२०७६ मंसिर ५, बिहिबार
Follow Us on:

कथा: पाउजुको आवाज

अर्जुन थापा

पानी परेकाले होला चिसो चिसो भएको छ । साउने झरी । दुई तीन दिनको झरीले गर्दा रूखका पातहरू पनि निथ्रुक्क भिजी नुहिरहेका छन् । फूलका पंखुरीहरू पानीले लतपत भई भुइँमा छरिएका छन् ।

कहिलेकाहीँ खाली समयमा एल्बम पल्टाएझैँ हृदयमा सुरक्षित रहेका अतीतका ती पुराना तस्बिरहरू पल्टाउँदै प्रायः विगततिर फर्की हेर्न मन लाग्दो रहेछ । मनमा जेजस्ता पीडा भए पनि ती अतीतका मीठा घटनाले केही क्षणलाई भए पनि शान्त पार्दो रहेछ ।

अनुप र म बच्चादेखि मिल्ने साथी । सायद तीन चार वर्षदेखि नै हुनुपर्छ हामी सँगसँगै एउटै टोलमा हुर्केको । अझ हाम्रो स्कुल पनि एउटै थियो । खाली समय भयो कि म उसको घर वा ऊ मकहाँ आउँथ्यो र हाम्रो उही पुरानो पुतलीको खेल, श्रीमान् श्रीमती बनेर खेल्ने गथ्र्यौं । हामी झगडा पनि गथ्र्यौं र एकैछिनमा फेरि मिल्थ्यौँ पनि । मानौँ भर्खरै गरिएको मिलापत्र फेरि झगडा गर्नलाई नै गरिएको होस् ।

समयको क्रमसँगै हामी ठूला हुँदै गयौँ । हामी एक असल साथीको उदाहरण बन्न सफल भएका थियौँ । हामी एकअर्काको हरेक सुखदुःखमा सामेल हुन्थ्यौँ । प्लस टुको जाँच सकाएर म अमेरिका गएँ । अनुप नेपालमै बसेर इन्जिनियरिङ पढ्न थाल्यो । म सात समुद्र पार भए पनि हाम्रो मित्रतामा कुनै कमी भएको थिएन । हामी समय पाउनेबित्तिकै घन्टौँ फोनमा समय बिताउँथ्यौँ । उसले पढाइ सकेर यूएनडीपीमा काम गर्न थाल्यो । मैले नर्सिङ पढाइ सकाएर कन्ट्र्याक्टमा काम गर्न थालेँ अमेरिकामा ।

बिस्तारै उसको घरबाट र मेरो घरबाट पनि विवाहको कुरा चल्न थालेको थियो । हुन पनि हाम्रो विवाहको उमेर पनि भइसकेको थियो । उसलाई पनि विभिन्न ठाउँबाट केटीका फोटो आउन थालिसकेका थिए, विवाहको निम्ति र मलाई पनि केटाका फोटा पठाइदिन्थे घरबाट, कुनै मन परेमा कुरा अगाडि बढाउनका लागि । न उसले न मैले नै कुनै फोटा मन परायौँ ।
अनुप ज्यादै लजालु स्वभावको थियो भने म ऊभन्दा फरक ।

हाम्रो फोनमा कुरा हुँदा उसलाई म जिस्क्याउँथेँ पनि कि, ‘के हो अनुप राजा, मसँग नै विवाह गर्छु भनेर कुनै केटीका फोटो मन नपराएजस्तो छ नि ।’

ऊ केही नबोली बस्थ्यो फोनमा । हुन पनि कहिलेकाहीँ जिस्केर भनेको कुरा पूूरा हुँदो रहेछ । नभन्दै अनुप र मेरो घरमा हामी दुईकै विवाह गराउने कुरामा राजी भएछन् र त्यसको फलस्वरूप मेरो घर र उसको घरबाट मलाई दिनैपिच्छे फोन आउन थाल्यो । थाहा छैन, किन हो नजानिँदो पाराले म पनि उसलाई यस विवाहको कुरा चलेदेखि उसलाई साथीभन्दा पनि एउटा प्रेमीको रूपमा हेर्न थालिसकेकी थिएँ ।

त्यसपछि हरेक दिन जहाँ जान्थेँ त्यही अनुप देख्थेँ… तर मात्र स्तुतिमा । बाटोमा जुन केटालाई देख्थेँ त्यसको र अनुपको तुलना गर्न थाल्थँे र आफै निर्णय दिन्थँे, ‘यो केटो मेरो अनुपको खुट्टामा राख्न पनि सुहाउँदैन । अब बिहान आँखा खोलेदेखि ननिदाएसम्म उसकै स्तुतिमा डुब्थेँ । सपनीमा समेत उहीसँग रमाउन थालिसकेकी थिएँ । नढाँटी भन्नुपर्दा म अनुपको प्रेममा पागल हुन थालिसकेको थिएँ । फोनमा अनुपसँग जुन प्रकारले पहिला कुरा हुन्थ्यो र अहिले हुन्छ । त्यसमा धेरै फरक आइसकेको थियो । अब कुरा गर्दा एक प्रकारको लाज लाग्न थालेको थियो ।

मेरो पहिलो प्रेम थियो अनुपसँग । अब मलाई यो अमेरिका खल्लो लाग्न थालेको थियो, जसको फलस्वरूप आठ वर्षको लामो अमेरिका बसाइलाई पूर्णविराम लगाएर नेपाल फर्केकी थिएँ । मैले चाहेअनुसार एयरपोर्टमा अनुप लिन आएको थियो । त्यो क्षण सम्झँदा अहिले पनि त्यसै रौँहरू ठाडा भएर आउँछन् कि एयरपोर्टमा आठ वर्षपछि उसलाई देख्न र छुन पाउँदा ।
अब हामी दुवैको घरमा हामी दुईको विवाहको कुरालाई लिएर पक्कापक्की भइसकेको थियो मात्र हामी दुईको मन्जुरी कुरिराख्नुभएको थियो ।

मैले धेरै पटक हामी दुई मात्र भएको बेला उसलाई प्रश्न पनि गरेको छु कि, ‘अनुप मलाई तिमी जस्तो साथीलाई जीवनसाथी बनाउन पाउनु म मेरो सौभाग्य सम्झन्छु । तर तिम्रो के छ विचार ? तिमी यो विवाहबाट खुसी त छौ नि ?’

उसले मात्र टाउको हल्लाएर खुसी भएको सङ्केत दिएको थियो ।

आज हाम्रो सुहागरात । यस रातलाई लिएर धेरै सपनाहरू देखेको छु मैले । रात बिस्तारै छिप्पिँदै छन् । अनुप अझै रूममा आएको छैन । आजबाट हामी एउटा असल साथीबाट एउटा जीवन साथीको रूपमा परिणत हुँदैछौँ । घडीको सुईले रातको एक बजाएको सङ्केत ग¥यो ।

‘तिमी अझै सुतेकी छैनौ ? सुत ढिला भइसक्यो । मलाई आउन अलिक ढिला हुन्छ । साथीहरूले छोडेका नै छैनन् मलाई,’ भनेर अनुपले फोन काटिदिन्छ ।
साथी भनेपछि मरिहत्ते गर्ने बानी छ अनुपको, जसले गर्दा उसका साथीहरूले उसको ज्यादै नै फाइदा उठाउँछन् । आजको रातको त विचार गर्नुपर्ने नि अनुपले पनि ?
‘सरी, हिजो साथीहरूले गर्दा आउन लेट भयो ।’ भनेर उसले भन्दा पो झसङ्ग हुन्छु म । बिहानको छ बजिसकेछ ।
‘इट्स् ओके अनुप, आई अन्डरस्ट्यान्ड योर प्रोब्लम’ भनेर म फ्रेस हुनतिर लाग्छु ।

अब हाम्रो विवाह भएको पनि एक महिना भइसकेको थियो । यो एक महिनाको बीचमा मैले अनुपमा धेरै परिवर्तन पाएकी छु । विवाहअगाडि जो घन्टौँ घन्टौँ फोनमा कुरा गर्ने हामी अहिले आएर लगभग हामी एउटै घरमा भएर पनि हाम्रो संवाद हुँदैन । सधैँ समयमा घर फर्किने ऊ अहिले काम छ भनेर घर नै आउँदैन थियो । म उसको नजिक हुन खोज्नेबित्तिकै विभिन्न बहानामा मबाट पन्छिन्थ्यो । हाम्रो विवाह भइसक्यो र हामी एउटै छतमुनि एउटै बेडमा सुते पनि अझै हाम्रो कुनै त्यस्तो सम्बन्ध भएको थिएन अर्थात् हामीबीच शारीरिक रूपमा त्यस्तो केही भएको थिएन । मैले जति पटक उसलाई यससम्बन्धी प्रश्न गरे पनि सधैँ एकै प्रकारको उत्तर आउने गथ्र्यो ।

‘मलाई केही समय देऊ । जबसम्म हामी एकअर्कालाई श्रीमान् श्रीमतीको रूपमा पूर्ण रूपमा एसेप्ट गर्दैनौँ तबसम्म हामीबीच फिजिकल सम्बन्ध नहोस् भन्ने मैले चाहेको छु’, भनेर ऊ पन्छिहाल्थ्यो ।
‘अनुप तिम्रो मनमा के छ ? पहिला त तिमीले एउटा सानोभन्दा सानो कुरा पनि मलाई सेयर गथ्र्यौ भने अब त हामी झन् नजिक भएका छौँ । अब त तिमीले मलाई झन् खुलेर तिम्रो मनको कुरा भन्नुपर्ने । के तिमीलाई म मन परेको छैन वा तिम्रो अर्के कोही छ ?’
‘मैले त तिमीलाई पूर्ण रूपमा एसेप्ट गरिसकेको छु अनुप । अब मैले के गर्दा चाहिँ तिमीले मलाई श्रीमतीको रूपमा एसेप्ट गर्छौ ?’
‘त्यस्तो केही होइन । मात्र मलाई समय देऊ’ भनेर उठेर जान्थ्यो ।

अब त ऊ विभिन्न बहाना देखाएर ऊ मबाट टाढिन खोज्थ्यो । मानौँ मलाई कुनै सरुवा रोग लागेको छ । सुरुसुरुमा मलाई पनि ठिकै छ, समय लाग्छ एकअर्कालाई अपनाउनलाई जस्तो लागे पनि अब त यो कुरा बिझ्न थालिसकेको थियो । मैले जानेबुझेदेखि ऊ यस्तो स्वभावको मान्छे हुँदै होइन भने एक्कासि यो छोटो समयमा यति ठूूलो चेन्ज आयो कसरी भन्ने कुरामा मेरो दिमाग चल्न थालिराखेको थियो ।

यस विषयमा मैले उसको मामुसँग पनि खुलेर गरेकी थिएँ तर सन्तोषजनक उत्तर पाउन सकेकी थिइनँ ।

सानैदेखि आउने गर्दाले पनि होला यस घरमा बुहारीभन्दा पनि एउटा छोरीसरह व्यवहार हुन्थ्यो । मलाई यस घरमा कुनै धक मान्नुपर्ने केही थिएन । जम्मा चारजना परिवार बाबा, मामु, दाइ र अनुप । हुन त दाइको विवाह गर्नुपर्ने हुँदाहुँदै पनि अनुपको चाहिँ पहिला विवाह भएको थियो । विवाह गरेर आएदेखि मलाई कुनै त्यस्तो फरक महसुस भएको थिएन माइती र यहाँ । यस हिसाबले म आफूलाई लक्की नै सम्झन्छु ।

मलाई अब थाहा भइसकेको थियो, केही कारण त पक्कै छ अनुप मसँग टाढाटाढा हुनुमा भनेर । मैले मनमनै जसरी हुन्छ अनुपलाई खुसी पार्ने अठोट लिइसकेकी थिएँ । जसका लागि म जे गर्न पनि तयार थिएँ ।

अब मैले अनुपको हरेक क्रियाकलापलाई राम्ररी याद गर्न थालेँ । यसबीचमा मलाई अनुपको व्यवहार अर्कै लाग्यो । त्यो के भने ऊ हरबखत उसको मोबाइल साथसाथै लिएर बस्थ्यो । घरमा पनि र कसैलाई हात लगाउनसमेत दिँदैन थियो । ट्वाइलेट जान्छु भनेर घन्टौँ च्याट गरेर नै बस्थ्यो । त्यो पनि रातको समय । मैले धेरै पटक यसबारे प्रश्न गर्न खोज्दा अर्कै अर्कै कुराले टार्ने गथ्र्यो ।
हामी श्रीमान् श्रीमती भएर पनि हामीबीच कुनै सम्बन्ध नहुनु । सधैँ मबाट टाढा भाग्नु । उसको हरेक क्रियाकलाप शङ्कास्पद हुनुको एउटै अर्थ हुन्थ्यो, उसको बाहिर अर्कै केटी छ जसले गर्दा मसँग यस्तो व्यवहार गरिराखेको छ ।

एक रात झल्याँस्स निद्राबाट ब्युँझन्छु म । यसो घडी हेर्दा रातको १ बजेको छ । सँगै सुतेको अनुप बेडमा पाउँदिनँ । यति राति कहाँ गयो होला भन्ने कौतुहल जाग्छ । उठेर बिस्तारै रूम बाहिर निस्कन्छु । ठीक त्यसै बेला रूमसँगैको अर्को रुममा लाइट बलेको र खुटाको पाउजु बजेको आवाज कानमा पर्छ ।

रातिको १ बजे रुममा अनुप नुहुन र अहिले पाउजुको आवाज सुनिनुको एउटै मतलब हुन्छ कि अनुप अर्कै कोहीसँग छ भनेर । म ढोका ढक्ढक्याउँछु । लगभग दस पन्ध्र मिनेटपछि अनुपले ढोका खोल्छ । मभित्र पस्छु, त्यहाँ अरू कोही पाउँदिनँ । चुुपचाप म आफ्नो रूममा आएर सुत्छु । सुत्नु त मात्र एउटा बहाना हो । अझ पल्टिदिन्छु भन्दा हुन्छ । अब मेरा आँखाका निँदहरू हराइसकेका थिए ।

म एक्लो हुन पुगेको थिएँ, सबै हुँदाहुँदै पनि । एक्लो हुनु सबभन्दा दुःखदायी नियति हो मान्छेको । मेरा सपनाहरू, रहरहरू अब एकएक गरेर पग्लिरहेका थिए । मेरो अनुप, मेरो बालसखा, मेरो श्रीमान् जसलाई सबैथोक सम्झेकी थिएँ तर आज मबाट सँगै भएर पनि कति टाढा भइसकेको थियो ।

अनुप मबाट धेरै टाढा गइसकेको छ भन्ने मलाई थाहा छ तर पनि उसैसँगको मेरो सम्बन्धलाई भगवान्ले किन आत्मीय र प्रिय बनाइराखेका छन् मलाई नै थाहा छैन । हो, म अझै उसलाई त्यत्तिकै प्रेम गर्छु जति पहिला गर्थें । अब मेरो शून्य उद्देश्य भनेकै अनुपलाई खुसी देख्नु हो ।

सदाझैँ अनुप राति उठेर अर्को रूममा जाने प्रतीक्षामा म कुरिराखेँ कि आज वास्तविकता के हो जान्नलाई । ऊ गएको आधा घन्टापछि म बिस्तारै ऊ भएको कोठातिर लाग्छु । सँगैको रुममा आज पनि लाइट बलेको छ र त्यही पाउजुको आवाज । बाँकी सबै आआफ्ना रुममा निदाइराखेका थिए ।

मनमा अनेकौँ कुराहरू खेलिराखेका थिए । आज सबै कुराबाट एउटा पर्दा हट्ने छन् भनेर म बिस्तारै ढोका खोल्छु ।

ओहो ! यो के देख्नु परेको । कहीँ कतैबाट नसोचेको कुरा आज यी दुई आँखा अगाडि देखिराखेको छु । हे भगवान्, आज भयो के यस्तो ! मेरो बच्चाको साथी जो हरेक कुरा सेयर गर्ने मलाई । अब त हाम्रो बिहे भइसकेको अवस्थामा अब म भोलिदेखि उसलाई कुन नजरबाट श्रीमान् भनूँ ? सब तहसनहस भयो मेरो जिन्दगी । म आफूलाई रोक्न सकिराखेकी थिइनँ ।

रातो सारीमा पूरै सिँगारिएर ऐना अगाडि ऊ आफूलाई हेरिराखेको थियो । जुन पाउजुको आवाज मैले सुनेकी थिएँ, त्यो अनुपको खुट्टामा थिए । अब मैले सबै प्रश्नको एकएक गरेर उत्तर पाउँदै गएँ ।अनुप मलाई देखेर थरथर कामिराखेको थियो । – मधुपर्क

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *