२०७६ चैत्र २७, बिहिबार
Follow Us on:

“सिकाउने शैली” शैक्षिक जगतमा एक नयाँ अध्याय (एक समीक्षा)

भानुभक्त भट्ट ‘अविरल यात्री’

शिक्षा क्षेत्रका मूर्धन्य व्यक्तित्व एवम् हाल नेपाल सरकारका सचिव खगराज बरालको सिकाउने शैली’ गत वर्ष प्रकाशित हुने बेला म जापान सरकारले प्रदान गरेको छात्रवृत्तिमा उच्च शिक्षा अध्ययनको लागि क्योटो, जापान पुगिसकेको थिए र म निकै उत्साहित थिए यो कृति पढ्नको लागि ।

विभिन्न पत्रपत्रिकामा छापिएका लेखकका प्रायःजसो सबै लेखहरू र अन्य कृतिहरु मैले नछुटाईकन पढ्ने गर्थे र ती लेखहरू जीवन्त, सूक्ष्म अवलोकन गरिएर लेखिएका लेखकका भोगाईहरू पस्किएका हुनाले मन छुने हुन्थे ।

लेखकको सिर्जनशीलता, प्रस्तुत गरेका उदाहरणहरू र प्रसंगहरू र शिक्षण सिकाई प्रतिको लेखकको गहिरो अनुभव, अवलोकनलाई बिभिन्न पुस्तक एवम् लेखहरु मार्फत पस्किएर शिक्षा क्षेत्रमा काम गर्ने र यो संग गाँसिएका नीति निर्माता, अभिभावक, शिक्षाप्रेमी आदि सबैका लागि निकै नै प्रेरणादायी र मार्गदर्शक भएको मैले महसुस गरेको छु ।

मेरो व्यक्तिगत जीवनमा र पेशागत वृत्तिविकासमा समेत लेखकको कृतिहरू पढेर निकै टेवा पुगेको छ र जतिबेला पनि पढ्छु, ती कृतिहरूले एक नयाँ उत्साह र उमंग थप्नुका साथै म सधै उत्प्रेरित हुन्छु । त्यसैले यो कृति पढ्ने खुल्दुली जापान बसुञ्जेल रहिरह्यो र यसै बर्षको माघमा जब म केही दिनको लागि नेपाल फर्के र सो पुस्तक पढ्ने हुटहुटी बढ्दै गयो ।

शिक्षा क्षेत्रमा कार्यरत मेरा केही गुरूबर्ग एवम शुभेच्छुकहरूले समेत सिकाउने शैली’ निकै रोचक, प्रेरणादायी र जीवन्त अनुभवहरूको संगालो रहेको र एकपल्ट अवश्य पढ्न सुझाव दिनुभएकोले पनि मेरो ’ुसिकाउने शैली’ पुस्तक पढने ईच्छा झनै तीब्र भयो।

अन्तत यो पुस्तक पढ्ने अवसर पाइयो र मैलै सोचे भन्दा पनि ज्यादै मार्मिक, प्रेरणादायी र सोचनिय पाएँ । शैक्षिक जगतका यति गहकिला र जीवन्त अनुभवहरू पाठकमाझ पस्किदिएर शिक्षण सिकाईका बिबिध आयामहरू मा हाम्रो सोच्ने शैली र दृष्टिकोणको समेत परिवर्तन भएको छ, शिक्षण सिकाईको क्षेत्रमा एउटा नवीन उर्जा प्रवाह भएको छ र यस्तो उदाहरणीय काम गरिदिनुभएकोमा लेखकज्यूलाई हृदयदेखि नै मुरी मुरी धन्यवाद दिन चाहन्छु ।

नेपाली साहित्य र शिक्षा क्षेत्रमा कलम चलाई एउटा विशिष्ट पहिचान बनाउन सफल साहित्यकार एवम लेखक खगराज बराल (श्रमिक बराल) ले “सिकाउने शैली” पुस्तक मार्फत शिक्षण, सिकाइ र शैक्षिक व्यवस्थापनको क्षेत्रमा एउटा नयाँ इँटा थप्न एवम नवीन आयाम ल्याउन सफल हुनुभएको छ ।

यो पुस्तक लेखकको नितान्त व्यक्तिगत एवम व्यावसायिक जीवनमा भोगेको अनुभवको संगालो हो जसलाई जीवन्तता दिएको छ वहाँको मिठासपूर्ण र घट्नाहरूलाई जस्ताको त्यस्तै चित्रण गर्ने लेखनशैलीले । यो पुस्तक भित्र भएका स-साना वास्तविक उदाहरणहरू, पात्रहरू हेर्दा सर्जकको आत्मकथा जस्तै लाग्छ कुनै कुनै ठाउँमा तर यो आत्मकथा बिल्कुल होइन ।

यो पुस्तक पढ्दा पाठकले कहिले आफू विद्यार्थी तथा परिक्षार्थी भएर आफ्नो बालापन सम्झिन्छ भने, कहिले आफूलाई पढाउने शिक्षक वा आफैं शिक्षक भएर काम गरेको सम्झना आउँछ र विविध प्रकारका शिक्षण एवम सिकाउने शैलीहरू झलझली याद आउँछन् जुन लेखकको लेखनशैलीको खुबी हो।

यो पुस्तकमा लेखकले आफैँ बिद्यार्थी हुँदा, बिद्यालयको शिक्षक हुँदा, क्याम्पसमा प्राध्यापन गर्दा, अभिभावक हुँदा, बिद्यालय निरीक्षक भएर समग्र बिद्यालय तथा कक्षाकोठाको अवलोकन गर्दा, तालिम प्रशिक्षक भएर शिक्षक एवम प्रधानाध्यापकहरूलाई प्रशिक्षण दिंदा, केन्द्रीय निकायहरूमा शैक्षिक व्यवस्थापक हुँदा( शिक्षा बिभागको निर्देशक, पाठ्यक्रम बिकास केन्द्रको कार्यकारी निर्देशक, परीक्षा नियन्त्रण कार्यालयको नियन्त्रक), शिक्षा मन्त्रालयको सचिवको रूपमा प्रशासकीय नेतृत्व सम्हाल्दा सम्म शिक्षण, सिकाई, तालिम, पाठ्यक्रम, परीक्षा र मूल्यांकन, शैक्षिक व्यवस्थापन, अभिभावकको दृष्टिकोणर अवस्था, नीतिगत र व्यावहारिक अभ्यास आदि सम्बन्धी भोगेका तीतामिठा अनुभवहरू, असल नवप्रवर्तनीय शैक्षिक अभ्यासहरू तथा केही परम्परागत शिक्षण शैली, सोच र काम गराईलाई केही प्रतिनिधि घटना र पात्रहरूको माध्यमबाट जीवन्तरूपमा चित्रण गर्नुभएको छ, जुन निकै प्रेरणादायी छ ।

पाठकलाई यो पुस्तक पढ्ने क्रममा कही कतै थकाई लाग्दैन्, बरू पढुँ पढुँ लागिरहन्छ किनकि यहाँ उल्लेख भएका प्रसङ्गहरू निकै मार्मिक, सोचनीय, वास्तविक छन् र लेखकले निकै सुक्ष्म लेन्सबाट नियालेका प्रसङ्गहरू छन र तिनीहरूलाई जस्ताको त्यस्तै चित्रण गर्ने लेखकको स्मृति क्षमता पनि निकै प्रशंसनीय छ ।

यो पुस्तक पढ्ने बेला पाठकले आफैं कक्षाकोठामा पढिरहेको अनुभूति हुन्छ किनकि यहाँ उल्लेख भएका कतिपय प्रसङ्गहरू निकै मन छुने र करूणादायी छन् । यो पुस्तक पढ्ने क्रममा लेखकको पेशाप्रतिको लगाव, जहाँ गए पनि सुधार गर्न खोज्ने र जिज्ञासु स्वभाव झल्किन्छ जसले गर्दा ती दशकौं पुराना सूक्ष्म घटनाहरू, उदाहरणहरू, प्रसङ्गहरू पनि यो पुस्तकमा हुबहु चित्रण गर्न सम्भव भएको हुनुपर्छ । यहाँ प्रस्तुत गरिएका पात्र र घटनाहरू सीमित भए पनि तिनीहरूले सिङ्गो नेपाली समाजको प्रतिनिधित्व गर्छन, चरित्र चित्रण गर्छन् र एकछिन घोत्लिन बाध्य पार्छनस् बालबालिकाको भबिष्य, शैक्षिक गुणस्तर, मानव स्रोत विकास र मुलुकको चौतर्फी बिकासको बारेमा। यो पुस्तक केवल शिक्षकका लागि मात्र होईन, बिद्यार्थी, अभिभावक, बिद्यालय निरीक्षक, शैक्षिक व्यवस्थापक, नीति निर्माता आदि सबैका लागि सार्है फलदायी र मार्गदर्शक दस्तावेज रहेको छ।

यस पुस्तक बिभिन्न पाठहरुमा बिभाजित छ, जो एक अर्कामा खासै सम्बन्धित छैनन्, बरू लेखकले आफ्नो बिद्यार्थी जीवन र पेशागत जीवनमा फरक फरक स्थान र परिस्थितिमा भोगेका अनुभवहरूको फेहरिस्तको रूपमा प्रस्तुत गरिएका छन् ।यी पाठहरू भित्र उल्लेख गरिएका केही रोचक प्रसंगहरू देहाय बमोजिम छोटकरीमा प्रस्तुत गर्न चाहन्छु ।

बुलिङको पीडा

लेखकले पहिलो पाठको रूपमा ‘बुलिङको पीडा’ राख्नुभएको छ, जुन निकै मार्मिक र सोचनीय छ। लेखकले बिद्यार्थी हुँदा आफूमाथि भएको बुलिङको पीडा शब्दमार्फत व्यक्त गर्नुभएको छ, जहाँ लेखकलाई नामबाट नबोलाएर ’फुच्चे’ भनेर बोलाएको प्रसङ्ग, कपाल खौरेको बेलामा सहपाठीले जिस्क्याउने प्रसङ्गहरू उल्लेख गर्नुभएको छ ।

यस पुस्तकमा बुलिङको बारेमा उल्लेख गरिएको छ,“ मुडुले टाउकामा टोपी लाएर स्कूल जान्थेँ । टुप्पी लामै हुन्थ्यो । सहपाठीहरू जिस्क्याउँथे, मेरो टोपी खोसेर भलिबल जस्तै खेल्थे। कोही मेरो टुप्पी समाएर ’चोर छ कि साधु?’ भन्दै ठड्याउन खोज्थे।म सबैका अगाडी हाँसोको पात्र हुन्थेँ ।“ यस्ता कैयन् मार्मिक बुलिङका प्रसङ्गहरूले पाठकहरूलाई पुस्तक पढ्दै जाँदा आफ्नो बालापनको स्कूले जीवनको झल्को आभाष हुन्छ र ती बलिया हुन खोज्ने, अरूलाई हेप्नेरआदर नगर्ने, सोझा बिद्यार्थीको मूल्यको कदर नगर्ने, नम्र नभइ रूखो व्यवहार गर्ने, खिसीटिउरी गर्ने जस्ता खराब र दुष्ट साथीहरूको सम्झना आउँछ र ती बिर्सिसकेका तीता अनुभव फेरी उजागर बनाउछ यो पुस्तकले ।

स्कूलमा ठूला विद्यार्थीले पिट्ने, कपाल उखिलेदिने, कट्टु तानिदिने, झोला लुकाइदिने आदि गरेपछि लेखकको टोलको भाइले स्कूल जान छोडेको प्रसङ्ग निकै मार्मिक छ। यस्ता किसिमका बुलिङका गतिबिधिले बालमस्तिष्कमा नराम्रो असर पर्ने हुनाले यस्ता गतिविधि हटाउन सबैले सचेत हुन जरूरी छ भनेर लेखकले सबैलाई जागरूक बनाउनुभएको छ।

अचम्मको रिजल्ट

त्यस्तै, “अचम्मको रिजल्ट” शिर्षकको पाठमा लेखकले कक्षा ६ को नतिजा परिवर्तन सम्बन्धी प्रसङ्ग उल्लेख गर्नुभएको छ । “तेस्रो हुन पुगेको विद्यार्थीको उत्तरपुस्तिकाको १०० अंक जोड्न छुट भएकाले पहिलो हुनुपर्ने व्यक्ति तेस्रो, तेस्रो हुनुपर्ने व्यक्ति दोस्रो र दोस्रो हुनुपर्ने व्यक्ति पहिलो भएकाले गणित बिषयको छुट अंक जोडी तेस्रो हुने विद्यार्थीलाई पहिलो भएको घोषणा गरिन्छ ।

यस्ता लापरवाहीहरूले गर्दा विद्यार्थीको मनोविज्ञान र भबिष्यमा निकै असर पर्छ। यसरी विद्यार्थीको अंक किन छुट्छ होला? शिक्षकलाई के कारवाही भयो होला? यस्ता घटनालाई किन गम्भीरतापूर्वक लिइदैन? आदि जस्ता प्रश्नहरू लेखक आफैं परीक्षा नियन्त्रक र शिक्षा सचिव हुञ्जेल सम्म पनि अनुत्तरित रहेको र यस्ता प्रश्नहरूले पिरोलीरहेको प्रसङ्ग उल्लेख गर्नुभएको छ जसबाट लेखकको बिद्यार्थीको भबिष्य प्रतिको चिन्ता र कारुणिक हृदय झल्किन्छ ।

बुझिसाध्य नभएको साध्य

‘बुझिसाध्य नभएको साध्य’ शिर्षकमा आफूले विद्यार्थी हुँदा ज्यामिति बुझ्न कठीन भएको अनुभव उल्लेख गर्नुभएको छ र साध्य नम्बर घोकेरै समाधान गर्ने गरेको तर साध्यको भनाई नबुझेको प्रसंग रोचक छ । परीक्षामा साध्यसम्बन्धी प्रश्न आएमा साथीहरूमाझ ’यो कुन साध्य हो?’ भनी खासखुस चल्ने र कसैले साध्य नम्बर भनिदिएपछि घोकेका आधारमा कापीमा लेख्ने चलन थियो । साथी नै गलत भएमा पुरै साध्य नै गलत र उत्तर समेत गलत हुने रोचक प्रसंग उल्लेख गरिएको छ ।

लेखकका अनुसार, कतिपय विद्यार्थीले आधारभूत विषयवस्तु नबुझेकै कारण पनि केही आफ्ना साथीहरूले बिचैमा पठनपाठन छोडेको हुन सक्छ भनेर उल्लेख छ र लेखकले एसएलसी दिंदा १४ जनामा ५ जनामात्र उत्तीर्ण भएको प्रसंगले २०४२ सालतिरको शैक्षिक अवस्थाको झल्को दिन्छ ।

ऐच्छिक बिषय छनोटमा अलमल

ऐच्छिक बिषय छनोटमा अलमल शिर्षकमा आफू लगायत केही साथीहरूले अप्सनल म्याथ पढ्ने रूची हुँदा हुँदै पनि शिक्षक अभावका कारण पढ्न नपाएको प्रसङ्ग उल्लेख गर्नुभएको छ, अझै पनि कतिपय विद्यालयहरुमा विद्यार्थीले चाहे अनुसार ऐच्छिक विषयहरू पढ्न पाउँदैनन् । र एसएलसी परिक्षा उत्तीर्ण गरिसके पश्चात पनि कतिपय विद्यार्थीले आफ्नो रूचि र क्षमता भन्दा पनि अभिभावकको चाहना अनुरूप फेकल्टी छनोट गर्नुपर्ने तितो यथार्थका केही रोचक प्रसंग र उदाहरणहरूले लेखनलाई जीवन्तता दिएको छ ।

आम अभिभावक र विद्यार्थीलाई एसएलसी पश्चात हिँड्नु पर्ने शैक्षिक गन्तव्यको लागि लेखकले उचित मार्गदर्शन गर्नुभएको छ, जसअनुसार विद्यार्थीको रूचि र क्षमतालाई मुख्य आधार मानी सोही अनुरुपको फेकल्टी तिर भर्ना भएमा जुनसुकै विषय पढेपनि सफल भइने सुझाव दिइएको छ ।

हाम्रो समाजमा विद्यार्थीलाई प्रायःजसो विषय छनोटमा निर्णय लिन गार्हो हुने गरेको र लेखकको एउटा साथीले पैसा उफारेर (टस गरेर) विषय छनौट गर्नुपरेको प्रसङ्ग रमाइलो छ । “गाई आएमा विज्ञान पढ्ने, त्रिशुल आएमा मानविकी, टसमा त्रिशुल आयो अनि मानविकी पढें ।”

शिक्षक स्रोतपूर्ण कसरी बन्ने

‘शिक्षक स्रोतपूर्ण कसरी बन्ने’ शिर्षकमा लेखकले विद्यालय निरीक्षक भएर निरीक्षण गर्न जाँदा शिक्षकहरूसंग भएको कुराकानी चित्रण गर्दै शिक्षकहरूले आफूसंग पाठ्यक्रम, पढाउनुपर्ने पाठ्यपुस्तक, शिक्षासंग सम्बन्धित ऐन, नियमावली नभएको र तिनीहरू किन्नलाई स्कूलले पैसा नदिने तथा व्यक्तिगत रूपमा आवश्यकता नरहेको भनी शिक्षकहरूले जवाफ दिएको प्रसंग उल्लेख गरिएको छ ।

‘प्रश्न बनाउन सजिलो, उत्तर लेख्न गार्हो’ शिर्षकमा आफैले शिक्षक हुँदा एवम प्रशिक्षक हुँदाको अनुभव मार्फत प्रश्न निर्माणकर्तामा बिशिष्टिकरण तालिकाको प्रयोग नभएकोर चेतना नभएको, पाठ्यक्रमको ख्याल नगरिएको, सान्दर्भिक र दैनिक जीवनमा प्रत्यक्ष काम लाग्ने प्रश्नहरू नसोधिएको (अर्थात सिकाई उपलब्धिलाई ध्यान नदिएको), विद्यार्थीलाई उत्तर लेख्न लाग्ने समयको खासै ख्याल नगरिएको, निबन्धात्मक प्रश्न र बस्तुगत प्रश्नको आशय नबुझिकन नै प्रश्न बनाइएको, आदि जस्ता रोचक प्रसंग उल्लेख गरिएका छन् । हिजो आज समेत प्रश्नपत्र निर्माणमा खासै सुधार नभएको उल्लेख गरिएको छ । प्रश्नपत्र निर्माण निकै संवेदनशील भएकोले तालिमका साथसाथै अन्य पक्षमा पनि निकै ध्यान पुर्याउनुपर्ने लेखकको बिचार सराहानीय छ ।

शिक्षण कला रहेछ

‘शिक्षण कला रहेछ’ भन्ने शिर्षकमा लेखकले आफू स्नातकोत्तर तहको विद्यार्थी हुँदा पाश्चात्य समालोचना विषयमा एउटा प्राध्यापकले टि.एस. इलियटको ’निर्वैयक्तिकता’ बारे केवल एकहोरो प्रवचन दिएर मात्र पढाउँदा बुझ्न निकै कठीन भएको तर सोही विषयलाई अर्को शिक्षकले शुरूमै ईलियटले कवि र कवितालाई रसायन विज्ञान संग जोडेको उदाहरण दिएर पढाउँदा सजिलै बुझेको रोचक प्रसंग उल्लेख छ ।

जसअनुसार, अर्को शिक्षकले कविहृदय प्लेटिनमको टुक्रा हो, कविता सल्फ्युरिक एसिड। अनुभूति अक्सिजन र संबेग सल्फर डाइअक्साइड हुन भनेर पढाउँदा निर्वै्यिक्तकता सजिलै बुझिएको, मनोरन्जन भएको र बिद्यार्थीमा उत्साह भरिएको प्रसंगले शिक्षकले पढाउँदा एकोहोरो आफैंले सैद्धान्तिक भाषण दिइरहनुभन्दा, परिभाषा प्रस्तुत गर्नुभन्दा सो संग सम्बन्धित उदाहरण, कथा, गीत, चित्र र रोचक प्रसंगहरू शुरूमै प्रस्तुत गरे वा बिद्यार्थीलाई सुनाउन लगाए बिषयबस्तु बुझ्न सजिलो हुन्छ र शिक्षण सिकाई निरस नभई जीवन्त हुन्छ ।

‘नामका सर्जक’
पाठमा विद्यार्थीको नेपाली नाम तथा यसको अंग्रेजीमा स्पेलिङ लेख्दा र वास्तविक जन्ममिति सुधारका कारण भबिष्यमा पर्न जाने अफ्ठ्याराहरूलाई रोचकपूर्ण ढंगले प्रस्तुत गरिएको छ । एक जना स्याङ्जाको शिक्षकको नाम हरिमान रहेको तर डिको प्रयोग नहुदा हरिभान जस्तो देखिएर अंग्रेजीमा लेख्नेले Haribhan लेखेर एसएलसीको सबै प्रमाणपत्रहरूमा हरिभान हुन गएको रोचक प्रसंग छ ।

त्यस्तै, लेखकले आफ्नो नेपाली मित्रको थर सिन्हा भएकोले भारतीय अभिनेता शत्रुघन सिन्हा हो कि भनेर जिज्ञासा राख्दा उहाँले आफ्नो बुबा आमाको थर ’सिंह’ भएको तर एसएलसीको प्रमाणपत्रमा Singh लेखिएको र सोही बमोजिम भारतमा पढ्न जाँदा त्यहाँका शिक्षकले त्यो स्पेलिङ त ‘सिन्हा’ हुने र सिंह हुनलाई त क्ष्लनज हुनुपर्ने थियो भनेर तर्क गरेपछि उहाँको थर नै सदाको लागि सिन्हा लेख्ने गरिएको रोचक प्रसंगले विद्यालयमा शिक्षक वा विद्यालय प्रशासनको सानो कमजोरी वा अज्ञानताका कारण विद्यार्थीलाई पछि अफ्ठ्यारो हुने अवस्था झल्काउँछ ।

त्यस्तै, विद्यालयले एसएलसी दिन पाउने उमेर मिलाउने चक्करमा निकै ठूलो त्रुटि हुन पुगेको अचम्मको घटनाहरु लेखकले आफैँ परीक्षा नियन्त्रक हुँदा देखेको कुरा यस पाठमा छ । जस्तैः एउटा विद्यालयले एसएलसी परीक्षा दिन लागेका केही विद्यार्थीहरूको १४ बर्ष उमेर जबर्जस्ती पुर्याउने चक्करमा वास्तवमा नपुगेका) सबैको जन्ममिति २०५२ चैत ३१ राखेको तर त्यो वर्ष चैत ३१ गते नै नभएको (सो बर्ष चैत मसान्त ३० गते नै भएको) ले नतिजा प्रकाशन हुँदा ईस्वी सम्बत खुलाउने ठाउँमा २०१२/१२/१२ उल्लेख भएकोले संसोधन गर्दा लेखकले निवेदन दिने परीक्षार्थीलाई गरेको प्रश्नले एकछिन हसाउछ ।

“सबै बिद्यार्थी एकै दिन जन्मिएका हुन् ? हुँदै नभएको दिनमा तपाईंहरू कसरी जन्मिनुभयो?” र निवेदकहरू जवाफ दिन्छन, “तिमीहरूले विगार्छौ, हामी मिलाएर भरिदिन्छौं भन्ने शिक्षकको निर्देशन पछि दस्तखत मात्र हामीले गरेका हौं, नाम,थर र जन्ममिति स्कूलले नै भरिदिएको हो ।”

अझ रोचक त के छ भने त्यसो गर्दा अर्को समस्या पनि आएछ (एकै घरका एकै आमाका दुई सन्तानको जन्म मितिमा ४ महिना मात्रको फरक ।

‘तालिममा परीक्षाको तनाव’
पाठमा शिक्षकहरूले तालिम लिए पनि परीक्षा लिन खोज्दा अनिच्छुक देखिएका र एकपल्ट पाल्पा तालिमकेन्द्रमा शिक्षकहरूले परीक्षा बहिष्कार गरेको रोचक प्रसंग उल्लेख छ र ’ तालिमप्रतिको मनोबृत्ति ’ पाठमा प्रायः शिक्षक( प्रशिक्षार्थी) हरू ढिला आउने, चाँडै जाने, बीचमा अनुपस्थित रहने, तालिम गतिविधिभा खासै रूची नराख्ने, बेला बेलामा घडी हेर्ने गतिविधिले गर्दा शिक्षकहरूले तालिमलाई गम्भीरतापूर्वक नलिएको र केवल भत्ताको लागि उपस्थित हुने प्रसंग उल्लेख छ ।

‘प्रतिभायुक्त शिक्षक’ पाठमा रूपन्देही, मुस्ताङ, कास्की र तनहुँ अवस्थित विद्यालयका ४ जना शिक्षकहरू जो पठनपाठनका साथै मूर्ति बनाउने, गीत गाउने, हारमोनियम बजाउने, चित्रकला र कागजको काम (ओरिगामी) आदि सीप भएका) प्रसङ्गहरू उल्लेख गर्नुभएको छ र पठनपाठनको क्रममा यस्ता प्रतिभाशाली शिक्षकहरू निकै उपयोगी हुन्छन ।

विद्यार्थीहरूले यस्तो शिक्षकको कक्षा निकै मन पराउँछन्, कक्षा निरास र दिक्कलाग्दो नभई जीवन्त र मनोरन्जनात्मक हुन्छ र विद्यार्थीले पनि शिक्षकमा भएका त्यस्ता प्रतिभाबाट उत्प्रेरित भएर आफू पनि प्रयास गर्छन् । न गीत गाउन जान्ने, न चित्र बनाउन जान्ने, न नाच्न जान्ने, न कुनै अरू प्रतिभा भएको शिक्षकको कक्षा निकै निरस, रूखो र दिक्कलाग्दो हुन्छ, त्यसकारण बिशेष प्रतिभा भएका शिक्षकहरूलाई बिद्यालयले उपयोग गर्न सके सिकाईमा निकै सहजता आउँछ ।

‘स्तर अनुसारको सिकाइ’
पाठमा लेखकले आफूले भैरवहाको एउटा स्कूलमा कक्षा ४ को विजगणित को कक्षा निरीक्षण गर्दाको अनुभव चित्रण गरिएको छ जसअनुसार विद्यार्थीको स्तर, तह र क्षमता अनुसारको शिक्षण विधि अपनाए मात्र सिकाई सहज र प्रभावकारी हुने उल्लेख छ ।

‘पाठ्यपुस्तक बिना शिक्षण’
लेखकले रूपन्देहीको मानकपडी विद्यालय गएर कक्षा अवलोकन गर्दा फेला परेको असल अभ्यासको प्रसंग उल्लेख छ, जसअनुसार एउटा शिक्षकले कक्षा ४ मा ’सजीव र निर्जीव’ पाठ पढाउँदा पाठ्यपुस्तक प्रयोग नगरिकन नै विद्यार्थीलाई सोधेछन्, “आज बिहान घरबाट स्कूल आउदा तिमीहरूले बाटोमा के-के देख्यौ ?”

विद्यार्थीहरूले आफूले देखेका कुरा भनेपछि ती शिक्षकले कालोपाटीलाई ५ भागमा विभाजन गरे त्यसपश्चात सास फेर्ने, सन्तान जन्माउने, हिँड्ने, सानोबाट ठूलो बढ्ने, मर्ने र विद्यार्थीले देखेका विभिन्न चीजवस्तुलाई यी विभिन्न समूह अन्तगर्त लेखेछन, र विद्यार्थी संगको घनिभूत अन्तरक्रिया पश्चात अन्तमा सास फेर्ने, सन्तान जन्माउने, एक ठाउँबाट अर्को ठाउँ हिँड्ने, सानोबाट ठूलो बढ्ने, आदि नामका सजिब हुन र यी बिशेषता नहुने निर्जीव हुन भनी पढाउँदा एकातर्फ विद्यार्थी रमाई रमाई पढेको र अर्कोतर्फ विद्यार्थीले उत्साहपूर्वक भाग लिएको , धेरै जिज्ञासा राखेकोले सिकाई प्रभावकारी र अर्थपूर्ण भएको रोचक प्रसंग उल्लेख गरिएको छ ।

‘सिकाउने काइदा’
पाठमा बुटवलको एउटा स्कूलकी शिक्षिकाले कक्षा ९ मा ‘ढाड नभएका प्राणी’ अवधारणा पढाउन विद्यार्थीलाई चौरबाट किराहरू संकलन गर्न लगाई सिकाई जीवन्त र रोचक भएको उल्लेख गरिएको छ ।

‘पाइको मान, सधैं समान’

पाठमा पाइको मान २२ र ७ बुझाउन शिक्षकले धागोको सहायताले बिभिन्न आकारका बृत बनाई पढाएको प्रसंग उल्लेखनीय छ ।

‘बालसुलभ जिज्ञासा र सिकाइ’

‘बालसुलभ जिज्ञासा र सिकाइ’ पाठ निकै सोचनीय छ अभिभावक एवम शिक्षकको लागि । यो पाठमा एउटा रोचक प्रसंग छ, एकपल्ट लेखक प्राथमिक तहमा पढ्दा गाउँले दाईकोमा जानुभएछ र ति दाइले घरमा पानी पोखेका रहेछन् र पानी बगिरहेको रहेछ र दाईले बुबालाई उक्त पानीको सम्बन्धमा निकै जिज्ञासा राखेछन् – बा यो पानी बगेर कहाँ जान्छ ? बुबाले भनेछन् तल खोलामा, फेरी दाईले सोधेछ, खोलामा गएपछि कहाँ जान्छ ?, बुबाले भनेछन, फुस्रे खोलामा, दाईले फेरी सोधेछन्, फुस्रे खोलाबाट कहाँ जान्छ ?, बाले भनेछन, सेती नदीमा , सेती नदीपछि कहाँ जान्छ ?, “ त्रिशुलीमा, “त्रिशुलीपछि कहाँ जान्छ ? नारायणीमा, नारायणीपछि कहाँ जान्छ? दाईले सोध्ने क्रम जारी राखेछन् र बुबाले झन्झट मान्दै समुद्रमा भनेछन् र उहाँको अनुहारले धैर्यको सीमा नाघेको प्रसंग लेखक सुनाउछन र फेरी ती दाइले बा समुद्र पछि कहाँ जान्छ? भन्ने प्रश्न सोधेपछि बुबाको टाउको रन्थनिएर तेरो टाउकोमा जान्छ भनेपछि दाई चुप लागेको प्रसंग रोचक छ ।

त्यसकारण, लेखकले जिज्ञासा नै ज्ञानको स्रोत रहेको र बालसुलभ जिज्ञासालाई निमोठ्नु, थन्क्याउनु नराम्रो काम हो भनी तर्क गर्नुभएको छ । त्यस्तै, लेखकको साथीको पूर्वप्राथमिक कक्षामा पढ्ने छोराले परीक्षामा आफ्नो नाम, आमाको नाम, घर कहाँ हो आदि प्रश्नको उत्तर लेखेर आएको तर बुबाको नाम के हो भन्ने प्रश्नको उत्तर नलेखिकन आएको रोचक प्रसंग निकै गहन र मनोबैज्ञानिक दृष्टिकोणले सोचनीय छ ।

यद्यपि त्यो बालकलाई अरू बेला आफ्नो बुबाको नाम लेख्न सजिलै आउथ्यो रे तर परीक्षाको बिहान ती बालकको बुबाले ( लेखकको साथी) अलि कडा बोलेको र हप्काएको हुँदा रिस उठेर बुबाको नाम सम्बन्धी प्रश्न हल नगरेको प्रसंगले छोराछोरीले आफूसंग कडा बोल्ने र हप्काउने प्रति नकारात्मक धारणा विकास भई सोही अनुरुप प्रतिक्रिया जनाउने कुरा इंगित गर्छ ।

त्यस्तै, रूपन्देहीको एउटा बिद्यालयमा निरिक्षण गर्ने क्रममा मधेसी बसोबास क्षेत्रका एउटा विद्यार्थीलाई(“पखाला लागे के गर्नुपर्छ ’ भन्ने प्रश्नको जवाफमा बिद्यार्थीले(“ मैदान जानुपर्छ“ भनेछन , जुन रोचक छ । अर्थात त्यो क्षेत्रमा दिसा गर्न जानुलाई मैदान जानु भनिने भएकोले ( किनकि घरमा शौचालय नभएको र शौच गर्न मैदान तर्फ जाने चलन भएका कारण) बिद्यार्थीले त्यस्तो जवाफ दिए ।

यद्यपि प्रश्नको आशय पखाला लागेमा के गर्नुपर्छ भन्ने थिया े। यसबाट के बोध हुन्छ भने भाषा र त्यसको ठाउँ, परिवेशको अर्थले बुझाईमा समेत फरक पार्दछ ।

‘मसिना कुरा सिक्न बाँकी’
पाठमा निकै प्रेरणादायी प्रसङ्गहरू रहेका छन् । लेखकले आफू प्रशिक्षक हुँदा एउटा अंग्रेजी शिक्षकलाई अंग्रेजी भाषामा स्वर वर्ण र व्यञ्जन वर्ण कति छन भनेर सोध्दा स्वरबर्ण ५ र व्यञ्जन २१ भएको जवाफ सुनेपछि लेखकले स्वर वर्ण २० र व्यञ्जन वर्ण २४ भन्दा हल हाँसोले गुञ्जायमान भएको प्रसंग रोचक छ ।

शिक्षकलाई अक्सफोर्ड डिक्सनरी छ भन्ने प्रश्नमा शिक्षकहरूले आफूसंग नभएको र आफ्नो पकेटको पैसाले किन्न नसकिने जवाफ आएपछि लेखकले आफ्नै गाउँका सिकर्मी टेक बहादुर भुजेलको प्रसंग निकै मननयोग्य छ । जसअनुसार ती सिकर्मीले लेखकको घरमा कुर्सी, खाट, टेबुल बनाईदिने र सधै उनको जिउपछाडि एउटा झोला हुने जसमा करौती, रन्दा, फलासी, आदि आवश्यक औजारहरू सधैं बोकेको हुने र जुन सामान आवश्यक पर्छ ,त्यो झिक्ने गरेको प्रसंगले निकै झस्काउछ ।

अझ रोचक त के छ भने ती सिकर्मीले ती औजार आफ्नै पैसाले किनेका थिए र ती औजार प्रयोग गरे बापत लेखकबाट न त ख्याउती माग्नुभयो न त थप रकम बरू त्यो सबै पारिश्रमिक अन्तगर्त नै पथ्र्याे । यो प्रसंगले आफ्नो पेशागत बिकास गर्न नखोज्ने शिक्षकलाई पक्कै पनि चसक्क पोल्छ र आफुलाई आवश्यक पर्ने सन्दर्भ सामग्री, डिक्सनरी आदि किन्न निकै ठूलो प्रेरणा मिल्नेछ ।

‘फरक भूगोल फरक परिवेश’
पाठमा आफू जागिरको सिलसिलामा बझाङ सरूवा हुँदा त्यहाँको भौगोलिक विकटता र शैक्षिक अवस्थाको चित्रण गर्नुभएको छ । यो पाठमा बझाङमा एसएलसी परीक्षा र चिट चोरेको गतिविधिको अनुभव उल्लेख छ । भने ‘अनुगमनमा नौलो अनुभव’ पाठमा अर्घाखाँचीमा परीक्षार्थीले चिट चोर्नलाई गरेको लगानी र प्रयोग गरेको प्रविधि अनौठो रहेको प्रसंग रोचक छ ।

‘स्रोत हामीभित्रै छ र शिक्षक आफै सक्षम’
पाठहरुमा विद्यार्थीलाई उदाहरण दिएर, उनीहरूकै सेरोफेरोमा भएका गतिविधि, आदिको सहायताले पढाउँदा, आधारभूत अवधारणा बुझाउँदै सरलबाट जटिल तर्फ जाँदा, शिक्षणसिकाइमा विद्यार्थीलाई बढीभन्दा बढी सहभागी र सक्रिय बनाउदा सिकाई अर्थपूर्ण र प्रभावकारी हुने प्रसंगहरू उल्लेख गरिएको छ ।

‘एसएलसी परिक्षा नतिजा पछिको संबेदनशिलता’
पाठमा लेखकले आफू परीक्षा नियन्त्रक हुँदा परीक्षा प्रणाली( प्रश्नपत्र निर्माण पद्धति समेत) लाई सुधार्न गरेका अथक प्रयासहरूको उल्लेख गरेका छन्, जुन निकै सराहानीय छन् । नतिजा पश्चात आउने त्रुटि न्यूनीकरण गर्न अपनाएका पहलकदमीहरू र कतिपय सेवाग्राही ( परीक्षार्थी र अभिभावक)लाई दिएको उचित परामर्श, समन्वय र तदारुकता देखाएका प्रसंगहरू निकै रोचक र प्रशंसनीय छन् ।

‘सिकाउने शैली’
शिर्षकको पाठमा लेखकले आफूले विद्यालय निरीक्षक भएर कक्षा १० को विज्ञानको कक्षा अवलोकन गर्दाको अनुभवलाई चित्रण गर्नुभएको छ जसमा सकेसम्म आगमन बिधि (पहिला उदाहरण प्रस्तुत गर्ने, प्रदर्शन गर्ने र पछि धारणा वा परिभाषा वा सिद्धान्त बिद्यार्थीलाई नै निर्माण गर्न लगाउने, सामान्यीकरण गर्न लगाउने आदि र शिक्षकले सहजीकरण गर्ने)बाटै शिक्षकले आनन्दपूर्वक पढाएको , शिक्षण सिकाई मनोरन्जनत्मक, जीवन्त र व्यापक अन्तरक्रियात्मक भएको प्रसंग उल्लेख छ ।

‘सबैको आँखा पाठ्यक्रममा’
शिर्षकमा लेखकले पाठ्यक्रम बिकास केन्द्रको कार्यकारी निर्देशक हुँदाको अनुभव प्रस्तुत गर्नु भएको छ । पाठ्यक्रम निर्माण गर्ने बेलामा बिभिन्न बिषयबस्तु राख्नको लागि बिभिन्न समूहको ज्ञापन पत्र आएको, डेलिगेसन आएको र कतिपय जायज मागहरू सम्बोधन गर्न सकिएको प्रसंग उल्लेख छ ।

आधारभूत शिक्षाको स्वास्थ्य बिषयमा ’हिमोफिलिया’ रोग सम्बन्धी विषयवस्तु समावेश होस् भनी एक दिन नेपाल हिमोफिलिया सोसाइटीका अध्यक्षको टोली भेट्न आएको रोचक प्रसंग छ र लेखकले हिमोफिलियाबारे आफ्नो अनुभव सरल तरीकाले प्रस्तुत गर्नुभएको छ । त्यस्तै, नेपाल बार एसोसिएसनले पनि ’ विद्यालय शिक्षामा कानूनी शिक्षाको आवश्यकता’ सम्बन्धि अन्तरक्रियामा लेखक स्वयं उपस्थित भएको प्रसंग उल्लेख छ । यसरी, हरेक हित समूहले बिभिन्न खालका बिषयबस्तुहरू बिद्यालय शिक्षामा समावेश गर्न दबाब दिएको प्रसंग उल्लेख छ ।

बालविवाह र यसको असर
यस शिर्षकमा दोलखा जिल्लाको प्रसंग उल्लेख छ जसअनुसार एउटा छात्राको कक्षा १० मा पढ्दा १५ बर्षको उमेरमा प्रेम बिबाह भएछ तर उनले विहेघर भएको ठाउँको विद्यालयमा कानूनी व्यवस्थाका कारण स्थानान्तरण गर्न नमिल्ने र जसले गर्दा पढाईमा असर पर्न सक्ने अवस्थाको चित्रण गरिएको छ।

‘अंग्रेजी पढ्ने रहर’
शिर्षकमा अंग्रेजी पठनपाठनको बिश्वव्यापी महत्व, अन्तर्रा्ष्ट्रिय मागर आवश्यकता, बिबिध ज्ञानको प्रमुख ढोकाको रूपमा अंग्रेजी भाषा रहेको आदि जस्ता कारणले अंग्रेजी भाषा प्रति अभिभावक र बिद्यार्थीको बढ्दो मोह रहेको प्रसंग उल्लेख छ । गुरुकुल शिक्षा अवलोकन गर्ने क्रममा २०६८ सालमा बेद बेदाङ्ग आवासिय बिद्यालय, गलेश्वर आश्रम पुग्दा (रामेछापबाट पढ्न आएका) कक्षा ६ का बिद्यार्थीले संस्कृतका साथसाथै अंग्रेजी पनि पढाई भइदिए हुन्थ्यो भन्ने ईच्छा प्रकट गरेको र कारण बुझ्दा ती बालकले चिन्तामणी योगी जस्तै गीता, बेद का कुराहरू अंग्रेजीमा बोलेर बिश्व समुदायलाई सिकाउन चाहेकोले अंग्रेजी सिक्न ईच्छुक भएको प्रसंग उल्लेख छ र यो बालकको चाहनालाई समेत सम्मान गर्दै बेद विद्याश्रम र गुरुकुल पाठ्यक्रममा पाँचौ पत्रमा संस्कृत भाषा वा अंग्रेजी लिन सक्ने व्यवस्था नेपाल सरकार बाट स्वीकृत गराउन लेखक सफल भएको प्रेरणादायी प्रसङ्ग उल्लेख छ ।

हाल सरकारी बिद्यालयमा समेत अंग्रेजी माध्यमबाट पढाई हुने लहर चलेको र जुन समयको माग र आवश्यकता पनि भएकोले फलदायी समेत रहेको प्रसंगहरू उल्लेख छन् ।

