काठमाडाैँ : यतिबेला विश्व नै कोरोनामय भएको छ। अर्थात् अहिले सिंगो संसार कोरोना भाइरस (कोभिड १९) काे संक्रमण हुने सन्त्रासमा छ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वमा १९९ देशमा पुगेको छ । शुक्रबार बिहानसम्मकाे डाटा अनुसार कोरोनाको संक्रमण भएका २४ हजार ६५ जनाले ज्यान गुमाएका छन् । विश्वमा ५ लाख ३१ हजार ६ सय ३० जना संक्रमित भएका छन् ।
संक्रमित भएका मध्ये १ लाख २३ हजार ३ सय ९१ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा देखिएका छन् ।
अमेरिकामा एकै दिन १५ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ । संक्रमित हुनेको यो संख्या चीनको भन्दा २३ सय ८७ ले बढी हो । चीनमा ८१ हजार २ सय ८५ मा संक्रमण देखिएका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा थप १ सय ८२ जनाको मृत्यु भएसँगै मृतकको संख्या पनि १२ सय ९ पुगेको छ ।
उपचारारत ८० हजार ५ सय ९९ मध्ये २१ सय २२ जनाको अवस्था गम्भीर रहेकाले अमेरिकामा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या बढ्ने सक्ने अमेरिकी स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरसको संक्रमण रोक्ने अनेकौं उपाय अपनाइरहँदा पनि अमेरिकामा संक्रमण फैलने क्रम तीव्र भएको छ । त्यसपछि इटालीमा धेरै संक्रमित छन् । पछिल्लो २४ घण्टामा ६ हजार २०३ जना संक्रमित थपिएसँगै इटालीमा ८० हजार २ सय ८५ संक्रमित छन् । ८ हजार २ सय १५ जनाले ज्यान गुमाइसकेका छन् ।
स्पेनमा संक्रमितको संख्या ५७ हजार ७ सय ८६ पुगेको छ । ४ हजार ३ सय ६५ ले ज्यान गुमाएका छन् । जर्मनीमा पनि संक्रमितको संख्या बढ्दो छ । ६ हजार ६ सय १५ संक्रमित थपिएसँगै जर्मनमीमा कोरोना भाइरस संक्रमितको संख्या ४३ हजार ९ सय ३८ पुगेको छ । अहिलेसम्म जर्मनीमा २ सय ६७ जनाले ज्यान गुमाएका छन् ।
इरानमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २ सय ३४ पुगेको छ भने २९ हजार ४०६ मा संक्रमण देखिएको छ । फ्रान्समा पनि १ हजार ६ सय ९६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या २९ हजार १५५ पुगेको छ ।
सँगसँगै यो भाइरसको संक्रमणबाट बच्न बारम्बार साबुन-पानीले हात धुने, मास्क लगाउने र खासगरी संक्रमितले खोक्दा र हाच्छिउँ गर्दा निस्कने थुकका छिटाबाट यो भाइरस सर्ने भएकाले त्यस्ता क्रियाकलापबाट सुरक्षित रहन चिकित्सकले सुझाव दिइरहेका छन्।
विशेषगरी कोरोना भाइरस संक्रमित व्यक्तिको थुक तथा र्यालमा रहन्छ भनेर यस क्षेत्रका विज्ञले बताइरहेका छन्। त्यसैबाट बच्न हात साबुन-पानीले धोइरहने तथा स्यानिटाइजर लगाइरहने सल्लाह उनीहरूले दिइरहेका छन्।
तर अहिले यो त्राससँगै धेरै मानिसमा लुकेको एउटा जिज्ञासा यो पनि हुन सक्छ- यो भाइरस यौन-सम्पर्कबाट चाहिँ सर्ने हाे कि नसर्ने हाे? यो कुराचाहिँ किन भनिरहेका छैनन्, चिकित्सक? यही प्रश्न बिहीबार बिहान टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालस्थित मेडिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनलाई राख्दा उनले यसो भने-
डा. पुन : हो, मानिसमा यो सोचाइ पनि पक्कै आइरहेको होला। यस विषयमा छोटो शब्दमा म के भन्छु भने यो कुराको वैज्ञानिक आधार छैन।अर्थात् काेराेना याैन-सम्पर्कबाट सर्छ भन्ने विषयमा अहिलेसम्म कतैबाट प्रमाण प्राप्त भएकाे छैन।
हुन त यस विषयमा अनुसन्धान नभईकन हामीले बोल्न मिल्दैन। किनकि अहिलेसम्म विश्वमा यस पक्षमा कहीं कतै अनुसन्धान भएकै छैन। त्यसकारण अहिले मैले यो विषयमा यसै हुन्छ भनेर बोलें भने त्यसको जवाफदेही म हुनुपर्ने हुन्छ।
तर म फेरि के भन्छु भने यौन-सम्पर्कबाट कोरोना भाइरस सरेको पुष्टि अहिलेसम्म कतैबाट भएको छैन। अर्थात् यसको वैज्ञानिक आधार छैन। नत्र चीनमा त्यत्रो संक्रमण फैलियो, इटालीमा त्यति धेरै मानिस मरे।
यदि यौन सम्पर्कबाट पनि कोरोना सर्ने भए त अहिलेसम्म कुनै न कुनै त्यस्तो घटना पनि सार्वजनकि हुनुपर्ने। त्यस्तो त पाइएको छैन। त्यसकारण मेरो जवाफ अहिलेलाई यही हुन्छ कि यसको वैज्ञानिक प्रमाण छैन।
तपाईंलाई एउटा कुरा स्मरण गराऊँ, जतिबेला डेंगु फैलिरहेको थियो, त्यतिबेला श्रीमान श्रीमती छुट्टै कोठामा बसेर भातभान्सै अलग गरिएका समाचार पनि हामीले सुन्यौं। जसले सम्बन्धै बिगार्ने स्थिति पनि आए।
तर यौन सम्पर्कबाट डेंगु सरेको घटना खासै सुनिएन। तर पनि युरोपमा एउटा घटना सार्वजनिक भयो कि यौन सम्पर्कबाट पनि डेंगु सर्याे भन्ने। संसारमा त्यही एउटा मात्रै घटना हो।
सयमा सय त कुनै कुरा पनि हुन्न। अपवाद जेमा पनि हुन्छ। तर त्यो यौन सम्पर्कबाट डेंगु सरेको घटनामा पनि वैज्ञानिक पुष्टिचाहिँ भएको छैन।
अब यो कोरोना भाइरसका सम्बन्धमा पनि चीनका वैज्ञानिक कति फास्ट छन्, अनुसन्धान गर्न। तर खै अहिलेसम्म यौन सम्पर्कबाट कोरोना सर्याे भन्ने कुरा बाहिर आएकाे छैन। यसकारण मलाईचाहिँ यौन सम्पर्कबाट कोरोना सर्छ भन्ने कुरामा विश्वास छैन।
जसरी एचआईभी भाइरस यौन श्राव, रगतजस्ता माध्यमबाट सर्छ भन्ने कुरा छ। तर कोरोना सर्ने प्रमुख मार्ग त अहिलेसम्मका अनुसन्धानले संक्रमितको थुक/र्याल भनिरहेका छन्। त्यसो भएको हुनाले थुक र र्यालकाे सम्पर्कबाट बच्ने हिसाबले पनि मानिसले यौन सम्पर्क त गर्न सक्ने भए। त्यसो भएको हुनाले अब अन्तिममा के बताइदिनुस् भने यो नयाँ कोरोना भाइरसबाट सुरक्षित रहन अहिलेलाई श्रीमान-श्रीमती अथवा प्रेमी-प्रेमिकाले यौन सम्बन्ध स्थगन गर्नु नै राम्रो हुन्छ कि कसो?
डा. पुन : मैले पहिले भनिसकें कि यसमा वैज्ञानिक आधार छैन। यौन सम्पर्कबाट कोरोना सर्छ भन्नेमा मलाई विश्वास छैन। त्यसकारण जोडीहरूलाई यौन सम्बन्ध नै बन्द गर्नुस् भनेर कम्तीमा मेरोचाहिँ सल्लाह छैन। @nepalkhabar.com