२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

रक्सी नखाए पनि सधैं मापसे

अमेरिकाको नर्थ क्यारोलिना राज्यमा एक पुरूष मापसे सेवन अभियोगमा पक्राउ परे। उनले बारम्बार आफूले मदिरा सेवन नगरेको बताइरहे। प्रहरीले उनीमाथि शंका गरिरहे। उनले पनि आफ्नो कुरामा अड्डि कसे। 

मापसे परीक्षण गर्न नमानेपछि उनी थप शंकाको घेरामा परे। प्रहरीले उनलाई पछि अस्पतालै पुर्‍यायो। जब अस्पतालमा परीक्षणको नतिजा आयो, त्यसले सबै तीन छक!

रगत जाँचपछि उनको शरीरमा ०.२ प्रतिशत‌ मदिराको मात्रा भएको पाइयो। यो भनेको त्यहाँको कानुनले तोकेभन्दा २.५ प्रतिशत बढी हो।

अझ अचम्म त त्यहाँ भयो, जब रिपोर्टै आउँदा पनि ती व्यक्तिले आफूले मदिरा नखाएको दाबी गरिरहे। डाक्टरहरू मान्न तयार थिएनन्।

तर रिचमण्ड विश्वविद्यालय मेडिकल सेन्टरका अन्वेषकहरूले ती व्यक्तिको भनाइ साँचो भएको पुष्टि गरिदिए। शरीरमा मदिरा देखिएको तर नखाएको कसरी हुन्छ भन्नुहोला?

मेडिकल सेन्टरले पत्ता लगाएअनुसार ती व्यक्तिको शरीरले आफैं मदिरा बनाउँछ। अर्थात् उनले खाएका खानामा भएको कार्बोहाइड्रेटलाई शरीरमा भएको ढुसी (यिस्ट)ले मदिरा बनाइदिने रहेछ। सामान्य भाषामा भन्दा, उनको शरीरमा रक्सी बन्थ्यो।

यस प्रकारको मेडिकल समस्यालाई चिकित्सकहरू अटो–ब्रिअरी सिन्ड्रोम भन्छन्। यसलाई ‘गट फर्मेन्टेसन सिन्ड्रोम’ भनेर पनि चिनिन्छ। यो प्रक्रिया ‘ग्यास्ट्रोइन्टेस्टाइनल ट्रयाक’को माथिल्लो भागमा हुन्छ, जसमा पेट र सानो आन्द्रा पनि समावेश हुन्छ।

बर्मिङहामको अलाबामा विश्वविद्यालयमा अध्ययन गर्ने आन्तरिक मेडिसिनका प्रमुख फहद मलिकका अनुसार अटो–ब्रिअरी सिन्ड्रोम भएकामा देखिने लक्षण सामान्य मानिसले मदिरा सेवन गर्दा देखिने जस्तै हुन्छ।

‘यो समस्या भएकाको सास, गन्ध, चाल लगायत सामान्य मानिसले मादिरा सेवन गर्दा जस्तो हुन्छ, त्यस्तै हुन्छ,’ उनले भनेका छन्, ‘उनीहरूको उपचार यिस्ट हटाउने औषधिद्वारा गर्न सकिन्छ।’

Image result for auto brewery syndrome

४० वर्षीय ती व्यक्तिको अवस्था कसरी यस्तो भयो त?

केही वर्षअघि उनको औंलामा चोट लागेको रहेछ। यसका लागि उनलाई एन्टिबायोटिक्स खुवाइएको थियो। पूरा मात्रा औषधि खाएपछि उनको स्वाभाव र दिनचर्या फेरियो। उनमा डिप्रेसन र स्मरण हराउँदै जाने जस्ता लक्षण देखिन थाले। 

यसको तीन वर्षपछि उनी मादक पदार्थ सेवन गरेको भनी गिरफ्तार भए। उनकी काकीलाई यसबारे चिन्ता लाग्यो। मापसे मापन गर्ने मेसिन ल्याएर रेकर्ड राख्न थालिन्। यस्तै समस्या भएका एक जनाको ओहियोका डाक्टरले सफल उपचार गरेको उनले सुनेकी थिइन्। 

ओहियोका डाक्टरले उनको परीक्षण गरे। शरीरमा खास समस्या नदेखिए पनि दिसामा भने दुई खाले यिस्ट देखियो। यसमा एकखाले त्यही यिस्ट हो जुन बियर तथ वाइन बनाउन प्रयोग हुन्छ। अर्को चाहिँ सामान्य थियो।

परीक्षणपछि उनलाई धेरै कार्बोहाइड्रेट भएका खाना प्रतिबन्ध लगाइयो। उनको अवस्था सुधारिँदै पनि गयो। तर केही सातापछि लक्षण फेरि देखा परे। डाक्टरले अनेकौं गरे पनि उनको यो समस्याको उपचार हुन सकेन। 

उनी एकदमै अस्वस्थ हुँदै गएपछि उनको दिमागमा आन्तरिक रक्तस्राव भयो। अस्पताल भर्ना हुँदा उनको शरीरमा ५० देखि ४० मिलिग्राम मदिरा देखिएको थियो। उनले मदिरा पिएका छैनन् भन्ने कुरा कसैले विश्वास गरेका थिएनन्। अन्ततः दस दिनमा उनको दिमागको समस्या कम भयो। 

यसरी बारम्बार समस्यासँग जुध्दै आएका उनले अन्ततः अनलाइनमार्फत् सहयोग लिए र रिचमण्ड विश्वविद्यालय मेडिकल सेन्टरका अनुसन्धानकर्तासँग सम्पर्क भयो। सेन्टरका अनुसार ती व्यक्तिले केही वर्षअघि लिएका एन्टिबायोटिक्सकै कारण उनको पेटमा रासायनिक परिवर्तन भएको हो। औषधिका कारण यिस्ट बढेको र उनी अटो–ब्रिअरी सिन्ड्रोमको शिकार भएको सेन्टरको भनाइ छ। 

यसपछि उनलाई यिस्ट हटाउने औषधि र कार्बोहाइड्रेट कम भएका खानेकुरा मात्र खान सुझाइँदै आएको हो। तर बेला बेला उनले डाक्टरलाई नभनी पिज्जा पनि खान्छन् रे। र, यसले समस्या निम्त्याएको छैन।

सामान्य खाना खान सक्ने भए पनि उनको शरीर र सासको मापसे जाँच भने समयसमयमा हुने गरेको छ।

अटो–ब्रिअरी सिन्ड्रोम निकै कम देखिने समस्या हो। केही समयअघि त यो मिथ्या हो भन्ने पनि थिए। यसबारे निकै कम अध्ययन गरिएको छ र समस्या समाधान पनि विरलै हो। 

यो समस्यालाई कहिले भिटामिनको कमी त कहिले पेटका अरू समस्याका रूपमा बुझिँदै आएको थियो। जापानमा सन् १९७० दशकमा यो समस्या एकैपटक ३० जनामा देखिएको थियो भने अमेरिकामा १० वर्षअघि मात्र यसबारे रिपोर्ट भएको थियो।

हाल यो समस्या पहिचान भइसकेको छ। तर, व्यक्तिमा यसको पहिचान भने कमै हुन्छ। 

रिचमण्ड विश्वविद्यालय मेडिकल सेन्टरका अध्येताहरूका अनुसार अब डाक्टरहरूले पनि यस्तो अवस्थाका लागि बढी ध्यान दिनुपर्छ। खासगरी तब, जब बिरामीले कुनै मादक पदार्थ सेवन गरेको स्वीकार्दैनन् तर उनीहरूको रगतमा रक्सीको मात्रा देखिन्छ। (सिएनएनको सहयोगमा)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *