२०७७ साउन २९, बिहिबार
Follow Us on:

परिवर्तन गर्न चुकेको परिवर्तन

आत्मराम अकौलिया

अचेल सामाजिक सञ्जाल छ र जोकोहीले निर्भिक रूपमा आफ्ना धारणाहरू प्रवाहित गर्न सक्छन् । २०१५ को निर्वाचनमा नेपाली काँग्रेसले दुइतिहाइ बहुमत प्राप्त गरी जननेता वि।पि।कोइरालाको नेतृत्वमा सरकार बनाएको थियो । उक्त सरकारलाइ अपदस्त गरी पुष १ २०१७ मा राजा महेन्द्रले सत्ता हत्ताए । उक्त दिनको सम्झनामा, नेपाली काँग्रेसले पुष १ लाइ कालो दिनको रूपमा मान्दै आएको छ । हाल शक्ति केन्द्रमा रहेका दलहरूको कारण जनतामा निराशा व्याप्त छ । चरम निराशाको कारण मानिसहरूले अचेल लामो र कष्टकर लडाइँपछि आएको प्रजातन्त्र पछिको अवस्थाभन्दा पञ्चायतकाल नै ठिक थियो भनी विश्लेषण सुनाइरहेका हुन्छन् । यसै सेरोफेरोमा रहेर नेपालमा खास परिवर्तन संस्थागत गरेको प्रत्याभूत किन हुन नसकेको हो भनि चर्चा गर्न चाहन्छु ।

पञ्चायतकाल
पञ्चायतमा उल्का भएको थियो र प्रजातन्त्रमा केही भएन भन्ने चर्चा भएको सुनिन्छ। ३० वर्षको अवधीमा समान वा निम्न अवस्थाका देशहरू विकासको उकाली चढिसक्दा नेपाल कहाँ थियो ? यति कुरा खोजौँ। प्रजातन्त्र पुनःस्थापना हुने बेलामा पञ्चायतले छाडेको गरिब मूलूक थियो नेपाल । पञ्चायतले शासन गरेको अवधी हेर्दा उसले गराएको विकास पर्याप्त छ त ?

पञ्चायतले विकासको मूल फूटाएको भनेर सुनायो, लेखायो र पढायो । मूल मात्र फुटेको विकासको तीस वर्षको अवधीमा खोलो भने बगेन । पञ्चायत लागुभएपछि, देश दौडाहामा निस्केका राजालाई मूलूकमा उल्काको विकास भएको देखाउन तत्कालिन प्रधानमन्त्रीकै गृह जिल्लामा अनेक तिकडम गरिन्थे, जस्तै
१. ढकमक्क फूल फुलेको देखाउन फूलका बोटहरू राजा हिँड्ने बाटो वरपर रातारात गाड्थे ।
२. फलफूल उल्का फलेको छ भन्ने देखाउन फल सहितका रूखहरू बाटाको छेउमा गाडिन्थे ।
३. बाटाको दुरावस्था छोप्न राता कार्पेट हालिन्थे ।
४. ठूलो भिड जम्मा गरिन्थे ताकि राजाको ध्यान अन्त नजाओस् र शासन पद्धति सफल रहेकोमा राजा खुसी रहुन् ।

त्यस बेलाका राजालाइ त यथार्थ लुकाउनेहरूले जनतालाइ यथार्थ देखाएका थिए होला त ? उनीहरूको गराइभन्दा पनि फुकाइ ठूलो भएन होला त ? यी कुराहरू मनन गरौँ ।

भ्रष्टाचार त्यो बेलामा नि उच्च थियो । दरबार र शासकको संरक्षणमा ठूला भ्रष्टाचार काण्डहरू मच्चिए । कसैलाई प्रतिसोधकै कारण भ्रष्टाचारको मुद्दा लगाइएको र धेरैलाइ भ्रस्टहरूलाइ भ्रष्टाचारको आरोपसम्म नलागेको नजिरहरू छन् । राज्यकोष दोहन गर्दै प्रजातन्त्रवादी दबाउन मान्छेहरू (मण्डले) पालिन थालिए । यी कति कुराहरू यसै मेटिएर गएका छन् किनकी त्यो बेलामा अहिलेजस्तो प्रेस स्वतन्त्र थिएन र नेपाली समाज बन्द थियो । राज्यले पैसा खनाएर पञ्चायतको महिमा गान गराउँथ्यो । प्रजातन्त्रवादीलाइ अराष्ट्रीय तत्व भन्दै प्रचार गर्थ्यो । रेडियो नेपाल, गोरखापत्र र पछिल्ला समय नेपाल टेलिभिजनको प्रयोग गरेर पञ्चायतको जयगान गाउने र परिवर्तगामी शक्तिलाइ नराम्रो देखाउने कार्य गरिरह्यो । जनताले पञ्चायतको आवरणमा भएका कयौँ कामहरू अदेखा गर्नुको विकल्प थिएन ।

प्रजातन्त्र पुनर्बहालीपछि
प्रजातन्त्र आएपछि के भयो त ? देशको मुहार सोचेजस्तो फेरियो त ? पञ्चायतले सुव्यवस्था दिनसकेन भनेर प्रजातन्त्रको लागी लड्नेहरूलाइ हो यी प्रश्नहरू । विकृत पञ्चायत उन्मुलन गरेर आएको प्रजातान्त्रिक पद्धति किन पञ्चायत जस्तै विकृत रह्यो त ? व्यवस्था फेर्न तल्लिन सबैले व्यवस्था फेर्न अनेक रणनीति बनाए, मिहिनेत गरे र अन्त्यमा जिते पनि । जितेपछि (प्रजातन्त्र प्राप्त भएपछि) के गर्ने त ? कसरी गर्ने त ? लगायतका कुरामा पर्याप्त ध्यान र तयारी नै थिएन। प्रजातन्त्रको लागि लड्नेले सायद तेति छिट्टै परिवर्तन आउँछ र शासन व्यवस्था आफ्नो तजविजमा चल्छ भनेर सोचेकै थिएनन् । देशको मुहार सोचेजसरी नफेरिनुमा प्रजातन्त्रको बहाली गराउने नेपाली काँग्रेस र तत्कालिन कम्युनिस्ट पार्टीहरू जिम्मेवार छन् ।

कुनैपनि परिवर्तन आउँदैमा व्यवस्था बनिसकेको हुन्न । व्यवस्था बनाउन परिवर्तनलाई संस्थागत गर्नुपर्छ। व्यवस्था संस्थागत हुन सबैलाई परिवर्तनको ट्रयाकमा हिँडाउन सक्नुपर्छ । परिवर्तन ल्याउनेहरूले कयौँ प्रतिरोधहरू खेपे । परिवर्तन आएपछि लडाईँ पूरा भयो भन्ने सोचे । तर परिवर्तनको लडाइँ नेतृत्व गर्नेले परिवर्तन व्यवस्थाको रूपमा संस्थागत हुने अवधीसम्म अनेक प्रतिरोधहरू आउनेछन भनेर सम्झेनन् र कुनै तयारी नै गरेनन् । जस्तो आउँछ सहँदै र भिड्दै जाने अवस्थामा मात्र रहे । हामीसँग ठूलो संख्यामा निजामती कर्मचारी थिए, शिक्षक थिए र समाजमा प्रभाव पार्ने अनेक तप्काका पेशा, व्यवसायी र समूह थिए । उनीहरूलाई परिवर्तनको सहयात्री बनाउने क्रममा परिवर्तन गर्न नसक्दा परिवर्तन गर्न चाहन्छु भन्नेहरू नै परिवर्तन भए । पञ्चायतले सिकाएका विकृतिहरू शिरोपर हुन थाले र थप विकृतिहरू भित्रिन सुरू गरे ।

नेपाली काँग्रेसका कमजोरीहरू
परिवर्तनलाई संस्थागत गर्न रोक्ने अनेक समूह उपसमूह थिए होला तर जिम्मेवार कारक परिवर्तन ल्याउनेहरू नै थिए । तेतिबेलाको नेतृत्वको चरित्रले नेपाल देशको मुहार सोचे जसरी फेरिएन । नेपाली काँग्रेस जसले जनआन्दोलन नेतृत्व गरेको थियो, अन्तरिम सरकार नेतृत्व गर्ने अवसर पनि पाएको थियो । आमनिर्वाचन जितेको नेपाली काँग्रेसले परिवर्तन संस्थागत गर्ने जिम्मेवारी बोधभन्दा नि बढी त आत्मरतिमा रमाउन पुग्यो । नेतृत्वमा रहेका शिर्ष नेताहरूका बिचमा टकरावहरू देखिए र पार्टीभित्र गुटगत चिराहरू देखिए । सरकारलाई विफल बनाउन तत्कालिन प्रतिपक्षीले कुनै कसर बाँकी राखेको थिएन । प्रतिपक्षीलाई उछिनेर दलभित्रैबाट सरकार असफल बनाउने काम भयो ।

यसैको परिणामस्वरूप परिवर्तन संस्थागत भएन, व्यवस्था स्वरूपमा मात्र आयो सारमा पहिलेकै चरित्रहरू रहे । नेपाली काँग्रेसको सरकारले ल्याएको उदारीकरणको नीतिले यथेस्ट फल दिननसक्नुको कारण पनि नेपाली काँग्रेस (सरकार र पार्टी) भित्रकै खिचातानी हो । सांसद किनबेचका तिता घटनाहरू जनताले देख्नुपर्यो । बहुमत प्राप्त आफ्नै दलको सरकार ढाल्न सांसदहरू उपयोग भए । संसदीय बेथितिको सुरूवात र मलजल गर्ने काम नेपाली काँग्रेसका शिर्ष नेताहरूले गर्न थाले ।

नेपाली काँग्रेसले आफ्नै बहुमत प्राप्त कुनैपनि सरकारलाई संस्थागत गर्न सकेन । आफ्नै सरकारलाई संस्थागत गर्न नसक्दा प्रजातन्त्र संस्थागत भएन, परिवर्तन संस्थागत भएन र अन्ततोगत्वा जनताले प्रजातन्त्रसँग आशा राखेको फल प्राप्त गरेनन् । नेपाली काँग्रेसले आफ्नै पार्टीलाई श्रृजनात्मक रूपमा सरकारको सहयोगी बनाउन सकेन । प्रतिपक्षमा रहेकालाई सरकारको राम्रो कामको साझेदार बनाउन सकेन । नेपाली काँग्रेसको असमर्थताको कारणले प्रजातन्त्र जनताको नजरमा विफल रह्यो ।

कम्युनिस्ट पार्टीका कमजोरीहरू
कम्युनिस्ट पार्टीहरूको एउटा कुरा सधैं स्थायी हुन्छ प्रमुख शत्रुको मामिलामा । भनिन्छ राजाको बाहुलीबाट बनेका कम्युनिस्ट र स्वस्फूर्त बनेका दुइथरी कम्युनिस्ट छन । राजाको पालनपोषणमा हुर्किएका कम्युनिस्टको आँखाको तारो नेपाली काँग्रेस सदैव थियो । अर्को कम्युनिस्ट शक्तिले पनि प्रजातन्त्र पुनःस्थापनापछि नेपाली काँग्रेसलाई प्रमुख शत्रु मानेर काँग्रेस र काँग्रेसले नेतृत्व गरेको सरकार विरूद्ध उग्र रूपमा लाग्यो ।

सरकारका विरूद्ध मजदुर, विभिन्न समूहहरू भड्काउने, सडक र सदनबाट उदण्ड रूपमा सरकारको प्रतिरोध र विरोधमात्र गर्ने कार्यहरू भए । उसै त आफ्नै पार्टीभित्रको कलहले घेरिएको सरकार तेसमाथि कम्युनिस्टको कडा प्रतिरोध, १ सरकार मात्र विफल भएन, व्यवस्था सफल रूपमा संस्थागत हुन सकेन । निरन्तरको द्वन्दलाई माथ दिँदै माओवादीले १२ वर्षको शशस्त्र द्वन्द गर्यो जसले गर्दा प्रजातन्त्रको आत्मा कोमामा पुग्यो ।

जनताले निरन्तर दुःख, अव्यवस्था मात्र सहनुपर्यो । तत्कालिन समयमा बनेको ९ महिने कम्युनिस्ट सरकारले सामाजिक सुरक्षाको अवधारणा त अगाडि बढायो तर वितरणमुखी राज्यलाई प्राथमिकता दियो । फलस्वरूप जनता राज्यको ढुकुटीबाट बाँड्नेको हाइहाइमा लागे । ठूला आयोजनाभन्दा जनताको लागि वितरणमुखी कार्य राम्रो लाग्न थाल्यो । ठूलो आयोजना प्राथमिकतामा नपर्दा देशको अर्थतन्त्र बलियो हुन सकेन । र कमजोर अर्थतन्त्रले सबल व्यवस्था धारण गर्नसक्ने पनि भएन ।

अन्त्यमा
तमाम कमजोरीहरू र गलत कार्यहरूले गर्दा सही मानेमा परिवर्तन ल्याउन चुक्यो परिवर्तनले । कर्मचारीतन्त्रमा सुधार हुन सकेन, सरकारी काम गराइमा सुधार आएन । भ्रस्टाचार र बेथितिका कुराहरूले पहाड चढे । पञ्चायतले थुपारेका फोहोरलाइ सफा पार्दै लग्नुको साटो थप फोहोर गरिए ।

सरकारमा रहेका र बाहिर रहेकाहरूले प्रजातन्त्रको मर्ममा पलपल प्रहार गरिरहे । सबैले आफूले मात्र प्राप्त गर्नुपर्ने अपेक्षा राख्दा जनताले प्रजातान्त्रिक सुव्यवस्था चाहेका छन् भन्ने मनन नै गरेनन् । संसदीय प्रजातन्त्र भनेको संसदीय कलह, नेताहरूको लोभी र पापी चरित्र र कार्यशैली हो भन्ने सन्देश मात्र जनतामाझ गइरह्यो । प्रजातन्त्र ल्याउन भिडेर लागेकाहरू, सुव्यवस्था सहितको परिवर्तन ल्यायौँ भन्नेहरू नै आखिरमा अव्यवस्थाको कारक बनेर परिवर्तन भए ।

जनताले आशा मारे । युवा र केही गरौँ भन्ने उमेरका मानिसहरूको लर्को विदेशतिर छ । देश निर्माण गर्न चाहिने श्रम हामी अरूलाइ बेचिरहेछौँ र रेमिटेन्स (विप्रेषण)ले अर्थतन्त्र धानिरहेछौँ । दारूण अवस्थामा पञ्चायतले तीस वर्ष काट्यो, र तेस्तै अवस्थामा प्रजातन्त्रले तीस वर्ष काट्दै छ । सरकार फेरिए, सत्ताका मालिकहरू फेरिए तर चित्र उस्तै छ । हामी विकासको सूचकाङ्कमा पुच्छरबाट अगाडि छौँ । के अब हामी अवस्था फेर्न सक्छौँ त ?

सरकारमा रहेकाहरूले मनन गरून्, हामी प्रतिपक्षमा हुनेले मनन गरौँ, देश निर्माण सहज काम होइन र हामीहरूले प्राप्त गरेको हालको अवसर सामान्य होइन । सरकारमा हुनेले व्यवस्थालाइ सुव्यवस्थित रूपमा संस्थागत गरेको श्रेय लिनसक्छ, हामी प्रतिपक्षमा हुनेले व्यवस्थालाइ सुव्यवस्थित रूपमा संस्थागत गराउन दबाब दिएको र श्रृजनात्मक सहयोग गरेको श्रेय लिनसक्छौँ । हामी प्रतिपक्ष, पञ्चायतबाट गरिब मुलुकको अभिभारा पाएजस्तै अवस्थामा होइन, समृद्ध मुलुकको नेतृत्व पाउन चाहन्छौँ ।

समृद्धीको यात्रामा सरकारलाइ सहयोग गर्न, श्रृजनात्मक प्रतिरोध गर्न अग्रसर रहेका छौँ । सरकारले गलत कामहरू गर्ला, सरकार असफल होला र हामी फेरि जनताको निर्विकल्प छनोटको दल हुनेछौँ भन्ने अभिप्रायमा प्रतिपक्ष दलले हिँड्न छाड्नुपर्छ । आफूले नेतृत्व गर्दा ‘के-के कामहरू कसरी, किन गर्छौँ’ का साथसाथै ‘के-के काम गर्दैनौँ र किन’ भनी स्पष्ट हुनुपर्दछ ।

प्रतिपक्ष भोलिको सरकार चलाउने शक्ति पनि हो । सबैभन्दा प्रमुख कुरा, हामीले प्रजातन्त्रले सुव्यवस्था ल्याउँदैछ, परिवर्तन संस्थागत गर्दैछौँ भनेर सन्देश दिँदै जनतामा आशा भर्नु छ ।

लेखकका नेपाली काँग्रेस धुनिवेशी काठमाडौँ सम्पर्क समिति संयोजक हुन् ।

फेसबुकमा फलो गर्न click here

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *