२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

एसएलसीमा पहिलोपटक फेल, दोस्रोपटक बोर्डमा

काठमाडौँ : मैले २०२८ सालमा लमजुङबाट एसएलसी दिएँ तर फेल भएँ । त्यसपछि मैले पढ्न छाडेजस्तै भएको थियो । २०३० सालमा म बुटवल टेक्निकल इन्स्टिच्युटमा पढ्न गएँ । सर्भेयर कम ओभरसियर भन्ने विषय त्यहाँ तीन वर्ष पढेँ । तर, त्यहाँका सामान्यतया सबै काम गर्थें । त्यहाँ ब्लास्टिङ गर्ने, टनेल बनाउने, पावर हाउसको टर्वाइन फिट गर्ने, ब्रिज बनाउने, वेल्डिङ गर्ने, कार्पेन्टिङ, इलेक्ट्रिकललगायत काम सिकेको थिएँ । शैक्षिक योग्यताको मान्यता नहुने भएपछि यी काम सिक्दासिक्दै चौथो वर्षमा काम छाडेँ । 

टेक्निकल विषय अध्ययन छाडेपछि फेरि ०३४ सालमा मैले एसएलसी दिएँ । म्याथम्याटिक्स पढेर मैले प्राइभेट एसएलसी दिएँ । प्राइभेटमा फस्ट भएँ र बोर्ड पाँचौँ भएँ । सुरुमा लमजुङको कुन्था सेन्टरबाट एसएलसी दिएको थिएँ । सेन्टरमा कापीहरू पनि जलाएका थिए । त्यो सेन्टरका धेरै विद्यार्थी फेल भए । बुटवलमा पढेको विषय नन–एकेडेमिक भएकाले पुनः एसएलसी दिएको हुँ । मैले पढेको जनकल्याण माध्यमिक विद्यालयबाट फर्म भर्न खोज्दा मलाई म्याथमा फर्म भर्न दिइएन । नदिएपछि मैले प्राइभेट एसएलसी दिएँ । 

सुरुमा पढ्नुपर्छ, यसरी पढेपछि नम्बर आउँछ भन्ने ज्ञान थिएन । लहैलहैमा स्कुलमा टेस्ट पास गरेँ, लहैलहैमा एसएलसी दिएँ, फेल भएँ । त्यतिवेला सुरुमा पास भएको भए खरदार, मुखिया हुँदै अरू के–के हुन्थेँ होला । आफूसँगै पढेका साथी कलेज पढ्न गएपछि मनमा ईष्र्या भयो, कसरी पढ्ने भन्ने भयो । त्यसो भएपछि म टेक्निकल विषय पढ्छु भनेर हिँडेको थिएँ । बुटलमा पढेर इन्जिनियर भइन्छ भनेर टेक्निकल इन्स्टिच्युट गएको थिएँ, त्यो होइन रहेछ भन्ने थाहा पाएपछि छाडेर फेरि एसएलसी दिएँ । पछिल्लोपटक एसएलसी दिँदा धेरै बुझेँ, कसरी लेख्दा नम्बर आउँछ भन्ने पनि थाहा भयो । बुटवल टेक्निकल इन्स्टिच्युसनमा पढाइ राम्रो थियो । इंग्लिस, म्याथ, साइन्सका विषय पनि पढाइ हुन्थ्यो । दिनको तीन घन्टा पढाएर आठ घन्टा काममा लगाइन्थ्यो । अन द जब ट्रेनिङ थियो । 

आफूसरहका साथी स्नातक पढ्न थालेका थिए । एसएलसीमा बोर्ड पाँचौँ भए पनि निकै ठूलो कुरा ठानिनँ । तर, मेरो शैक्षिक यात्राले सही बाटो समातेको छ भन्ने लागेको थियो । लमजुङ जिल्लाबाट नै पहिलोपटक म बोर्डमा आएको थिएँ । त्यो जिल्लाको प्रतिष्ठाकै विषय बन्यो । त्यति मात्र होइन, प्राइभेटबाट पनि बोर्डमा आउन सक्छन् भन्ने स्थापित भयो । मिहिनेत गर्दा असम्भव केही छैन भन्ने मेरो उदाहरण बन्यो । त्यतिवेला मेरो ६७.६ प्रतिशत थियो । त्यो नयाँ शिक्षामा रूपान्तरण गर्दा ७७.६ हुन्थ्यो । नयाँ र पुरानो शिक्षाको समकक्षिता निर्धारण हुँदा पुरानो शिक्षालाई १० नम्बर बढी दिन्थ्यो । 
मेरो नतिजाले भविष्यमा जे बन्छु भन्ने लागेको थियो, त्यसको बाटो समात्न सकेकाले म खुसी भएँ । यसले एकपटक फेल भएर हरेस खानु हुँदैन भन्ने पनि उदाहरण बन्यो । जिन्दगीमा आत्तिनु, मात्तिनु र तात्तिनु हुँदैन भन्ने सिकायो । संयम भएर सही बाटोमा हिँड्ने हो भने सफलता मिल्छ । 

एसएलसीपछिको यात्रामा सधैँ सफल
एसएलसीमा बोर्ड पाँचौँमा आएपछि पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्रवेश परीक्षा दिएँ । नयाँ र पुरानो शिक्षाको प्रवेश परीक्षा हुँदा मैले १९औँ नम्बरमा नाम निकाल्न सफल भएँ । नयाँ र पूरा शिक्षाको सँगै प्रतिस्पर्धा भएको थियो । क्याम्पसमा आउँदा ०३५÷०३६ सालतिर हडताल चलेको थियो । उमेरले पाको भएकाले विद्यार्थी आन्दोलनमा पनि होमिएँ । पहिलो आन्दोलन हामीले जित्यौँ । दोस्रो आन्दोलनमा मन्डलेहरू अखिल र नेविसंघ भएर निस्किए । तिनीहरूविरुद्ध पनि हामीले आन्दोलन ग¥यौँ । त्यतिवेला पुल्चोक क्याम्पसको स्ववियु सभापतिमा मैले उम्मेदवारी दिएँ । कतिपयले ‘यो पढेर इन्जिनियर नबन्ने भयो, राजनीति गरेर विदेश जान खोज्यो’ भनेर आलोचना पनि गरे । मलाई आरोप लागेपछि दोस्रो सेमेस्टरपछि पुल्चोक क्याम्पसको रेकर्ड तोड्ने गरी पढेँ । त्यतिवेला १५ सय विद्यार्थीमा मेरो मात्र ‘डिस्टिङसन’ आयो । पहिलोमा ७४ प्रतिशत ल्याएको थिएँ, दोस्रो सेमेस्टरमा ८०.५, तेस्रोमा ८६ र चौथोमा ९३ प्रतिशत ल्याएर मैले उत्तीर्ण गरेँ । समग्रमा सर्टिफिकेट लेभलको इन्जिनियरिङमा मैले टप गरेँ । मलाई पहिले आरोप लगाउनेहरू मैले टप गरेपछि पनि सँगै पढियो, उनीहरूको मानसिकता परिवर्तन भयो । 

पुल्चोक इन्जिनियरिङमा राम्रो गरेपछि मैले शिक्षा मन्त्रालयबाट नाम निकालेर त्यतिवेलाको सोभियत संघमा सिभिल इन्जिनियरिङ पढ्न गएँ । म पढ्न गएको विश्वविद्यालयमा नेपाली विद्यार्थी रेस्टिकेट भए । भाषा सिकेर विश्वविद्यालय जाँदा एकजना नेपाली विद्यार्थी रेस्टिकेट भए । त्यसकै डरले पनि राम्रो अध्ययन गरेँ । मेरो ब्याचमा टप गरँे । त्यतिवेला एक वर्ष भाषा र चार वर्ष पढेर स्नातकोत्तरको पढाइ सकेँ । त्यहाँ पिएचडीका लागि अफर थियो । तत्काल पिएचडी गर्न मन लागेन र नेपाल फर्केर आएँ । 

नेपाल फर्केपछि नेपाल कागज उद्योग लिमिटेडमा १५ महिनामा सातौँ तहमा काम गरेँ । त्यही वेला लोकसेवाको जाँच दिएर नेपाल सरकारको निजामती सेवामा इन्जिनियर भएर प्रवेश गरेँ । 

एसइई दिनेलाई सुझाब
अहिले एसएलसी दिएका विद्यार्थीले अभिभावकको दबाबमा होइन, आफ्नो भित्री इच्छाबाट भविष्यमा के बन्छु भन्ने लाग्छ, त्यहीअनुसारको विषय छनोट गर्नुपर्छ । जुन विषयमा विज्ञ बन्न सक्छु भन्ने लाग्छ, त्यहीअनुसारको विषय छानेर बाटो तय गर्नुपर्छ । एसइईपछि व्यावहारिक वा साधारण विषय अध्ययनको अवसर छ, आफूलाई कता लाग्छ, त्यतै लाग्नुपर्छ । 

यतिवेला विद्यार्थीलाई धेरै अन्योल हुन्छ । एउटा शिक्षकलाई सबैले नमस्ते गरेको देख्यो भने शिक्षक बनूँ जस्तो लाग्छ । कतिपयले डाक्टरलाई, कतिपयले इन्जिनियर, वकिल, नेतालाई नमस्ते गरेको देखेको छ, उसलाई त्यही पढौँ जस्तो लाग्न सक्छ । मनमा लागेको छापमा दृढ संकल्पका साथ अघि बढ्यो भने सफल हुन्छ । नयाँ पत्रिकाबाट

भाइकाजी तिवारी , काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्त हुनुहुन्छ

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *