२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

दार्चुला जिल्ला अस्पतालमा डिजिटल एक्सरे मेशिनबाट सेवा शुरु, कर्मचारीको अभाव कायमै

ललित सामन्त
दार्चुला: जिल्ला अस्पताल दार्चुलामा डिजिटल एक्सरे मेशिनबाट बिरामीलाई सेवा दिन थालिएको छ । अस्पतालमा भएको सामान्य एक्सरे मेशिन पनि बिग्रिएको र बिरामीलाई एक्सरे सेवा लिन कठिन भइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारले लाखाँै मूल्य पर्ने उक्त डिजिटल एक्सरे मेशिन दार्चुला अस्पतालमा पठाएपछि अहिले उक्त मेशिनबाट सेवा दिन थालिएको होे ।

उक्त डिजिटल एक्सरे मेशिनका सम्पूर्ण सरसामान तथा पार्टपुर्जा जडान गरी दैनिक रुपमा सेवा सञ्चालन भएको जिल्ला अस्पतालका डाक्टर गजेन्द्र बुवालले बताउनुभयो । उहाँले भन्नुभयो, “डिजिटल एक्सरे मेशिन ल्याएर हामीले बिरामीलाई सेवा दिन शुरु गरेका छौँ, उक्त सेवाबाट सबै सन्तुष्ट भएका छन् ।”जिल्ला अस्पतालमा यसअघि एक्सरे मेशिन बिग्रिएका कारण स्थानीयवासी सामान्य एक्सरे गर्न छिमेकी राष्ट्र भारतका विभिन्न ठाउँमा गएर महंँगो पैसा खर्च गरेर सेवा लिन बाध्य थिए । अस्पतालमा डिजिटल एक्सरे मेशिन आएपछि स्थानीयवासी निकै खुशी भएको पनि डाक्टर दुवालले जानकारी दिनु भएको छ । यस्तै जिल्ला अस्पतालमा एकपछि अर्को सेवा थपिँदै आए पनि अस्पतालमा भने सरकारी दरबन्दीअनुसारका चिकित्सक नहुँदा बिरामीलाई समस्या हुने गरेको छ ।

जिल्ला अस्पताल दार्चुलामा झण्डै तीन दशकदेखि विशेषज्ञ चिकित्सकको अभाव रहेको छ । जिल्ला अस्पताल बनेसँगै विशेषज्ञ चिकित्सको दरबन्दी रहेपनि हालसम्म चिकित्सक आएका छैनन् । २०४३ सालमा जिल्ला अस्पताल स्वीकृत भएसँगै नवौं तहको मेडिकल सुपरीडेन्ट (मेसु) को दरबन्दी रहेको भएपनि हालसम्म स्वास्थ्यकर्मी नपठाउँदा निमित्तको भरमा सञ्चालन हुँदै आएको छ । तीन दशक देखि जिल्ला अस्पताल निमित्त मेडिकल सुपरिडेन्टले चलाउँदै आएका छन् । भने मेडिकल अधिकृतले अस्पताल प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

एक जना मेडिकल सुपरिडेन्ट तथा दुई जना मेडिकल अधिकृत रहेको जिल्ला अस्पतालमा हाल एक जना मात्रै मेडिकल अधिकृत कार्यरत रहेको जिल्ला अस्पताल दार्चुलाका निमित्त प्रमुख डा. गजेन्द्र दुवालले जानकारी दिनुभयो । अस्पतालमा हाल चार जना करारमा कार्यरत डाक्टरको भरमा चलेको छ । अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा यहाँका अधिकांश विरामीले भारतीय अस्पताल पिथौरागड र कोहलपुर मेडिकल कलेज जानुपर्ने बाध्यता रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *