२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

एम्बेलुन्स चालक र स्वास्थ्यकर्मीले कतै पाउँदैनन् बास, पानीसमेत दिन मान्दैनन्

भोजपुरवैशाख ११ गते हतुवागढी गाउँपालिका ६, होम्ताङका २६ वर्षीय युवकमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छायो। गाउँपालिका सिल गरियो। विशेष सुरक्षाका साथ संक्रमित युवकलाई एम्बुलेन्समार्फत विराटनगरको कोरोना विशेष अस्पताल लगियो। अहिले ती युवा निको भइसकेका छन्।

तर, संक्रमित ती युवकलाई पुर्‍याउने एम्बुलेन्स चालकलाई भने अमानवीय व्यवहारको शिकार हुनुपरेको छ। कोरोना बिरामी बोकेको भन्दै स्थानीयवासीबाटै ‘छि छि र दूरदूर’ को अपमान पाएपछि पिरोलिएका हुन्, एम्बुलेन्स चालक मचिन्द्र राई। बिरामीको उपचार सेवामा दिनरात कच्ची, धुलाम्मे, हिलाम्मे यात्रा नभनी निरन्तर सेवामा समर्पित राई सेवाको नाममा उल्टै अपहेलित भएको उनी गुनासो पोख्छन्। ‘पशुलाई पनि राम्रो व्यवहार गरिन्छ होला, मलाई छैन। कोरोना बिरामी बोक्यो भन्दैमा मलाई कोरोना लाग्छ र ? ’, उनले गुनासो थपे, ‘कसैकोमा एकरात बास बस्न त के पिउने पानीसमेत दिन मान्दैनन्।’ कोरोनाको उपचारमा खट्ने एम्बुलेन्स चालक र प्रभावित क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी अपमान झेल्न बाध्य छन्।

नागरिकको स्वास्थ्योपचारमा दिनरात खटेका बेला गलत मानसिकताको शिकार हुनुपरेको उनीहरू गुनासो गर्छन्। कोरोनाका बिरामी बोकेकै कारण अपमान सहनुपर्ने भएपछि मचिन्द्र गाउँमा बिरामी लिन जाँदा रातभर यात्रा गरेरै भए पनि खान र सुत्न सदरमुकाम नै धाउने गर्छन्। भन्छन्, ‘हेपिनुभन्दा त बरु रातारात आफ्नै कोठामा सुत्न आइन्छ, खाना खाइन्छ।’

बिरामी बोक्दा सम्बन्धित निकायबाट आवश्यक मास्क, पञ्जाजस्ता सामग्री नपाएपछि आफैं खरिद गरेर काम चलाइरहेको गुनासो उनले थपे। स्थानीयवासीले बास नदिएपछि मचिन्द्र १३ घण्टा लगाएर विराटनगरबाट धरानस्थित घर आइपुग्छन्। एम्बुलेन्स चालकसँगै कोरोना प्रभावित क्षेत्रमा काम गर्ने स्वास्थ्य चिकित्सकलाई पनि उत्तिकै पीडा छ। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *