२०७६ चैत्र २०, बिहिबार
Follow Us on:

शाखा अधिकृतको प्रथम पत्रको परीक्षाबारे मेरो दृष्टिकोण

भानुभक्त भट्ट

शासन संचालनको लागि (असल शासनको लागि) अन्य पक्षका अलावा सक्षम, कुशल, योग्य, नैतिकवान, सदाचारी, सीपयुक्त, उत्तरदायी, ईमान्दार, समूहमा काम गर्ने, सेवाग्राही र आफ्नै सहकर्मी/ पद्धति प्रति आदरभाव भएको, परानूभूति एवम सहानुभूति भाव भएको, अनुशासित, बिनम्र, तटस्थ कर्मचारीतन्त्र चाहिन्छ भन्नुमा दुईमत छैन।

कानून कार्यान्वयन गर्ने अभिन्न अंग भएकोले कर्मचारीतन्त्रमा त्यो मुलुकको संबिधान र अन्य कानूनी व्यवस्थाहरू, सरकारका नीति कार्यक्रमहरू र बजेट, योजना सम्बन्धी ज्ञान हुनु वाञ्छनीय नै हुन्छ । जुन देशमा काम गर्ने हो त्यसको सामान्य ऐतिहासिक, सांस्कृतिक, सामाजिक, धार्मिक, भौगोलिक जानकारी पनि वाञ्छनीय हुन्छ तर यति मात्र जानेर कुनै कर्मचारी योग्य कहलिन सक्दैन किनकि प्रभावकारी सेवा प्रवाह र कानून कार्यान्वयनको लागि तालको गहिराइ , झर्नाको लम्बाइ , सडकको लम्बाइ थाहा पाएर वा कुनै राजाका कति श्रीमती थिए भन्ने ज्ञानले कुनै तात्विक भिन्नता राख्दैन।

सामान्य ज्ञानले सामान्य जानकारी मात्र दिने, मुलुकका बिभिन्न पक्षहरूसंग चित परिचित गराउने मात्र हो, त्यसैले, यो कर्मचारीमा हुनुपर्ने सामान्य प्रारम्भिक ज्ञान मात्र हो । जस्तै: कुनै बिदेशीले वा अरू कसैले नेपाल कस्तो मुलुक हो भौगोलिक हिसाबले भनेर सोध्यो भने- मैले हिमाल , पहाड र तराई तिनवटै अवस्थिति भएको मुलुक हो, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको र उत्तरमा हिमालहरू र दक्षिणमा समथर भूभाग भएको भन्न सम्म सक्नुपर्छ तर यो जरूरी छैन कि मैले घोकेरै कुन गुफाको गहिराइ कति छ, कुन तालको गहिराइ कति छ भनेर जवाफ दिनु? किनकि त्यस्तो बिशिष्ट ज्ञान आजको कृतिम ज्ञानको( Artificial intelligence)जमाना, सूचना प्रविधिको चरम बिकास भएको समयमा घोकेर बस्नु भनेको आफ्नो उर्जाशील दिमागलाई क्षयीकरण गर्नु हो र जसको खासै उपयोग छैन र गुगल र युट्युबको प्रयोग गरी सजिलै भन्न सकिन्छ वा आधिकारिक स्रोत बताउन सकिन्छ ।

कुन राजाका ४ वटा रानी थिए ? ल, मानौं, ३ हुनु र ४ हुनुमा राज्यलाई ठूलै फरक परेको भए वा त्यही कारणले शासन व्यवस्था परिवर्तन भएको भए ठिकै हो सोध्नु नत्र यस्ता प्रश्न सोध्नु वा त्यसको लागि तयारि गर्नु युवा पुस्तालाई अन्धकार तर्फ धकेल्नु मात्र हो ।

घोकेर सबै सम्भव पनि छैन र त्यसरी अन्दाजमा गलत सूचना दिनुभन्दा स्रोत खुलाएर आधिकारिक सूचना दिन सक्नु बरू आजको जमानामा कर्मचारीको खुबी हो। कुन कुन कालखण्डमा कसरी शासन हुँदै आयो, के कस्ता महत्वपूर्ण घटनाक्रम घटे( जस्तै: नेपाल एकिकरण, कोतपर्व, राणाशासन, प्रजातन्त्र स्थापना, पञ्चायती व्यवस्था, जनमत संग्रह, प्रजातन्त्रको पुनर्वहाली, जनआन्दोलन, लोकतन्त्रको स्थापना आदि) जसले गर्दा आज हाम्रो मुलुक यस्तो अवस्थामा छ भन्ने सम्म सामान्य हेक्का राख्नु र जानकारी हुनु कर्मचारी मात्र होइन हरेक नागरिकले जान्नु वाञ्छनीय हो तर सिंहदरबारमा आगो लाग्दा कुन दिशातर्फ लाग्यो, कुन राजाका ४ वटा रानी थिए ? ल, मानौं, ३ हुनु र ४ हुनुमा राज्यलाई ठूलै फरक परेको भए वा त्यही कारणले शासन व्यवस्था परिवर्तन भएको भए ठिकै हो सोध्नु नत्र यस्ता प्रश्न सोध्नु वा त्यसको लागि तयारि गर्नु युवा पुस्तालाई अन्धकार तर्फ धकेल्नु मात्र हो किनकि ती ४ वटा रानी र तिनका छोराछोरी को नाम याद गरुञ्जेल त उर्जाशील युवाहरूले नयाँ नयाँ खोज र आबिस्कार गर्न सक्छन, चिया पसल खोले १० कप चिया बेचिसक्छन तर यस्ता वाहियात प्रश्नहरू पढेर जुन जिन्दगीमा कहिल्यै काम लाग्दैनन न त सेवा प्रवाह राम्रो हुन्छ न त व्यक्तिगत बिकास।

त्यस्तै, भूमण्डलीकरणको जमानामा केही अन्तर्राष्ट्रिय बिकास सम्बन्धी चासो र सामान्य सचेतना हुनु कर्मचारीको लागि स्वाभाविक नै हो किनकि आतंकबाद, जलवायु परिवर्तन, मुद्रा निर्मलीकरण, सीमापार अपराध आदि जस्ता cross- cutting मुद्दाहरू हामी एक्लैले समाधान गर्न सक्दैनौ, त्यसरी आर्थिक उदारीकरण र बिश्वव्यापी व्यापारको जमानामा अन्य देशहरूको शासन प्रणाली, शिक्षा, प्रविधि, अर्थतन्त्र सम्बन्धि नेपाललाई काम लाग्ने सामान्य जानकारी हुनु स्वाभाविक हो तर गुगल हेरेर पनि पत्ता नलाग्ने, जीवनमा कहिल्यै कामै नलाग्ने प्रश्न सोधेर उर्जाशील युवाहरूलाई राज्यले भलो गरेको मलाई चाहिँ लागेन। जस्तैः अफ्रिकामा भएको पहाडको उचाई वा अमेरिकामा भएको घाँसेमैदानको लम्बाइ नेपालमा के काम लाग्छ बरू अफ्रिकामा भएको उक्त पहाडबाट पर्यटन प्रवर्द्धन गर्ने रणनीति के छ? गरिबी निवारणमा के कस्तो भूमिका खेलेको छ र नेपालमा पनि धेरै पर्वत भएकोले पर्यटन प्रवर्द्धन कसरी गर्न सकिन्छ, अफ्रिकाले अवलम्बन गरेका सफल नीतिहरू तलका मध्ये कुन हुन जुन नेपाललाई पनि उपयोगी हुन्छन?

अष्ट्रेलियामा आगो लाग्दा के कस्ता उपाय अपनाइए जुन भोली नेपालको जंगलमा पनि आगलागी भइहाल्यो भने तत्कालै अवलम्बन गर्न सकिएला ? भारतमा बालबिवाह रोक्न के कस्ता कदम चालिए जुन नेपालले पनि लागू गर्न सक्छ ? चाइनामा जनसंख्या नियन्त्रण कसरी भयो र हामीले त्यसबाट के पाठ सिक्छौ ? डेनमार्कमा भ्रष्टाचार निवारण गर्न के कस्ता उपाय अपनाएका रहेछन जुन नेपालमा लागू गर्न योग्य छन? जापानमा आम नागरिक एवम कर्मचारीहरू निकै अनुशासित र मेहनती भनेर संसारमै चिनिन्छन, के कारण होला? हामीले त्यस्तै कर्मचारी र नागरिक बनाउन के गर्न सकिन्छ होला? जापानमा मान्छेहरू सबैभन्दा धेरै बाँच्छन्, किन होला ? हामीले पनि नेपालीहरूको आयु बढाउन के गर्न सकिन्छ ? थाइल्याण्डमा पर्यटन प्रवर्द्धन कसरी भएको छ, नेपालले तत्काल के गर्न सक्छ ? आदि।

त्यसकारण, सामान्य ज्ञानको परीक्षा इन्ट्रान्सको रूपमा लिनुमा कुनै आपत्ति छैन, (अन्तर्राष्ट्रिय अभ्यास पनि छ) वाञ्छनीय हो तर त्यसको लागि लोक सेवा आयोगले देहायको कामहरू गर्नु पर्छ:

१. पाठ्यक्रम बिशिष्टिकृत बनाउनुपर्छ जस्तै : नेपालको भूगोल भित्र के के कुरा समेट्ने हो , ईतिहास भित्र के कति पढ्ने, आदि, अन्तर्राष्ट्रिय जगतमा के के अध्ययन गर्ने हो? किनभने नेपालको भूगोल मात्र राम्रो संग पढ्ने हो भने एक बर्षमा पनि सकिँदैन, त्यसकारण बिषयबस्तुको अनिश्चितता हुनु हुँदैन परीक्षार्थीमा।

२. लोक सेवा आयोगले आधिकारिक reference materials तोकिदिनुपर्छ जस्तै: नेपालको संबिधान, कानून, बजेट आदि; नेपाल सरकारले प्रकाशन गरेको वा मान्यता दिएको आधिकारिक भूगोल, ईतिहास, संस्कृतिको किताब ; त्यस्तै समसामयिक घटनाको लागि रेडियो नेपाल वा पत्रपत्रिका र अन्तर्राष्ट्रिय घटनाक्रमको लागि बीबीसी, सिएनएन वा कुनै। र, बजारमा copy paste गरिएका आधिकारिक स्रोत उल्लेख नभएका गाईड, गेसपेपरहरू माथि प्रतिबन्ध लगाउनु पर्छ।

३. लोक सेवा आयोग आफैंले पनि (कानून परिवर्तन गरेर) अभिमुखीकरण कक्षाहरू चलाउनुपर्छ र नेपाल सरकारको रिटायर्ड अनुभवी कर्मचारी र प्रोफेसर हरूलाई परिचालित गरी देशको कुना काप्चामा कक्षा सञ्चालन गर्नुपर्छ, नमूना प्रश्न , परीक्षा प्रणाली, पाठ्यक्रम, र बिषयगत प्रश्नको हकमा परीक्षामा लेख्ने तरीका, अब्बल उत्तरको नमूना र पास मार्क पनि ल्याउन नसक्नेको नमूना दुबै सार्वजनिक गर्नु पर्छ( नाम गोप्य राखेर)। वा त्यो सम्भव हुँदैन भने परिक्षार्थीको उत्तरको अनुसन्धान गरी बिशिष्ट उत्तर, असल उत्तर, औसत र खराब गरी बिभिन्न मोडेल बनाई सार्वजनिक गर्नुपर्छ । यसरी ठाउँ ठाउँमा गएर कक्षा संचालन गर्दा सामाजिक आर्थिक रूपले पछाडि परेको बर्गको समेत ठूलो उद्धार हुन्छ, चेतना फैलिन्छ र सशक्तिकरणमा टेवा पुग्छ।

४. परीक्षामा धेरै भन्दा धेरै कठीन, कसैले नजानुन भनेर सारा संसारको प्रश्न सोध्ने हो भने त युवाहरुमा फ्रस्ट्रेसन र डिप्रेसन हुन्छ र यति तयारी गरेर सरकारी जागिर नभए पनि यदि त्यो ज्ञान अन्य पेशा/क्षेत्रमा काम लागे त ठिकै छ तर कतै जिन्दगीमा कामै नलाग्ने प्रश्नहरू सोधेर त मानसिक र भौतिक लगानी नाश हुन्छ, राज्यलाई त नाम निकाल्ने शाखा अधिकृत वा नासु खरिदार मात्र होइन बरू फेल भएका पनि उत्तिकै काम लाग्ने हुन र danger त यो छ कि त्यसरी परीक्षा प्रणाली देखी नैराश्य भएका युवाहरू राज्यको बिरूद्द उत्रिन्छन, भोली सामाजिक अपराधमा संलग्न हुन सक्छन, मानसिक रूपमा रोगी हुन सक्छन, आदि।

त्यसकारण, परीक्षामा परीक्षार्थीको तर्कक्षमता जाँच्ने र मुलुकलाई काम लाग्ने/ हित हुने प्रश्न सोध्नुपर्छ, शासन सञ्चालन र सेवा प्रवाहमा प्रत्यक्ष काम लाग्ने प्रश्न सोध्दाखेरी पनि सबैले जागिर खाने त होइनन तर नाम निकाल्ने अब्बलहरू पनि जागिर खाएर प्रभावकारी सेवा दिन सक्छन र एक पटक फेल हुने मान्छे कम्तीमा अर्को पटक फेरि त्यस्तो ज्ञान सीप सिकेर पास हुन सक्छ, by chance फेरी पनि भएन भने त्यो ज्ञान, सीपले राज्यलाई काम लाग्ने कुनै न कुनै जनशक्ति बन्न सक्छ- जस्तै: NGO/ INGO मा जागिर गर्न सक्छ, बिकास निर्माणका काममा संलग्न हुन सक्छ, राजनीति गर्न सक्छ, व्यापारी बन्न सक्छ- जे बने पनि नेपालको बिकासको सामान्य जानकार त बन्छ र अन्य पेशामा पनि उसले सफलता पाउँछ ।

त्यसैगरी , लिखित परीक्षाको भार निकै कम राख्नु पर्छ र अन्तरबार्ता, परियोजना कार्य, प्रस्तुतिकरण सीप, सञ्चार सीप, नेतृत्व क्षमता जस्ता व्यावहारिक सीपहरूको भार बढी राख्नुपर्छ ( उदाहरणको लागि, हाम्रोमा शाखा अधिकृतको अन्तरबार्ता करिब १५-२0 मिनटको हुन्छ तर जापानमा करीब १0 दिनसम्म दिनभरी अन्तरबार्ता लिइन्छ।)

अर्को महत्वपूर्ण कुरा, अहिलेको परीक्षा प्रणालीमा एक नम्बरमा नाम निकाल्ने र तीन / चारसय मेरिट पछाडि निकाल्नेको सेवा प्रवाहको स्तर अनुसन्धान हुनु जरूरी छ। मानौं कसैले सामान्य ज्ञान १00 मा ९0 मिलाएर पास भयो भने उसले गर्ने काम र सेवाको गुणस्तर त ५0 ल्याउनैको भन्दा निकै अब्बल हुनुपर्ने हो तर व्यवहारमा त्यसो देखिन्न किनभने परीक्षा प्रणाली अन्टार्कटिका तिर छ काम गर्नुपर्ने घनघश्याको उकालोमा छ( व्यङ्ग्यात्मक), अर्थात कुनै तालमेल छैन। यसले गर्दा, निकै अब्बल जनशक्ति बाहिरिने खतरा बढेको छ।

५. इन्ट्रान्समा अंग्रेजी सोध्नुको कुनै सान्दर्भिकता देख्दिन म र यो परीक्षा पास गर्दैमा मात्र कुनै कर्मचारीले अन्तर्राष्ट्रिय नेगोसिएसन् वा डिलिङ गर्न सक्छ जस्तो लाग्दैन , बरू अन्तरबार्ता पछि एउटा छुट्टै खण्डमा एउटा अंग्रेजीमा कुनै निबन्ध वा अफिसल चिठी लेख्न लगाउने र एउटा अर्को खण्डमा कुनै अन्तर्राष्ट्रिय मुद्दामा प्रस्तुतिकरण गर्न लगाउने,आदि। अंग्रेजी शिक्षणको ईतिहास हेर्ने हो भने 17/18 औ शताब्दी तिर vocabulary & grammar पढाईन्थ्यो र literaray text हरूलाई translate गर्न लगाईन्थ्यो( जसलाई Grammar Translation method भनिन्थ्यो) र यो सीप कुनै कुनै देशले कर्मचारी छनौटमा समेत प्रयोग गर्थे तर उन्नाइसौं शताब्दी देखि अंग्रेजी भाषा शिक्षण र परीक्षणमा निकै परिवर्तन आई व्याकरण भन्दा पनि overall communicative ability गर्न सक्ने गरी भाषा पढाउने र सोही बमोजिम परीक्षण गर्ने परिपाटी छ। त्यसकारण, एक्काइसौं शताब्दीमा काम गर्न सक्ने जनशक्ति छनौट गर्न व्याकरण र शब्दार्थ मात्र छुट्टै सोध्नु एक उपहास हो किनकि हामी 3/400 बर्ष पुरानो पद्धतिको परीक्षा लिएर एक्काइसौं शताब्दीको अन्तर्राष्ट्रिय जगतमा डिलिङ गर्न निकै गार्हो छ, जुन बेलामौकामा देखिएकै छ । बरू कुनै निबन्ध मार्फत सम्पूर्ण व्याकरण र शब्दार्थ automatically परीक्षण गर्न सकिहालिन्छ र अन्य सीप पनि संगै थाहा हुन्छन।

६. इन्ट्रान्समा IQ सोध्नुपर्छ जसले quick decision power, logical reasoning r analytical ability परीक्षण गर्न सहयोग गर्छ, जुन सेवा प्रवाहमा चाहिने सीप हुन। तर, त्रिभुजको सःख्या गन्न लगाउने, कुखुराको खुट्टा गन्न लगाएर वा गणितका हिसाब वा त्यस्तै आकृतिजन्य प्रश्न सोध्नुभन्दा समस्यामूलक प्रश्न सोध्नु पर्छ। हाल सोधिने धेरैजसो IQ गणितको शिक्षक छनौट गर्दा सोध्नु एकदम जायज र सराहानीय छ र बिद्यालय तहमै यस्ता सीपहरू सिकाउन सान्दर्भिक नै छ( जापानमा कक्षा १ मै IQ style मा गणित पढाउछन, जबकि कक्षा १ देखी नै १,२,३,४ सिकाउन शुरूवात गर्छन र 0 to ९ सिकाउन मात्र 2/3 महिना लगाउँछन् तर जब जोड सिकाउन थाल्छन ,अलि analytical way /IQ style मा सिकाउँछन्, कक्षा १ भरी जोड र घटाउ मात्र सिकाउछन तर धेरै खेलसामग्री, गीत, रमाईला क्रियाकलाप, आकृति, अडियो भिडियो द्वारा सिकाउँछन् र मूल्यांकन गर्दा पनि नेपालको जस्तो अंक दिने/ मार्कसिट दिने परीक्षा त हुँदैन तर बच्चा को logical reasoning कस्तो छ, creativity कस्तो छ, गणितिय हिसावलाई दैनिक जीवनमा जोड्न सक्ने क्षमता कस्तो छ , आदि भनेर गणितको मूल्यांकन हुन्छ र ग्रेडिंग गरिन्छ, हाम्रो जस्तो डल्लै अंक कुनै पनि बिषयमा दिइन्न बरू धेरै specific हुन्छ- मेरो निजी अनुभव , त्यसकारण हाम्रो शाखा अधिकृतको IQ को धेरैजसो प्रश्न जापानको 7/8 मा पढ्नेले केही तयारी नगरीकन मिलाउन सक्छ किनकि त्यहाँको गणित पढाउने शैली नै अब्बल छ तथापि केही व्यक्तिगत बिभिन्नता त्यहाँ पनि होलान- कुनै गणितिय तर्कशक्तिमा राम्रो होला कुनै संगीत वा खेलमा हुनसक्छ तर एउटा आधारभूत analytical & reasoning ability प्रायः हरेकमा भएको देखे मेरो अनुभव अनुसार।
तर शाखा अधिकृतलाई त्रिभुज, चतुर्भुज गन्ने सीप कुन ठाउँमा काम लाग्छ? बरू देहाय बमोजिमको सोध्न सकिन्छ: तपाईं अफिसमा काम गर्दा तपाईंको मातहतको कर्मचारीले 7 दिनको बिदा मागे कि उनको आमा सिकिस्त बिरामी छन, तर तपाईंको अफिसमा उनलाई बिदा दियो भने सेवा प्रवाह ठप्प हुन्छ, सेवाग्राहीको line छ, तलका मध्ये कुन बिकल्प सर्बोकृष्ट हुन सक्छ? त्यस्तै , तपाईं काम गर्दागर्दै एक हुल जुलुश आएर बाहिर नाराबाजी गर्दैछन केही माग राखेर तर तपाईंले एउटा महत्वपूर्ण काममा हुनुहुन्छ जून आजै सक्नुपर्नेछ? तलका मध्ये कुन उपाय अपनाउनुहुन्छ? त्यस्तै, सिकिस्त बिरामी बयोबृद्ध र गर्भवती संगै आऊनुभयो, कसलाई पहिले सेवा दिनुहुन्छ?, आदि

७. लोक सेवा आयोगले परीक्षामा पास हुनेको अंक बताउँछ जबकि त्यसको सो सफल हुनेलाई कुनै उपयोग नै छैन , बढुवा उद्देश्यको लागि त अभिलेख भईहाल्छ तर फेल हुनेको लागि भने आफ्नो अंक वा क्षमता जान्नुले निकै महत्व राख्दछ । म के कति कुरामा कमजोर भएर पास हुन सकिन वा मेरिटमा पर्न सकिन? मेरो सबल पक्ष के थियो ? आदि जान्न पाउनु, आफ्नो कापी हेर्न पाउनु फेल हुनेको मानव अधिकार र सूचनाको हक हो तथापि यसका केही सीमा र जानकारी दिन सकिने modality होलान, जस्तै : कुनै फर्म भर्नु पर्ला वा पहिलो चरणमा रिटोटलिङ हुन सक्छ, त्यसले पनि चित्त बुझिएन भने कापी हेर्न पाउने राख्न सकिन्छ र मूख्य कुरा लोकसेवा ले परीक्षा सम्पन्न भईसकेपछि प्रश्नपत्र र objective को हकमा उत्तर र subjective को भरमा केही नमूना/ answer key ( जुन जाँचकीलाई दिइन्छ) वेबसाइट मार्फत सार्वजनिक गर्नुपर्छ। यसले, अर्को पल्ट प्रयास गर्न पृष्ठपोषण दिन्छ र त्यति गरेर पनि पुगेन भने अब यो क्षेत्रमा म सफल हुन सक्दिन किनकि यसको लागी यो किसिमको बिशिष्ट ज्ञान सीप चाहिदो रहेछ भनेर समयमै कुनै बैकल्पिक पेशामा लागेर राम्रै जीवन यापन गर्न सक्छ र यसले बर्षौं सम्म सापटी गरेर, बिहे नगरी , कुनै जागिर नगरी लोकसेवा तयारी गर्ने, र अन्तमा आफ्नो उर्जाशील ( fertile) समय ताल , झर्नाको गहिराइ र लम्बाइ घोक्ने र अन्तमा उमेरले पनि डाँडो काट्ने र नाम ननिस्केपछि frustrate हुने युवावर्गलाई समयमै बैकल्पिक क्षेत्रमा career बनाउन मदत गर्छ।

मैले आफैंले परीक्षा तयारी गर्दा भोगेको अनुभव, अधिकृत भएपछि उक्त तयारीको उपयोग र हिजो भएको शाखा अधिकृतको परीक्षा पछिको बिभिन्न युवावर्गले सामाजिक सञ्जालमा पोखेको नैराश्यतालाई मध्यनजर गरी यो आलेख तयार पारेको हुँ, यो मेरो नितान्त निजी बिचार हो।

निजामती सेवामा कार्यरत लेखक भट्ट हाल, Ritsumeikan University, जापानमा अध्ययनरत JDS Scholar हुनुहुन्छ ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *