२०७७ जेष्ठ २३, शुक्रबार
Follow Us on:

‘मेरी श्रीमतीले मलाई १० वर्षसम्म बलात्कार गरिन्’

एजेन्सी: साधारणतया घरेलु हिंसाका पीडित धेरैजसो महिला नै हुन्छन् । संयुक्त राष्ट्रको आँकडा अनुसार संसारको एक तिहाई महिला र किशोरी आफ्नो जीवनमा कुनै न कुनै बेला घरेलु वा यौन हिंसाको शिकार हुने गर्छन् ।

पुरुषमाथि हुने घरेलु हिंसाका घटना कमै सार्वजनिक हुन्छन् र यसबारे कमै चर्चा हुने गर्छ ।

यो विषयलाई धेरैजसो स्थानमा भेदभावयुक्त नजरले हेरिन्छ र अधिकांश पीडितले यो संघर्ष एक्लै सामना गर्नुपर्छ ।

 युक्रेनका एक यस्तै युवकले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा आफ्नो कहानी सुनाएका छन् ।

उनले बीबीसीसँगको कुराकानी यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

बाहिरबाट निकै सुन्दर देखिन्थ्यो तर…

मलाई थाहा छैन कि मेरा साथीहरुले कहिले यसबारे शंका गरे वा गरेनन् । बाहिरबाट हेर्दा निकै राम्रो देखिन्थ्यो । मुस्कुराएको अनुहार, साथी, अत्यधिक पैसा र आत्मविश्वास । हामीले सँग–सँगै आधा संसार घुम्यौं ।

जब हामी सँगै यात्रामा निस्कन्थ्यौं तब मलाई डर लाग्दैनथ्यो । उनले अरुको अगाडि मलाई चोट पुर्याउने आँट गर्दिनथिन् । सबैभन्दा महत्वपूर्ण थियो, एक्लै हुँदा उनीबाट बच्नु ।

मलाई हालै महसुस भइरहेको छ कि मेरी पूर्व श्रीमतीले पछिल्लो १० वर्षदेखि मेरो बलात्कार गरिरहेकी थिइन् ।

इरा मेरो जीवनमा आएकी पहिलो महिला थिइन् । जब हामी भेट्यौं, हामी करिब २० वर्षका थियौं । उनले नै मलाई प्रस्ताव राखेकी थिइन् ।

मेरा आमाबुवाले यदि मैले कसैलाई डेट गरिरहेको छु भने मैले तुरुन्त घर छोड्नुपर्ने बताउनुभयो । अर्को शब्दमा भन्ने हो भने सम्बन्ध सुरु गर्नुको अर्थ आफ्नो परिवार र आफ्नो टाउकोमाथिको छतलगायतको सबैकुरा छोड्नु थियो । एकदिन भित्र मैले सबैकुरा गुमाउनुपर्यो ।

यो डरलाग्दो थियो, तसर्थ जब मसँग छुट्टै बस्नका लागि पर्याप्त पैसा भयो तब यो सम्बन्ध सुरु गरेँ ।

पीडादायी यौनसम्बन्धः

सबैभन्दा ठूलो कुरा के भने मेरी आमा मेरो अनुहार र चालढालका लागि लज्जित महसुस गर्नुहुन्थ्यो त्यसकारण ममा आत्मसम्मानको निकै कमी थियो ।

मैले यौनसम्बन्ध स्थापित गर्ने पहिलो कोसिस इरासँगै गरेँ । त्यतिबेला म यौनसम्बन्ध स्थापित गर्न चाहन्थेँ । यद्यपि, हामीबीचको यौनसम्बन्ध सामान्य थिएन । यो पीडादायी र आक्रामक हुने गर्दथ्यो । हाम्रो पहिलो यौनसम्बन्ध लगभग पाँच घण्टासम्म भयो, त्यसपछिका यौनसम्बन्ध निकै पीडादायी भए ।

हामीबीचको यौनसम्बन्ध एक–दुई घण्टासम्म हुन्थ्यो । यौनसम्बन्ध हुँदा तपाईंले रोमाञ्चक महसुस गर्नुपर्छ तर मेरो कहिले पनि त्यस्तो भएन । मलाई यसअघि यौनसम्बन्ध केही अनुभव पनि थिएन । मलाई लाग्थ्यो यौनसम्बन्ध यस्तै हुन्छ तसर्थ यसका लागि आफ्नो सहमती दिने गर्दथेँ ।

तर एकदिन मैले ‘नाईं’ भने । तर उनी रोकिइनन् । त्यतिबेला यो बलात्कारमा परिवर्तन भयो ।

‘म फसिसकेको थिएँ…’

मलाई एउटा लामो व्यापारिक यात्राका लागि विदेश जानु थियो । इरालाई गुमाउँछु कि भन्ने डर लाग्थ्यो । त्यसकारण मैले उसलाई सँगै जान भनेँ । मैले उनलाई विवाहको प्रस्तावसमेत गरेँ । उनले विवाह गर्न अस्विकार गरिन् तर मसँग जान भने तयार भइन् । त्यसपछि यहाँबाट सुरु भयो उत्पीडन ।

अबेरसम्म काम गरेपछि म निकै थाकेको हुन्थेँ । म आराम गर्न चाहन्थेँ तर उनी यौनसम्बन्ध चाहन्थिन् । उनी भन्थिन्, ‘म निकै लामो समयदेखि प्रतिक्षा गरिरहेकी छु । तिमी तयार हुनैपर्छ ।’

मैले अस्विकार गर्दा उनी ममाथि कुटपिट गर्ने गर्थिन् त्यसपछि म विवश हुन्थेँ । उनी मलाई आफ्नो नङले चोट पुर्याउँथिन्, मलाई मुक्का हान्थिन् । उनी यस्तो स्थानमा चोट पुर्याउँथिन् जुन लुगाले छोपिन्थ्यो जस्तै छाती, पिठ्यूँ, हात, खुट्टा । अनुहारतिर चोट लाग्दैनथ्यो ।

मैले कहिले पनि उनीमाथि हात उठाइनँ किनभने मलाई महिलामाथि हात उठाउनु ठूलो गल्ती हो भन्ने शिक्षासहित हुर्काइएको हो । मैले आफूले आफैंलाई निकै सानो र कमजोर महसुस गर्न थालेको थिएँ । मसँग त्यो स्थितीबाट बच्ने कुनै तरिका थिएन ।

मैले होटलमा छुट्टै कोठा लिने कोसिस गरेँ तर त्यस्तो हुन सकेन ।

मलाई कामपछि होटल फर्कन डर लाग्थ्यो त्यसकारण म पसल बन्द नहुञ्जेल मलमा घुम्ने गर्दथेँ । बजार बन्द भएपछि म पूरा शहर घुम्थेँ । चिसो मौसम थियो र मैले आफूसँग पर्याप्त न्यानो लुगा पनि लगेको थिइनँ । मलाई ज्वरो आयो र संक्रमण पनि भयो । तर इरालाई यसले कुनै फरक पारेन । उनले त्यहि गरिन्, जुन उनी चाहिन्थन् ।

सबैभन्दा खराब स्थिती त सप्ताहन्तमा हुन्थ्यो । शनिबार रातीदेखि आइतबार बिहानसम्म यातना चलिरहन्थ्यो । म युक्रेन फर्कने दिनको गन्ती गर्दथेँ । मैले इरासँगको सम्बन्ध तोड्ने निश्चित गरेको थियो तर म गलत थिएँ ।

मैले कोसिस गरेँ तर…

म आफ्नो आमा–बुवा भए ठाउँ फर्किएँ । म इरासँग सँगै बस्नु त परको कुरा उनलाई सम्पर्क समेत नगर्ने सोचमा थिएँ । मैले आफ्नो फोन स्विच अफ गरिदिएँ र उनलाई हरेक स्थानमा ब्लक गरिदिएँ ।

म आफ्नो घरमा लुकेर बस्थेँ तर उनी मेरो घरमा आएर बन्द ढोका नजिकै बस्ने गर्थिन् । उनले मलाई अब सबैकुरा ठिक हुने सान्त्वना दिन्थिन् । अन्त्यमा एक्लो हुने डरले म उनी भएठाउँ फिर्ता भएँ ।

यसपटक उनले विवाह गर्न दबाब दिइन् । म यस्तो होस् भन्ने चाहदैन थिएँ तर पनि हामीले विवाह गर्यौं ।

इरालाई सबैसँग समस्या थियो । मेरो साथीभाइ, परिवारका सदस्य, सबैसँग । म जहाँसुकै भएपछि मैले उनको फोन जसरी पनि उठाउनुपर्दथ्यो । उनी अचम्मको प्रश्न सोध्थिन्, जस्तैः तिमी त्यो कन्फरेन्समा किन जान्छौ ? तिमी ती साथीहरुलाई किन भेट्छौ ? म हरेक पटक उनीसँगै बस्नुपर्दथ्यो । म उनको लागि कुनै खेलौना झैं थिएँ जो हरेक समय उनको मन बहकाउन बाध्य थिएँ ।

इराको जागिर थिएन । म जागिर गर्थेँ, खाना बनाउँथे र सर–सफाई गर्दथेँ । हामीले एउटा ठूलो अपार्टमेन्ट भाडामा लिएका थियौं जसमा दुईवटा बाथरुम थिए । तर मैले पाहुनाका लागि बनाइएको बाथरुम प्रयोग गर्नुपर्दथ्यो । उनले प्रयोग गरेको बाथरुममा म जान पाउँदिनथेँ ।

प्रत्येक दिन मैले १० बजेसम्म उनी उठ्ने प्रतिक्षा गर्नुपर्दथ्यो, उनको निद्रा केही गरी भंग हुनु हुँदैनथ्यो । हामी छुट्टा–छुट्टै कोठामा सुत्ने उनले निश्चित गरेकी थिइन् तर मैले कोठामा चुकुल लगाउन पाउँदिनथेँ । म कहिले पनि एक्लो हुन पाउँदिनथेँ ।

जब म कुनै गल्ती गर्दथेँ तब उनी ममाथि चिच्याउँथिन् र मलाई कुट्ने गर्थिन् । यस्तो लगभग हरेक दिन हुन्थ्यो ।

जे जति हुन्थे, त्यसमा सबै मेरै दोष हुन्थ्यो । उनलाई कस्तो पुरुष चाहिन्छ र मैले के गर्नुपर्छ भनेर मलाई सुनाइरहन्थिन् । म कमजोर थिएँ । उनले जे भनेपछि म गर्दथेँ किनभने म उनको रिस झेल्न चाहन्नथेँ ।

म तल गएर कारभित्र बसेर रुने गर्दथेँ । उनी मेरो पछिपछि आएर मलाई रोइरहेको देख्थिन् । जब म फिर्ता हुन्थेँ तब उनले उनी मेरो लागि निकै दुःखी भएको तर आफूलाई रोक्न नै नसक्ने बताउने गर्थिन् ।

मैले जतिसुकै खराब महसुस गरेपनि, यो यातना रोकिदैनथ्यो । म पनि परफेक्ट थिइनँ । यी सबैबाट बच्नका लागि म दैनिक १०–१२, यहाँसम्म कि १४ घण्टासम्म काम गर्न थालेको थिएँ । म विकेन्ड र छुट्टीमा पनि काम गर्दथेँ । यसो गर्न सजिलो लाग्थ्यो । केही मानिसहरु समस्यामा हुँदा रक्सी पिउँछन्, कोही काम गर्छन् ।

‘सेक्स शब्दसँगै डर लाग्न थाल्यो’

सुरुको तीन वर्षसम्म त मलाई सेक्स मनपर्दैनथ्यो तर त्यसपछि त मलाई यसको नाम सुनेर नै प्यानिक अट्याक हुन थाल्यो । त्यसपछि जब इरा ममाथि जबर्जस्ती गर्ने कोसिस गर्थिन, तब म उनलाई धक्का दिएर भाग्ने गर्दथेँ र कतै लुक्ने गर्दथेँ ।

इरालाई लाग्थ्यो कि हाम्रो यौनसम्बन्ध मेरा कारण खराब भइरहेको छ । उनले कतिपटक त मलाई सेक्सोलोजिस्टकोमा लिएर गइन् । म सेक्सोलोजिस्टको अगाडि पनि बलात्कार र उत्पीडनको कुरा गर्न सक्दिनथेँ । तसर्थ अन्त्यमा सबै दोष मेरो टाउको आउँथ्यो ।

मैले आफ्नो सम्बन्धविच्छेद हुनु केही वर्ष अघि मात्रै आफ्नो उत्पीडनबारे बोल्न सकेको हुँ ।

मैले कसरी मद्दत पाएँ ?

त्यो शरद ऋतुको मौसम थियो, म ब्रोन्काइटिस र उच्च ज्वरोका कारण थलिएको थिएँ । त्यतिबेला मेरो हेरविचार गर्ने कोही पनि थिएन । त्यो समयमा मलाई महसुस भयो कि मेरी श्रीमतीलाई यस्ता कुराले केही असर पार्दैनँ र म मरेपनि कसैको ध्यान मप्रति केन्द्रित हुनेछैन ।

म डर र घिनले भरिएको थिएँ । एकपटक म आफ्नो आमा–बुवालाई यसबारे भन्न उनको घर पनि गएँ तर त्यतिबेला उहाँहरु हुनुहुन्थेन । म एकपटक पुनः एक्लो भएँ ।

त्यसपछि एक दिन इन्टरनेटमा काम गरिरहेका बेला एउटा विज्ञापनयुक्त विन्डोमा एउटा च्याट पप अप भयो । मैले त्यहाँ कुराकानी सुरु गरेँ । त्यहाँ सबैकुरा गोप्य थियो । पहिलो पटक मैले आफ्नो जीवनबारे सबैकुरा त्यहाँ गरेँ । यद्यपि, म त्यतिबेला पनि आफू उत्पीडनमा परेको कुरा स्विकार गर्न सकिरहेको थिइनँ यद्यपि मैले लगातार ‘नाई’ भन्न थालिसकेको थिएँ ।

सुरुमा मैले स–सानो कुरामा नाई भनेँ त्यसपछि आवश्यक कुराका लागि । अन्त्यमा मैले एक थृेरापिस्ट भेटेँ जसले मेरो मद्दत गरे ।

थेरापी सेशनमा मैले र इरा, दुबैले कुरा गर्नुपर्दथ्यो र जब म बोलिरहेको हुन्थेँ, त्यतिबेला उनले मलाई केही भन्न पाउँदिनथिन् । उक्त सेशनमा मैले पहिलो पटक आफ्नो उत्पीडनबारे भनेँ ।

इरा मेरो कुरा सुनेर अत्यधिक रिसाइन्, उनले ममाथि चिच्याउँदै मेरो कुरा झुटो भएको बताइन् । यद्यपि, त्यसपछि उनले सम्बन्धविच्छेदको कुरा गरिन् । मलाई लाग्दैन कि उनले साँच्चै सम्बन्धविच्छेद चाहन्थिन् । सायद उनले मलाई चुप गराउनका लागि यस्तो भनेकी होलिन् । तर मैले तुरुन्त हुन्छ भनिदिएँ ।

आखिर एक महिनापपछ मैले सम्बन्धविच्छेदको कागजात पाएँ । त्यो मेरो जीवनको सबैभन्दा खुसीको दिन थियो ।

सम्बन्धविच्छेदको एकदिनपछि मैले उनीमाथि चिच्याउँदै भने, ‘तैंले मेरो बलात्कार गरिरहेकी थिइस् !’ उनले भनिन्, ‘मैले तिमीलाई बलात्कार गरिरहेकी थिएँ, त्यसो भए के भयो त ?’ उसलाई त्यसपछि केही भन्नै आएन । एक तरिकाले उनले आफ्नो व्यवहार स्विकार गरिन् तर पनि ऊ हाँसिरहेकी थिइन् ।

म आफ्नो आमा–बुवा भएठाउँ गएँ । मैले आफ्नो जागिर छोडिदिएँ र केही हप्ताका लागि घरमा नै बसेँ । एक दिन उनी मेरो घरमा आएर ढोका ढक्ढकाउन थालिन् र चिच्याउन थालिन् । मेरी आमा उनी चिच्याएको देखेर डराउनुभयो । म मनमनै मुस्कुराएँ । मैले सोचेँ, ‘आमा, तपाईंले कल्पना पनि गर्न सक्नुहुन्नँ मैले के कति झलेको छु…’

यो सबैले तपाईंको ज्यान लिन सक्थ्यो…

मैले न त उनीविरुद्ध कुनै प्रमाण जम्मा गरेँ न नै कसैलाई यसबारे बताएँ ।

म केही सपोर्ट ग्रुपको खोजीमा थिएँ तर युक्रेनमा महिलाका लागि मात्रै सपोर्ट ग्रुप छ । अन्त्यमा मैले सानफ्रान्सिस्कोको एउटा अनलाइन सपोर्ट ग्रुप पाएँ, जसले पुरुषका लागि काम गर्दथ्यो ।

मैले युक्रेनमा सुरुमा जुन थेरापिस्टलाई भेटेको थिएँ, उनले मेरो खिल्ली उडाएका थिए । उनले भनेका थिए, ‘यस्तो हुँदैन, तिमी पुरुष हौ, ऊ महिला हो ।’ मैले ६ जना थेरापिस्ट परिवर्तन गरेँ त्यसपछि मात्रै सही मद्दत पाएँ । मलाई कसैमाथि विश्वास गर्न ८ महिना लाग्यो ।

मैले उनीविरुद्ध मुद्दा दर्ता गर्नेबारे पनि सोचेको थिएँ तर अब म यस्तो गर्न चाहन्नँ । लामो समयसम्म मैले यो चाहेँ कि उनले जे जति गरिन् त्यो सबै स्विकार गरेर माफी मागोस् ।

म अहिले पनि काममा जादिनँ र मेरा लागि दैनिक बिहान बेड छोड्नु पनि मुश्किल हुन्छ । मसँग बाँच्नका लागि केही पनि छैन । मलाई थाहा छैन कि यत्तिका वर्षसम्म म के गरिरहेको थिएँ ?

मलाई थाहा छ कि अब न त मेरो कसैसँग सम्बन्ध हुनेछ न बच्चा । मैले आशा मारिसकेको छु । तर मैले यति लामो समयसम्म चुप बस्नु भने हुँदैनथ्यो ।

यदि कोही पुरुषले यो पढिरहेको छ भने उसले यो बुझ्नुपर्छ कि यसले तपाईंको ज्यान पनि लिनसक्छ । यदि तपाईंले यो बुझ्नुभएको छ कि तपाईंसँग आफूलाई बचाउने मौका छ ।

स्रोतः बीबीसी

-साङ्केतिक तस्बिर

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *