँहरुले मिठो फल ल्याउनु भएको चाहिँ सम्झनामा छ । त्यति बेला यति मिठो फल ल्याउने मान्छे को हुनुहुन्छ होला भन्ने खुलदुली चाहिँ मनमा थियो । पछि थाहा भयो मलाई त्यो मिठो फल ल्याउने व्यक्ति डा. बाबुराम भट्टराई हुनुहुँदो रहेछ । उहाँले त्यस बेला मलाई मिठो फल दिए पनि केही बर्ष पछि हाम्रो सबै खुशी हरेर लैजानु भयो । हाम्रो परिवारको लागि त्यो मिठो फल बलिदिन लागेको बोकालाई खानदिएको जस्तै हुनपुग्यो । त्यस बेला उहाँहरु बुबालाई आफ्नो पार्टीमा लाग्न आग्रह गर्न आउनु भएको रहेछ । त्यही मिठो फल दिने सोही व्यक्तिले चलाएको हिंसात्मक युद्धमा भिन्न विचार भएकै आधारमा भनुँ या नेपाली काङ्ग्रेसको एक राजनीतिकर्मी भएकै आधारमा २०५८ साल पुस २२ गते अत्यन्त पाश्विक तरिकाले बुबा भैरब राज बिष्टको हत्या गरे ।
भिन्न विचार राखेकै भरमा घरमा सुतिरहेका निहत्था व्यक्तिको हत्या, पढाइ रहेका शिक्षकको हत्या, गाडीमा यात्रारत यात्रुहरुको हत्या हुनु कस्तो युद्ध थियो ? यसको उत्तर कसले दिने ? यसको जिम्मेबार को हुने ? यस्तो घटना घटाउने अपराधीलाई कसले काबाही गर्ने ? अब न्याय नपाय गोर्खा जानू भन्ने उखान खोज्न कहाँ जाने ? यदि गोखामा जन्मदा त न्याय पाउन कठिन हुन्छ, भने के न्याय नपाय गोर्खा जानु भनेर भन्नू अहिलेको सन्दर्भमा तर्क संगत हुन्छ त ? वास्तवमा जनयुद्धका नाममा गोरखामा धेरै निहत्था व्यक्तिको हत्या गरिएको छ । अहिले ती व्यक्तिहरुले न्याय र मानव अधिकारका कुरा गरेको सुन्दा सरम लाग्दछ ।
धनका र परिबारिक सुख सयलका लागि माओवादीमा जागीर खान गएकाहरुलाई त रकमी सहयोगले महत्व देला तर हामी जस्ता हजारौं पीडितलाई त ती हत्यारा अपराधीहरुलाई कानुनी कठघरामा नपुर्याइ न्याय पाएको ठहर्दैन । त्यसैले हामी ती अपराधीलाई कानुनी कारवाही भएको देख्न चाहन्छौं । तर, हाम्रो जस्तो फोहोरी राजनीतिक खेल खेल्ने राजनीतिक व्यक्तिहरु भएको मुलुकमा अपराधीहरुले सजायँ पाउछन् भनेर विश्वास गर्ने आधार देखिदैँन ।
यस्तै अपराधीहरुलाई सत्ताको बागडोर सम्हाल्न दिइन्छ र फेरि सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरी उजुरीको लागि आह्वान गरेर अन्तर्राष्ट्रिय जगतलाई देखाउने काम पनि गरिन्छ । जो दोषी र जो मुख्य अपराधी हुन् उनैलाई सत्ताको बागडोर सम्हाल्न दिएपछि के पीडितले न्याय र पीडकले कारवाही पाउलान् भनेर कसरी विश्वा गर्ने ? यहाँ सत्ताबाहिर हुँदा अपराधी देख्ने आँखा, सत्तामा हुँदा वेवास्ता गर्ने प्रवृतिले कसरी न्याय प्राप्त होला ? सत्ताका लागि ईमान, निस्ठा सबै थोक लिलाम हुन थालेपछि के न्यायको कुरा गर्नु ।
सरकारमा जानु भन्दा पहिला ती निर्दोष आफ्ना नेता , कार्यकर्तालाई सम्झिन पर्ने होइन , के ती मृतक आफ्ना नेता तथा कार्यक्रताहरुको रगत पसीनाले पोल्दैन हाम्रा नेता ज्युहरुलाई ? पार्टीको झन्डा ओढायर एक मिनेट मौनधारण गर्दैमा आफ्ना नेता तथा कार्यक्रताको मृत आत्माले शान्ति पाउला ? बहुदलीय परम्परमा त जस्ले बढी मत पाउछ उनैलाई पो प्रधानमन्त्री, र अन्य राज्यका महत्वपूर्ण जिम्मेवार र पद सुम्पिनु पर्ने हो तर बिड्म्बना यहाँ त जस्ले बढी चोट दियो उसैलाई प्रधानमन्त्री तथा अन्य महत्वपूर्ण ठाउँहरुमा नियुक्ति गर्ने प्रचलन भएको छ ।
अपराधीले खोल फाल्दैमा उसले गरेको अपराध माफी हुन सक्छ र ? हिजो माओवादको नाममा व्यक्ति हत्या गरे तर हाल कोही नेपाल कम्युनिस्ट पार्टी र कोही मधेसबादी दलमा समाहित भए, के यसरी आफूले लगाएको मुकुण्डो फालेर भिन्न पार्टीमा बसाइँ सर्दैमा जघन्य अपराधमा माफी मिल्छ त ? १७००० का हत्याराहरुलाई सत्ताको बागडोर सम्हाल्न पठाउदा न्याय पर्खाइमा रहेका मेरी आमा जस्ता हजारौं आमाले नेपालमा कानुनी राज्य छ र हामी पीडितले न्याय पाउछौँ भनेर कसरी विश्वास गर्नेे ? कसैको आत्मा रुवाएर शान्ति मिल्दैन, अरुको खुशी लुटेर सधैँ हासो नमिल्न सक्छ, किनकी हामी हिन्दु धर्ममा विश्वास र स्नेह राख्छौं ।
नेपालमा घटेका यस्ता घटना अन्तराष्ट्रियकरण हुन्छ कि भन्ने त्रास सो हिंस्रक युद्ध गर्नेहरुमा अहिले रहेको छ । यस्ता कुरा अन्तर्राष्ट्रियकरण हुनु पनि पर्छ , यदि यस्ता घटना अन्तर्र्रा्ष्ट्रिय करण भएमा मात्र पीडितले न्याय र पीडकले कारवाही पाउने अवस्था रहन्छ । वास्तवमा देश अस्थिरता आउनुको प्रमुख कारण पीडक सत्तामा ,पीडित न्यायको पर्खाइमा वा सडकमा रहनु पर्ने स्थिति आउनु नै हो ।