मेहनती स्कूल
अन्तिम पाठको रूपमा, ’मेहनती स्कूल’ रहेको छ जसमा हाल नेपालमा बिद्यालय स्तरमा प्राविधिक एवम व्यावसायिक शिक्षाको अवस्था र यसको महत्व चित्रण गरिएको छ ।

प्राविधिक शिक्षा सञ्चालनमा साधारण शिक्षाको भन्दा निकै धेरै चुनौतीहरू रहेको प्रसंगहरू उल्लेख गर्नुभएको छ । जसमध्ये, कास्की जिल्लाको एक बिद्यालयले प्राबिधिक शिक्षा सञ्चालन को लागि ’धान्याचल महायज्ञ’ लगाएको र दान दातव्य जम्मा गरेको र सोही बमोजिम पशु बिज्ञानको कार्यक्रम शुरू भएको तर तिनै अभिभावकले आफ्ना छोराछोरीलाई गाईभैसीको स्याहार गर्ने र गोबर खेलाउने शिक्षा पढाउन ईन्कार गरेपछि आवश्यक विद्यार्थी भर्ना नहुँदा सो बन्द हुन पुगेको प्रसंग रोचक छ ।

त्यसैगरी, दोलखा जिल्लाको हनुमन्तेश्वर माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा अवलोकन गर्ने क्रममा भोगेको अनुभव घतलाग्दो छ । सो विद्यालयमा कक्षा ९ देखी १२ सम्म ईन्जिनियरिङ पढाई हुने गरेको, सो को लागि ईन्जिनियरिङ तर्फका विषय पढाउन स्नातक उत्तीर्ण गरेको ईन्जिनियर चाहिने तर उक्त बिद्यालयमा शिक्षक अभाव रहेको प्रसंग उल्लेख छ ।

लेखकले शिक्षकको बारेमा जिज्ञासा राख्दा एउटा शिक्षक ( ईन्जिनियरिङ मा स्नातक) गरेको भेटिएको तर १५ दिन अध्यापन गरेपछि छोडेको र सो को कारण बुझ्दा प्रधानाध्यापकले बताए अनुसार निजामती शिक्षकको बुबा छोरालाई खोज्दै १५ दिनपछि विद्यालयमा आएको र बावुछोरा बीच लामो गोप्य बार्ता ( कुराकानी) भएको र बुबाले आफ्नो छोरालाई शिक्षक हुनको लागि ईन्जिनियरिङ नपढाएको बरू सडक, सिंचाई , भवन बिभाग आदिमा जागिर गरोस भन्ने चाहना रहेको र छोराले शिक्षक नै बन्न चाहेको भए शिक्षकले पाउने तलव अन्य स्रोत बाटै व्यवस्था गरिदिने बताएको र छोराले स्कूलमै शिक्षक भएर बस्ने हो भने आफू घर फर्कने र छोरासँग सम्बन्ध नै तोड्ने बताएपछि छोरा (उक्त शिक्षक) घर फर्केको र त्यसपछि कुनै नयाँ शिक्षक नभेटिएको प्रसंगले हाम्रो समाजमा शिक्षक प्रति हेर्ने दृष्टिकोण, र बिशेषगरी प्राविधिक शिक्षा पढाउन शिक्षक पाउन निकै कठिनाइ रहेको तथ्य इंगित गर्छ ।

कतिपय ठाउँमा प्राविधिक शिक्षाको मर्म नै नबुझिकन अर्थात प्रयोगात्मक अभ्यास गर्ने आवश्यक पूर्वाधार र व्यवस्थापन नभएको जस्ता चुनौतीहरूको प्रसंग पनि यस पाठमा प्रस्तुत छन् ।

निष्कर्ष
यो पुस्तक ‘सिकाउने शैली’ ले दिगो, अर्थपूर्ण र प्रभावकारी सिकाइका लागि कुन कुन पक्ष जिम्मेवार हुन्छन, कुन ठाउँमा कसले जिम्मेवार हुनुपर्ने हो, के कस्ता तौरतरिका र विधि अपनाउनुपर्ने हो, जस्ता गहन विषयमा उदाहरण र प्रसंग सहित छर्लङ्ग पारिएको छ ।

लेखकले आफ्ना जीवन्त अनुभवहरू , विभिन्न ओहदा र भूमिकामा बस्दा देखेका समस्याहरू र सभाधानको लागि गरेका प्रयासहरू निकै सरल भाषामा पाठकमाझ पस्किनु भएको छ ।

यो पुस्तकले शिक्षण सिकाइको क्षेत्रमा नौलो आयाम ल्याएको जहाँ पाठ्यक्रम निर्माण सम्बन्धित प्रसंगहरू देखि लिएर शिक्षण सिकाई, शिक्षक तालिम, क्याम्पसमा बी.एड.र एम.एड. अध्यापन, शिक्षक व्यवस्थापन, परीक्षा प्रणाली, बिद्यालय सुपरिबेक्षण, अनुगमन मूल्यांकन, अभिभावकको भूमिका, बालसुलभ जिज्ञासार मनोविज्ञान र सहभागिता, जस्ता बिबिध बिषयमा सुक्ष्म लेन्सले हेरी मिहिन बिश्लेषण गर्नुभएको छ ।

यो पुस्तक बिद्यार्थी, शिक्षक, अभिभावक, बिद्यालय निरीक्षक, नीति निर्माता, प्रशासक आदि सबैका लागि सार्है फलदायी र प्रेरणादायी छ, आशा गरौं, यो पुस्तकले नेपालको शिक्षा प्रणाली( शिक्षण सिकाई समेत)लाई अझ सान्दर्भिक, गुणस्तरीय, व्यावहारिक, सहज र रोचक बनाउन मार्गदर्शन गरी अहम भूमिका खेल्नेछ।

लेखन: भानुभक्त भट्ट, शाखा अधिकृत, नेपाल सरकार (जे.डि.एस.स्कोलार, जापान)
हाल: क्योटो, जापान

पुस्तक समिक्षालाइ अडियाेमा सुनाैँ

दाेस्राे भाग

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *