२०७६ चैत्र २६, बुधबार
Follow Us on:

‘मान्छे त चिनिएन तर मेरो छोराले लगाएको ज्याकेट चाँहि मिल्छ’: सीसीटीभी फुटेज हेरेपछि विजयका बाबु

काठमाडाैँ: भान्सामा दुई जना मान्छे काम गरिरहेका देखिन्छन्। एक जना महिला, अर्को पुरुष। पुरुषले महिलालाई भान्साको काममा सघाइरहेजस्तो देखिन्छ।चुलामा केही बसाउन लागेकी महिलालाई अचानक पुरुषले पछाडिबाट समात्छ, तान्छ र भुइँमा लडाउँछ।

ललितपुर महानगरीय प्रहरी परिसर जावलाखेलका डीएसपी सन्तोष तामाङ विजय चौधरीका बुबा जानकी चौधरीलाई यी दृश्य देखाइरहेका छन्। जेठो छोरा विजयको मृत्युको खबर सुनेर दाङबाट बस चढेर मंगलबार राती काठमाडौँ आइपुगेका हुन् जानकी। उनी करिब ६ वर्षदेखि काठमाडौं बसेको छोराको मृत्युको यथार्थ विवरण जान्न चाहन्थे।

बुधबार बिहानै उनी जावलाखेल प्रहरी परिसर पुगे, जहाँ उनलाई प्रहरीले परिसरको मूल भवनको दोस्रो तल्लामा पुर्‍यायो। र, सोमबार सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको घटनाको सीसीटीभी फुटेज देखाइयो।

फुटेजमा जानकीले देख्छन्– भुइँमा लडेकी महिलालाई पुरुषले पिर्काजस्तो वस्तु उठाएर हान्न थाल्छ।अब यी महिलालाई पिर्काले हान्ने मान्छेले लगाएको ज्याकेट यही हो कि होइन?’ डीएसपी तामाङले जानकीलाई सोधे। चश्मा लगाएका जानकीका आँखा अविश्वासले तिर्मिराउँछन्। उनले मान्छे ठम्याउने प्रयासमा चश्मा फुकालेर पनि ती दृश्य दोहोर्‍याएर हेर्छन्। तर, मान्छे चिन्दैनन्।

डीएसपी तामाङले उनलाई घरबाहिरको अर्को दृश्य देखाए। जसमा एउटा अग्लो मान्छे बाहिरबाट घरभित्र छिर्दै गरेको देखिन्छ। उसको जिउडाल र चालढाल हेरेर जानकी भन्न सक्छन्– मेरो जेठो छोरो विजय यही हो।

उसले दुईतिर मिलाएर कपाल कोरेको छ। ज्याकेट र चप्पल लगाएको छ।‘अब यी महिलालाई पिर्काले हान्ने मान्छेले लगाएको ज्याकेट यही हो कि होइन?’ डीएसपी तामाङले जानकीलाई सोधे। प्रमाणहरू यसरी जोडिएपछि जानकीको पैतालामुनिको जमिन भास्सियो। उनी केही बोल्न सकेनन्।सोमबार सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको घरमा उनकी पत्नी मुना र जानकीका छोरा विजय मृत फेला परेका थिए।

मंगलबार दिनभरी दाङबाट काठमाडौं बसमा यात्रा गर्ने क्रममा जानकी यही सोचिरहेका थिए– मेरो सोझो छोराले कसैको ज्यान लिन सक्दैन। सानेपा घटना उनको कल्पनाभन्दा बाहिरको कुरा थियो।तर, सीसीटीभी फुटेज हेरेपछि उनी भन्न बाध्य भए, ‘भित्रको मान्छे त चिनिएन। तर, भित्र पस्दा मेरो छोराले लगाएको ज्याकेट र पिर्काले हान्ने मान्छेको ज्याकेट मिल्छ।’

‘किचेनमा पुगेपछिको अनुहार नचिनेपनि लगाएको कपडा हेरेर चिनियो’, सीसीटीभी फुटेज हेरेपछि जानकीले बुधबार भने, ‘त्यहीबेला किचेनमा रहेको ढोकाको चुकुल लगाइएको देखिन्छ अनि मेडमलाई भुइँमा लडाएर पिर्काजस्तो वस्तुले हान्दा बाहिर रहेको कुकुर जोडतोडले ढोका फोरम्लाझैँ गरेर भुकिरहेको पनि देखियो।’

मुनाको हत्यापछि विजयले आत्महत्या गरेको प्रहरीले उनलाई बतायो। उनी सायद त्यो दृश्य पनि हेरेर निश्चित हुन चाहन्थे। तर, आत्महत्याको दृश्य नभएको जवाफ डीएसपी तामाङले दिए।

‘जन्मेदेखि १५ वर्षसम्म मसँगै बसेको विजयले गाउँमा हुँदा कहिल्यै कसैसँग झगडा त गरेको थिएन। उसले कसैको हत्या …’, उनी रोकिए, ‘खै के भन्नु अब, उसैले गरेको देखिइसक्यो।’

‘कसरी र किन यस्तो घटना भयो होला, अचम्ममा छु,’ उनले थपे।मंगलबार बिहान ८ बजे दाङबाट गाडी चढेका जानकी राति १० बजे बालाजु उत्रिए। बसपार्क पुगेर छिमेकी भाइ श्रीपद चौधरीकोमा बास बस्न गए।

काठमाडौंमा बिहानबेलुकी अझै चिसै छ। तर, चप्पल लगाएर यहाँ आइपुगेका उनी बुधबार बिहान ९ बजे छोराबारे बुझ्न जावालाखेलस्थित प्रहरी परिसर पुगे।प्रहरीले उनीसँग २ घण्टा बयान लियो। त्यसपछि मुद्दा शाखामा जाहेरी दिन लगायो। जाहेरी लेख्ने ठाउँ खोज्दै उनी एकछिन भौँतारिए।

आधा घण्टा कुरेपछि जाहेरी लेख्ने काम सुरु भयो। उनले सत्य तथ्य छानबिन माग गर्दै जाहेरी लेखाए। भन्न त क्षतिपूर्ति पनि माग गरेर जाहेरी तयार पारिदिनू भने तर लेखन्दासले मिल्दैन भनिदिए।

जाहेरी दिएपछि मुद्दा हेरिरहेका डिएसपी सन्तोष तामाङले उनलाई विभत्स घटनाको सीसीटिभी फुटेज देखाए। तर, विजयले हत्या र आत्महत्याको बाटो किन रोजे, जानकीले त्यसको उत्तर पाउन सकेका छैनन्।

कार्कीको घरमा बसेको यो अवधिमा विजयले कति रकम घर पठाए, जानकीलाई थाहा छैन। तर, काठमाडौं आउँदा एकदुईपटक भने आफैँले बाटोखर्च मागेर लगेको उनी सम्झिन्छन्।

छोरालाई राम्रो सरकारी जागिर खुवाइदिने बाचा गरेका थिए, पूर्वसचिव कार्कीले। त्यसैले महिनावारी तलबभन्दा पनि सरकारी जागिरको आसमा आफूहरु रहेको जानकीले बताए।

‘मैले मुना मेडमलाई पनि भनेको थिएँ’, जानकीले भने, ‘हजुरहरु त ठूलो पदमा हुनुहुन्छ, छोरालाई राम्रो दीगो जागिर लगाइदिनुपर्‍यो।’२३ वर्ष पुगेका विजयको विवाहबारे उनले छोरासँग पनि चर्चा गरेका थिए।

‘उमेर पनि भयो, बिहेको बारेमा के सोचेको छस् भनेर सोधेको थिएँ’, जानकीले भने, ‘तर आफ्नो खुट्टामा उभिएपछि मात्रै बिहे गर्छु भनेपछि मैले कर गरिनँ। हुर्किएको छोरोलाई जबर्जस्ती गर्नुपनि भएन।’

६ कक्षा पढ्दापढ्दै बीचमै छाडेर काठमाडौं हान्निएका विजयले पढाइमा आफूलाई रुची नभएको बताउने गरेका थिए।तर, जानकी फोनमा भनिरहन्थे, ‘तँलाई त्यहाँ काम गर्दा गाह्रो परेको भए भन्नु, पढ्ने भए मै पढाउँछु।’

उनी छोराले सरकारी जागिर खाएको हेर्न चाहन्थे। धेरै नपढेका कारण अन्य जागिरको भन्दा पनि सरकारी ड्राइभर हुने उनले विश्वास लिएका थिए। तर, विजय ड्राइभर नबन्दै संसार छोडेर विदा भए।मंगलबार राती काठमाडौं आएका जानकी विजयको शव लिएर बुधबार नै दाङ फर्किए। थारु परम्पराअनुसार उनले छोराको अन्तिम संस्कार गर्नेछन्।

२३ वर्षे छोराको कमाइ खानेबेला उसकै शव लिएर हिँड्नुपर्दा जानकी संसारसँग निकै विरक्तिएका देखिन्थे।काठमाडौंमा जम्मा १६ घण्टा बिताएर छोराको लास बोकेर घर फर्किन उनका गोडा मानिरहेका थिएनन्। आफन्तले समातेर उनलाई एम्बुलेन्समा राखे।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *