२०७६ मंसिर ३०, सोमवार
Follow Us on:

दार्चुला लगायत सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा कोदो र मादुरो पाउनै मुस्किल

ललित सामन्त

दार्चुला : दार्चुला लगायत मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरो जस्ता पुराना बालीहरु लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बालीहरु लोप हुन थालेका हुन् । कोदो, मादुरो जस्ता बालीहरुमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि बालीहरुको महत्व नबुझ्दा लोप हुन थालेको मालिकार्जुन गाउँपालिका १ का स्थानीय नविन धामीले बताउँनुभयो ।

कुनै समय सुदूरपश्चिमका पहाडी जिल्लाहरु दार्चुला, बैतडी, डोटी, बझाङ र बाजुरा लगायतका उच्च पहाडी तथा हिमाली भेगमा प्रसस्त मात्रामा कोदो र मादुराको खेती गरीन्थ्यो । यस्तै कुनै समय दार्चुलाका किसानहरुको खेतबारीमा पनि प्रसस्त उत्पादन हुने कोदो र मादुरो खोति अहिले लोप भइसकेको छ, जोशीले भन्नुभयो, बजारबाट चामल खरीद गरेर खाने चलन बढेसंगै परम्परागत बालीतर्फ पछिल्लो पुस्ताको आकर्षण हराउँदै गएको छ ।

अन्नहरुमध्ये स्वास्थ्यका लागी निकै फाइदाजनक मानिने कादो र मादुरो फलेको अहिले सायदै देख्न पाइने गरेको उहाँले बताउँनुभयो । आयतित खाद्यान्नका सामग्रीमा पोषक तत्व नपाइने भएकाले पछिल्लो समयमा बालबालिकाहरुमा कुपोषण समेत देखिन थालेको रिठाचौपाता स्वास्थ्य चौकीका इन्चार्ज अम्बादत्त जोशीले बताउँनुभयो ।

कोदो, मादुरो, भटमास, लगायतका बालीहरुमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि यसको महत्वको बारेमा जानकारी नभएको उहाँको भनाइ छ । पुराना बालीहरुमा पाइने पोषक तत्वका बिषयमा ज्ञान नहुँदा पुराना बाली लोप हुन थालेका किसान बल्देब भट्टले बताउँनुभयो । पुराना बालीहरुको संरक्षण नहुँदा लोप हुने अवस्थामा पुगेका भट्टको भनाइ छ । धानबालीसंगै फल्ने कोदो मादुरो आजभोली देख्न समेत पाइन छोडेको हो ।

यो समय कोदो, मादुरो, भटमासका परिकारहरु खाने हो तर पछिल्लो केहि बर्षयता गाउँघरमा यस्ता परिकार पाइन छोडेका छन् ।

बालबालिका, गर्भवती, सुत्केरी महिलाका लागि निकै फाइदाजनक रुपमा रहेका बालीहरु नै लोप हुन थालेकाले ग्रामीण क्षेत्रमा पोषक तत्व पाइने खाद्यान्नहरुको समेत कमी आउन थालेको भट्ट बताउँछन् । समयसंगै कृषि गर्ने तरिका परिवर्तन भयो, संगै खेती गरीने बालीनाली पनि परिवर्तन हुदै गएको छ ।

कोदो मादुरो जउँ खेतीबाट धान मकै आदी बाली जस्तो लाभ नहुनाले पनि यी बालीहरु लोप हुदै गएको किसानहरु बताउँछन् । पछिल्लो समय गाँउघरमा भैसीपालन घटेकाले पनि यो खेती लोप हुदै गएको किशानहरुको भनाइ छ । भैसीबाट प्राप्त हुने दुध तथा दुधजन्य पदार्थसंगै यस्ता पोषणयुक्त परिकारहरु खाने गरिन्थ्यो तर पछिल्लो समय गाइ, भौसी पालन घट्दै गएकोले कोदो, मदुरो, जौ समेत किसानले खेतमा लगाउँन छोडेका छन् । जिल्लाको लेकम, मार्मा र दुहु क्षेत्रको कुनै कुनै गाउँमा अझैपनि कोदो, मादुरो फलाउँने गरेको कृषकहरु बताउँछन् ।

नयाँ बालीहरुबाट कम मेहनतमा बढी उत्पादन हुने भएकाले पुराना बालीहरु लोप हुदै गएका छन । यस्ता परम्परागत बालीहरुको महत्वको बारेमा सबैलाइ जानकारी गराई यी बालीहरुलाई व्यवस्थित तरिकाले उत्पादन, बजारीकरण र यस्बाट बन्ने विभिन्न परिकारहरुको बारेमा जानकारी गराई यस्ता बालीहरुलाई संरक्षण गर्नु जरुरी रहेको बुढापाखाहरुले बताउँने गरेका छन् ।

यो पनि पढ्नुहोस्

मुख्य समाचारहरु

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *