२०७७ असार २६, शुक्रबार
Follow Us on:

दार्चुलामा माघीको रौनक शुरु

ललित सामन्त
दार्चुला : माघी अर्थात नरहरी पर्वको चहलपहल सुदूरपश्चिमका गाउँघरमा बढेको छ । स्थानीय भाषामा ’नरहरी’ भनिने यस चाड माघे संक्रान्ति भनेर पनि भन्ने गरिन्छ । नर भनेको मानिस हरी भगवानमा लिन हुनु अथवा उपासाना गर्ने महिनाको शुरुवात भएकाले माघे संक्रान्तिलाई नरहरी भनिएको बताइएको छ।

सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे संक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकार खुवाउने चलन रहेको छ। हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ। उक्त खानेकुरा माघे संक्रान्तिका दिन बिहानै नुहाई धुवाई गरी ‘का कौवा का का मेरो रोटी खा’ ’का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन रहेको छ।

धर्मशास्त्रमा अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जीवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन्। त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको पण्डित राम प्रसाद पन्तले बताउनुभयो । माघ महिना धार्मिक महिना भएकाले माछा मासु पनि खानु हुँदैन भन्ने पुस्तौदेखि चलिआएको प्रचलन रहेको पण्डित पन्तको भनाइ रहेको छ।

पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन भएकाले यसलाई पुसको पाक्य माघको खाक्य पनि भन्ने गरिएको छ। सुदूरपश्चिमेलीहरूले मनाउँदै आएका मौलिक चाड पर्वहरू मध्येको एक चाड माघे संक्रान्ति अर्थात पुसे तिहारका लागि कामको सिलसिलामा घरबाहिर रहेका मानिसहरू घर फर्किने गर्दछन् भने बिबाहित महिलाहरू माइती घर जाने गर्दछन्। पुसे तिहार अर्थात माघे संक्रान्तिलाई आफन्त एवं इष्टमित्रहरूसँग भेटघाट गर्ने पर्वको रूपमा लिइने गरिएको छ । पुस्तौदेखि मनाइदै आएको पुसे तिहारकोे महत्व सुदूरपश्चिममा अझै उत्तिकै रहेको पाइन्छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *