२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

प्रांगारिक खेतीको लागि मलका प्रकार र तयारी विधि

प्रकाश दुवाडी
(BSC,Horticulture, TU)

प्रकाश दुवाडी

बोकासी मल तयारी
रासायनिक मलको विकल्पको रुपमा बोकासी मलको प्रयोग गर्न सकिन्छ । प्रति रोपनी जमीनका लागि ४० केजी बोकासी मल प्रयोग गर्न सकिने । स्थानिय स्तरमा प्राप्त गर्न सकिने घटकहरुको मिश्रण तयार गरी यो मल तयार गर्न सकिन्छ । सुख्खा तौलको आधारमा १ भाग धानको ढुटो, १ भाग पिना, १ भाग कम्पोष्ट वा गोठेमल र १ भाग सतही माटोलाई एकै ठाउँमा मिसाउने । उक्त मिश्रणमा १-५ भाग खरानी र १-२ भाग गौमुत्र थपी राम्ररी मिलाएर केही अंध्यारो कोठामा हलुको थुप्रो पारी जुटको बोराले छोप्ने । मलको मिश्रणको थुप्रोमा दोश्रो दिन देखि तापक्रम बढ्न थाल्छ र बढी तापक्रम भएको खण्डमा मलमा उत्पन्न हुने सुक्ष्म जीवहरु नष्ट हुन थाल्छ त्यसैले मलको थुप्रोलाई १ दिन बिराएर बेल्चा वा कोदालोले चलाई मलमा उत्पन्न तापक्रम घटाउने । मल चलाउँदा चिस्यानको मात्रा घटेको खण्डमा गौमुत्र थपेर चिस्यानको मात्रा लगभग ३० देखि ४० प्रतिशत कायम गर्नेे । सुरु गरेको १५ दिनमा यो मल राम्ररी तयार हुन्छ ।

यो मलले  खेतीमा प्रयोग गरिने अन्य प्रांगारिक मलको ५० देखि ६० प्रतिशत मात्रा कम गर्न सहयोग गर्दछ । यसलाई आधार मात्राको रुपमा एकै पटक जमीनमा छरेर प्रयोग गर्न सकिन्छ र यसले विरुवालाई आवश्यक खाद्यतत्वहरुको अलावा प्रशस्त मात्रामा सुक्ष्मजीव माटोमा थप्ने गर्छ ।

बोकासी मल बनाउन आवश्यक पर्ने विभिन्न सामाग्रीहरु, बन्ने प्रक्रिया तथा तयारी मल

गडयौली मल उत्पादन विधि
गड्यौला माटोमा वा सड्न थालेको प्रांगारिक वस्तुमा बस्ने सानो र नरम प्राणी हो । यो कृषकको लागि एक गुणकारी मित्र हो, यसले सामान्य कुहिएको र प्रांगारिक जन्य फोहोर वस्तु खाई प्रांगारिक मलको रूपमा बिरुवाको लागि आवश्यक पर्ने खाद्यतत्व उत्पादन गर्दछ । साधारणतया अरु तरीकाबाट बनाइएको कम्पोष्ट मलहरु भन्दा गड्यौंला मल उच्च गुणस्तरको हुन्छ ।

  • गड्यौंला मलमा पाइने खाद्यतत्वहरु पानीमा सजिलै घुल्ने भएको हु‘दा बिरुवाले छिटो लिन्छ ।
  • यसमा खाद्यतत्वहरुको मात्रा अन्य कम्पोष्टहरु भन्दा बढी हुन्छन् ।

गड्यौली–मलमा भएका उपयोगी तथा मित्र सूक्ष्म जीवाणृुहरूले उत्पादन गरेको हरमोन, भिटामिन, ढुसी तथा ब्याक्टेरियानाशक जीवाणु आदि, समेत पाइन्छ जुन हामीले बनाएको अन्य प्रांगारिक मलमा पाइँदैन र पाइए तापनि न्यून भएको कुरा सावित भएको छ । यस्ता तत्व भएको गड्यौली–मल बालीमा प्रयोग गर्दा उत्पादन बढाउन निकै उपयोगी भएको समेत प्रमाणित भएको छ । हाम्रो पहाडमा इस्नीया फोइटीडा जात मल तयार गर्नका लागि उपयुक्त हुन्छ र बढी गर्मी क्षेत्रमा इयुड्रीलस युजीनीया जात पनि प्रयोग गर्न सकिन्छ ।

गड्यौलाले आफ्नो तौल बराबरको कुहिएको सामान एक दिनमा खान्छ र खाएको एकैछिनमा ५ देखि १० प्रतिशत आफ्नो शरीरको अत्यावश्यक क्रियाकलापकालागि सञ्चित राखी बाँकी ९० देखि ९५ प्रतिशत खाएको खाद्यतत्व मल, कास्टींग, स–साना कालो पोतेको गेडाजस्तो आकारमा बाहिर फाल्दछ । यसलाई नै गड्यौली–मल भनिन्छ । त्यस्तै, १ के.जी. गड्यौली–मल एक दिनमा उत्पादन गर्न एक के.जी. वयस्क गड्यौलाको आवश्यकता पर्दछ र एक के.क्जी. तौलमा करीब ३,००० देखि ४,००० को संख्यामा वयस्क गड्यौला हुन्छन् । वयस्क वा बच्चा गड्यौला प्रयोग गरी गड्यौला पालन शुरू गरेको पहिलो ५५ देखि ६० दिनमा यिनीहरूको जनसंख्या २ गुणा र ९० देखि १०० दिनमा ३ देखि ४ गुणासम्म वृद्धि हुन्छ ।

गड्यौली–मल बनाउने खोरको निर्माण

  • गंड्यौली मल उत्पादनको लागि बाँस वा पक्की खोरहरु तयार गर्न सकिन्छ ।
  • १ देखि १.२ मि चौडाई, ५० देखि ६० से.मि. उचाई र २ देखि ४ मि लम्बाइका खोरहरु तयार गर्न सकिन्छ ।
  • खोर लाइ घाम र पानीबाट जोगाउन अनिवार्य छानोको व्यवस्था गर्नु पर्दछ ।
गड्यौला पालनको लागि तयार गरिएको घर

मल उत्पादन गर्ने तरीका
सबैभन्दा पहिले पानी नजम्ने ठाउँमा खोर बनाई छानो वा छाप्रोको व्यवस्था मिलाउने । त्यसपछि गोवर तथा पात पत्करहरुलाई ६०–४० को अनुपातमा मिलाई खोरमा १५ देखि २० से.मी. भर्ने । २ हप्ता जति पछि त्यसमाथि गड्यौंलालाई छोडी २ इन्च जति पात पत्करहरुले छोपी माथिबाट आवश्यकता अनुसार पानी छर्नुपर्छ । साधारणतया खोरमा चिस्यानको मात्रा ४०–६० प्रतिशतसम्म हुनुपर्छ र यसको लागि बेला बेलामा पानी छदै गर्नु पर्छ । गड्यौला राम्ररी स्थापित भइ सकेपछि प्रत्येक दिन २–३ इन्चको दरले टुक्राएको झारपात सोझै वा काँचो गोबरसंग मिसाएर भर्दै जानु पर्छ । तापक्रम, चिस्यान र गड्यौलाको उपयुक्त संख्या मिलेको खण्डमा २ महिनामा मल तयार हुन्छ । मललाई मसिनो जालीले छानेर गड्यौंला तथा अण्डाहरु छुट्याएर मललाई बोरामा भरेर राख्नु पर्छ ।

जान्नै पर्ने

  •  कुखुराको सुली प्रयोग गर्नु परेमा प्रशस्त मात्रामा झारपात मिलाएर केहि समय कुहाएपछि मात्र प्रयोग गर्नुपर्छ ।
  • धेरै मात्रामा परालको प्रयोग गर्नु हुँदैन यसले विरुवाको लागि आवश्यक खाद्यतत्व घटाई मलमा फलामको मात्रा बढाउँछ ।
  • मानव मल प्रयोग गर्दा पनि प्रशस्त मात्रामा प्रांगारिक पदार्थहरु मिसाउन जरुरी हुन्छ नत्र धातुहरुको मात्रा मलमा बढन सक्छ ।
  • कागज वा कुटहरुको प्रयोग गर्दा १,२ दिन अगाडि नै टुक्राएर भिजाइ राख्नु पर्छ र अन्य घाँसपातहरु संग मिसाएर प्रयोग गर्नु पर्छ ।

 

गुणस्तरीय कम्पोष्ट मल तयार गर्ने तरीका
यस विधि अन्तर्गत २ फिट गहिरो ७ फिट लामो र ५ फिट चौडा (ठाउँ अनुसार लम्बाइ चौडाइ परिवर्तन गर्न सकिन्छ तर गहिराइ भने परिवर्तन नगर्नु राम्रो) वरावरको खाडल तयार गर्ने । खाडलको लम्बाइको बीचमा बाँसका भाटा वा लठ्ठी गाडेर ५ फिट अग्लो बार तयार गर्ने । बारको एकतिरको खाडलको भुइंमा हलुका तह गोठेमल वा गोवर वा जंगलको सडेको चिसो पत्कर वा पाकेको कम्पोष्टमल वा गहुंत र गोवरको घोल (जोरन) राखि आधार तयार गर्ने । र ओइलाएको झारपातहरु मसिनो पारी टुक्राउने एक फीट जति खांदेर फैलाउने र त्यस माथि जोरनको हलुका तह राख्ने यसै प्रकारले बारको उचाइ सम्मको तह बनाएर कालो प्लाटिकले छोपिदिने । सुक्ष्म जीवहरुद्वारा ती झारपातहरु कुहिन थाल्छ र विस्तारै मलको रुप लिन थाल्छ । लगभग २०-२१ दिनमा उक्त खाडलको मल बारको अर्को तिरको खाडलमा पल्टाउने र खाली भएको खाडलमा ओइलाएको झारपातलाई पहिला जस्तै टुक्राएर हाल्ने तर जोरन भने हाल्नु पर्दैन । अर्को २०-२१ दिनमा पहिला पल्टाएको मल तयार भइसकेको हुन्छ र उक्त मल भिकेर प्रयोग गर्ने र अर्को भागको मल खालि भएको खाडलमा पल्टाउने र खालि खाडल फेरि पहिला जस्तै गरी भर्ने । एवं रीतले प्रत्येक २० दिनमा कम्पोष्ट मल झिक्दै प्रयोग गर्न सकिन्छ । सुरुमा जोरनको प्रयोग उपयुक्त तरीकाले गरिएको छ, झारपातलाइ मसिनो गरी टुक्राइएको छ, झारपात ओइलिएको छ, तापक्रम मिलेको छ भने मल छिटो तयार हुन्छ तर यसो नभएमा मल तयार हुन ज्यादा दिन लाग्न सक्छ । तयार भएको मल कालो, बुर्वुराउंदो, फ्यास्स जाने, माटोको गन्ध आउने, झारपातको अवसेष चिन्न नसकिने अवस्थामा हुन्छ । duwadicompost@gmail.com, 9852685272

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *