२०७७ असार १८, बिहिबार
Follow Us on:

ब्राजिलमा कोरोनाबाट दैनिक मृत्यु र संक्रमण हुनेको संख्या अमेरिकाको भन्दा बढी !

काठमाडौं: कोरोना भाइरस (कोभिड– १९) महामारीको नयाँ केन्द्र बन्दै गएको दक्षिण अमेरिकी मुलुक ब्राजिलमा पछिल्लाे समय संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् ।

मंगलबार ब्राजिलमा एकै दिन २७ हजार २६३ जनामा संक्रमण पुष्टि भएकाे छ भने काेराेना भाइरसकै कारण मंगलबार एक दिनमा १ हजार २३२ जनाकाे ज्यान गइसकेकाे छ । अहिले ब्राजिल दैनिक नयाँ संक्रमित थपिनेमा मात्र नभएर दैनिक मृत्यु संख्यामा पनि विश्वकै पहिलाे स्थानमा देखिएकाे छ ।

गत हप्ता संयुक्त राज्य अमेरिकाकाे भन्दा पनि बढी नयाँ संक्रमितहरू ब्राजिलमा देखिएका थिए, याे निरन्तर चलिरहेकाे छ ।

कुल कोरोना संक्रमित देशको लहरमा दोस्रो स्थानमा रहेको ब्राजिलमा बुधबार बिहानसम्म जम्मा संक्रमित संख्या ५ लाख ५६ हजार ६६८ पुगेकाे छ । त्यहाँ अहिलेसम्म काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३१ हजार २७८ पुगेकाे छ ।

उता विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण र मृत्युका केसहरु रहेकाे संयुक्त राज्य अमेरिकामा दैनिक मृतक संख्या अहिले पनि १ हजार हाराहारी नै छ । मंगलबार त्यहाँ भाइरस संक्रमणका कारण १ हजार १३४ जनाकाे मृत्यु भएकाे छ भने २१ हजार ८८२ नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा कुल संक्रमित संख्या १८ लाख ८१ हजार नाघेकाे छ ।

याे समाचार तयार पार्दासम्म अमेरिकामा १८ लाख ८१ हजार २०५ जनामा कोरोना संक्रमण फैलिसकेको छ । त्यहाँ अहिलेसम्म १ लाख हजार ८ हजार ५९ जनाले यस भाइरसकाे संक्रमणबाट ज्यान गुमाइसकेका छन् । तर ६ लाख ४५ हजारभन्दा बढी निकाे समेत भइसकेका छन् । हाल त्यहाँ ११ लाख २७ हजारबढी मानिसमा भाइरस सक्रिय छ ।

यद्यपि ब्राजिलमा कुल संक्रमितमध्ये २ लाख ४० हजारभन्दा बढी मानिसचाहिँ निको भइसकेका छन् । त्यहाँ हाल २ लाख ८४ हजारभन्दा बढी मानिसमा कोरोना भाइरस सक्रिय छ । ब्राजिलमा निकाे हुने दर अमेरिकाकाे भन्दा बढी छ ।

काेराेना संक्रमणका हिसाबले ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा रहे पनि मृत्युका हिसाबले भने अमेरिकापछि बेलायत दोस्रो स्थानमा छ । बेलायतमा अहिलेसम्म कोरोनाका कारण ३९ हजार ३६९ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ कुल संक्रमित संख्या २ लाख ७७ हजार ९८५ पुगेकाे छ ।

काेराेना संक्रमणकाे लहरमा स्पेन बेलायतभन्दा अगाडि छ । त्यहा अहिलेसम्म कुल संक्रमित संख्या २ लाख ८७ हजार १२ रहेकाे छ । यद्यपि पछिल्ला दिनहरूमा त्यहाँ नयाँ संक्रमणका केस न्यून हुँदै गएका छन् । मंगलबार भने दैनिक मृत्यु संख्या शून्यमा झरेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । मे २६ यता स्पेनमा नयाँ मृत्युका घटना नदेखिएकाे बताइएकाे छ ।

उता रूस कुल संक्रमणका हिसाबले तेस्राे लहरमा रहे पनि त्यहाँ मृत्युदर भने न्यून छ । रूसमा हालसम्म ४ लाख २३ हजारभन्दा बढी मानिस संक्रमित भए पनि जम्मा ५ हजार ३७ जनाले मात्र ज्यान गुमाएका छन् । त्यहाँ मंगलबार ८ हजार ८६३ संक्रमित थपिएका छन् भने १८२ जनाकाे मृत्यु भएकाे छ ।

यसैगरी विगत केही साताअघिसम्म महामारीबाट ग्रसित इटलीमा पनि अहिले दैनिक मृत्यु र संक्रमणका घटनामा उल्लेख्य कमी अाएकाे छ । मंगलबार इटलीमा ५५ जनाकाे ज्यान गएकाे छ भने ३१८ नयाँ संक्रमित थपिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *